कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तानसेन नगरपालिका र बुटवल उपमहानगरबीच अनुभव साटासाट

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका र बुटवल उप–महानगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । दुवै पालिकाले आ–आफ्ना पालिकाले गरेका गतिविधि, भोग्नु परेका समस्या र अनुभव साटासाट गरेका हुन् ।  

तानसेन नगरपालिका र बुटवल उपमहानगरबीच अनुभव साटासाट

बुटवल उपमहानगरपालिकाले नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने कार्यक्रमअन्तर्गत पाल्पाको तानसेनमा भेला भएका जनप्रतिनिधि तथा कर्मचारीले दुवै पालिकाबीच भएका कार्यक्रम र आगामी दिनमा गर्ने कार्यका विषयमा जानकारी गराए ।

दुवै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु बीच अन्तरर्किया गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तानसेन ऐतिहासिक सहर भएको र पश्चिमको मुख्य केन्द्र भएकाले यहाँ विकास पहिल्यै भएको बताए । ‘जुन ढंगले तानसेनको विकास हुनुपर्ने हो त्यो नभएको अनुभव भएको छ,’ उनले भने, ‘तानसेन र बुटवलबीच धेरै काममा समानता, संस्कृति, रहनसहन, वेशभूषा, बोलीचाली सबै उस्तै रहेको छ ।’

तानसेनको भगवती मन्दिरमा भाकल गरेर बुटवलको जितगढी किल्लामा अंग्रेजलाई हराउनेदेखि लिएर पाल्पातर्फको स्रोत र साधनलाई रुपन्देहीले प्रयोग गरेकाले पनि सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन र बुटवलको पुरानो सम्बन्ध रहेको बताए । तानसेन र बुटवलले आ–आफ्ना पालिकाले गर्दै आएका काम र आगामी दिनमा गर्न अघि सारेका योजनाका विषयमा छलफल हुनु सकारात्मक भएको नगरप्रमुख श्रेष्ठले बताए ।

‘हामीले तानसेन र बुटवलको सम्बन्ध अझ प्रगाढ होस् भन्ने नै चाहन्छौं,’ उनले भने, ‘सांस्कृतिक, पर्यटकीय हिसाबले पनि बुटवल र पाल्पाबीच सम्बन्ध अझ राम्रो बनाउन सकियो भने दुवै पालिकालाई फाइदा पुग्छ ।’

दुवै पालिकाले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताउँदै स्थानीय सरकार एक्लैले विकास र समृद्धि हासिल गर्न नसकिने भएकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बुटवल उपमहानगर पालिकाकी उपप्रमुख सावित्रा अर्यालले बताए ।

बुटवलमा धेरै परिवार तानसेन र पाल्पाका विभिन्न स्थानबाट बसाइँ सरेर गएकाहरूको बसोबास रहेकाले सांस्कृतिक, सभ्यता, पुरातात्त्विक सम्बन्ध स्थापना गर्न सकिने उनले बताइन् । ‘प्राकृतिक स्रोत साधनका विषयमात्र होइन हरेक हिसाबले दुवै पालिकाको महत्त्वपूर्ण भूमिका छ,’ उनले भनिन् । तानसेन पुरानो सहर भएकाले दुवै पालिकाको विकास उत्तिकै हुनुपर्ने तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् ।

‘तानसेनको विकास हुँदा बुटवलले र बुटवलको विकास हुँदा तानसेनले फाइदा पाउने देखिन्छ,’ उनले भनिन्, ‘हरेक पक्षबाट तानसेन र बुटवलको विकास आपसमा सम्बन्धित रहेको छ ।’ तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले दुई स्थानीय पालिकाका सरकारबिच सहकार्य गरेर अगाडि बढ्न सकियो भने एकअर्काबीचको सम्बन्ध राम्रो हुने र दुवै पक्षले फाइदा लिन सकिने बताए । कार्यक्रममा बुटवल र तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?