त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा अनेरास्ववियुको प्यानल विजयी- लुम्बिनी - कान्तिपुर समाचार

त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा अनेरास्ववियुको प्यानल विजयी

नवीन पौडेल

परासी — त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी पश्चिम नवलपरासी प्रतापपुरमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । नेविसंघ र जनमत विद्यार्थी संघको संयुक्त प्यानललाई पराजित गर्दै अनेरास्ववियुका कामेश पासी अध्यक्ष रहेको प्यानल नै विजयी भएको हो ।

४ सय १५ मत खसेकोमा अनेरास्ववियुको पासीले २ सय ३५ र नेविसंघसहित संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार रिजाउदीन मियाँले १ सय ७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद भट्टराईले बताए । सचिवमा अनेरास्ववियुका मुस्तकिम देवान, कोषाध्यक्षमा समिरकुमार थापा मगर विजय भएका छन् । समानुपातिकमा पनि अनेरास्ववियुको नै बर्चस्व रहेको छ ।

हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको जनता प्रगतिशील पार्टीले एमालेको अनेरास्ववियुलाई सहयोग गरेपछि नेविसंघ र सिके राउत नेतृत्वको जनमत विद्यार्थी संघले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित : चैत्र ५, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीको मंगला क्याम्पसमा अनेरास्ववियु विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — म्याग्दीको मंगला गाउँपालिकास्थित मंगला शिक्षा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको भिममाया रोका नेतृत्वको प्यानल विजयी भएको छ । रोकाले एक सय ३० मत पाइन् भने सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनको गठबन्धनबाट उम्मेदवार रहेका नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत प्राप्त गरे । 

त्यस्तै सचिवमा अनेरास्ववियुका रिवन शाहीले एक सय ३०, कोषाध्यक्ष तारा राना मगरले एक सय २६ मत पाएर निर्वाचित भएको मंगला शिक्षा क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सचिवमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की पस्मिता रोकाले १३ र नेविसंघका प्रविना क्षत्रीले १७ मत प्राप्त गरिन् ।

त्यस्तै, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरुमा अनेरास्ववियुका मेघबहादुर घर्तीले (१३२), विन्दा रोका (१३५), सजिना सुवेदी (१३५), किशोरी फगामी (१३४), युमायाँ दर्जी (१३२) पाएर विजयी भएका छन् ।

क्याम्पसमा २ सय १२ मतदाता रहेकोमा जम्मा एक सय ४३ मत खसेको थियो । स्ववियु निर्वाचनमा नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले बहिस्कार गरेको थियो । स्ववियु निर्वाचनमा समानुपातिकतर्फ नेविसंघले १२ मत प्राप्त गरेको छ । समानुपातिक मतअनुसार १५ सदस्यीय मंगला शिक्षा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट एक जना सदस्य प्रतिनिधित्व हुनेछ ।

प्रकाशित : चैत्र ५, २०७९ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×