२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

बाढीले काठेपुल बगाएपछि कचल गाउँका ३ सय परिवारलाई सास्ती

माधव अर्याल

पाल्पा — पक्की पुल नहुँदा समस्या बेहोर्दै आएका पाल्पा कचल गाउँका झन्डै ३ सय परिवार वर्षायामका लागि निर्माण गरेको काठेपुलसमेत खोलाले बगाएपछि थप समस्यामा परेका छन् । एक महिनाअघि मात्र गाउँपालिकाको सहयोगमा स्थानीयले मर्मत गरेको पुल केही दिनदेखिको भीषण वर्षासँगै खोलामा बाढी आएर क्षति पुगेको हो ।

बाढीले काठेपुल बगाएपछि कचल गाउँका ३ सय परिवारलाई सास्ती

तिनाउ गाउँपालिका–१, दोभान खुर्साने र २ कचल जोड्ने कुर्मान खोलाको कच्ची काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको स्थानीय मोहन विकले बताए । पक्की पुल नहुँदा दोभान पश्चिम भेगका बासिन्दाले हरेक वर्ष वर्षायाममा सास्ती खेप्दै आएका छन् । पुलबाट पैदलयात्री र मोटरसाइकल तार्ने व्यवस्था थियो । तर केही दिनयता जोखिम मोलेर उर्लेको खोलाबाट तर्न बाध्य भएका छन् ।

पैदलयात्रीलाई समेत पानी पर्नासाथ समस्या हुने गरेको विकले बताए । ‘अघिल्लो वर्ष र यस वर्ष दुःख गरेर काठेपुल बनाइएको थियो,’ उनले भने, ‘तर बाढीले क्षति पुगेपछि समस्या भएको छ ।’

यस क्षेत्रका बिरामी पर्दा स्ट्रेचर, झोलुङगोमा दुईदेखि तीन घण्टा बोकाएर दोभानको खुर्सानेसम्म ल्याउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष भुवनसिंह चिदीले बताए । खुर्सानेदेखि कचलको पश्चिम भेग जान हरेक वर्ष समस्या भोग्नुपरेको स्थानीय अमरबहादुर सुनारी थापाले बताए । असारमा खोला बढ्ने, पहिरो जाने भएपछि कुर्मान खोलादेखि पश्चिमको कचलतर्फ जाने सवारी साधन ठप्प हुने गर्छ ।

दुई वर्षअघि नै पक्की पुलका लागि गाउँपालिका र प्रदेशबाट सर्भे भएको थियो । पुल नबन्दा भने कुर्मान खोलाको पीडा वर्षौंदेखि भोग्दै आएको उनले बताए । ‘पानी बढी पर्‍यो भने असार नलाग्दै पनि सवारी साधन बन्द हुने समस्या छ,’ तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने, ‘त्यसैले पक्की पुलका लागि प्रदेशमा पहल गरिएको छ ।’

कुर्मान खोलादेखि पश्चिम सडक कच्ची, हिलाम्मे र खाल्डाखुल्डी छन् । खोलामा पक्की पुल निर्माण नहुँदा सवारी साधनमा आउजाउ गर्न हिउँद र वर्षा जहिलेसुकै समस्या हुन्छ । दुईदेखि तीन घण्टासम्म पैदल यात्रा गर्न यस भेगका बासिन्दा बाध्य छन् । हिउँदमै पनि पानी पर्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको स्थानीयले बताए ।

बालबालिका, वृद्धवृद्धा, बिरामी, सुत्केरीलाई झनै समस्या हुनेगर्छ । पैदल यात्रा धेरै हिँड्नुपर्छ । दोभानदेखि कचल, ठिमुरे, जुठापौवा, फेक लगायतका स्थानमा जानलाई यहाँबाट नजिक पर्छ । यस भेगका बासिन्दाको मुख्य बजार बुटवल हो । बिरामी पर्दा उपचार गर्न लैजान पनि समस्या छ । एम्बुलेन्स जान सक्दैन । बोकाएर लैजानुपर्छ । घरमा उत्पादन हुने तरकारी लगायत अन्य उत्त्पादित सामग्री बुटवल लैजान समस्या छ । ‘हामीलाई बुटवल बजार नगई हुँदैन,’ कचलकी डिलमाया थापाले भनिन््, ‘वर्षा लाग्नासाथ पैदल हिँड्नुको विकल्प छैन ।’

सडकको अवस्थाले गर्दा शनिबार र बुधबार बुटवलमा लाग्ने हाटमा जानसमेत कमी आएको छ । सवारी साधन चल्दा र नचल्दा धेरै फरक पर्ने उनले बताइन् तरकारी, बाबियोको डोरी, अम्रिसोको कुचो, गेडागुडी बिक्रीका लागि यस भेगका स्थानीय बुटवल बजार जाने गर्छन् । आर्खुदी, कचल फाँच, पाँच्चोटे, हात्तीमारा, देउबारी, ओर्लोफान, सिउँडीखर्क, चीलपोखरी, कुरकुर, जरायो पोखरीलगायत गाउँका बासिन्दा पुल नहुँदा समस्यामा पर्ने गरेका छन् ।

प्रकाशित : श्रावण १४, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?