लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सकियो, ३ सय ४ मत खस्यो- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सकियो, ३ सय ४ मत खस्यो

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बुधबार बिहान १० देखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको उनले जनाए । एक जना मतदाता अनुपस्थित रहे । रूपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिं उपचारका लागि भारत गएकाले मतदानमा सहभागी नभएको कार्कीले जानकारी दिए । उनी प्रगतिशील पार्टीबाट निर्वाचित भएकी थिइन् ।

मतदातामध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरु छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । अब केहीबेरमा मतगणना सुरू हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर राय उम्मेदवार छन् । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए । उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

प्रकाशित : माघ २५, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा राष्ट्रिय खुला लन टेनिस फागुन ६ देखि

अमृता अनमोल

बुटवल — राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता फागुन ६ देखि बुटवलमा हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा देवीनगर लन टेनिस कम्प्लेक्समा प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुन लागेको हो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगितामा देशभरका राष्ट्रिय खेलाडीहरुबीच प्रतिस्पर्धा गराइने छ । बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष गोपाल ज्ञवालीले लन टेनिस खेलको विकास तथा खेलाडीलाई अवसर सिर्जना गर्न ६ देखि १० गतेसम्म प्रतियोगिताको आयोजना गरेको बताए ।

पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सयभन्दा बढी खेलाडीहरुले भाग लिने छन् । खेल संयोजक संजयप्रकाश श्रेष्ठका अनुसार पुरुष एकल खुलामा ३५, ४५, ५५ र ६५ वर्षमाथिका खेल हुनेछन् । महिला एकल खुला, पुरुष युगल खुला, महिला युगल खुला एवं पुरुष भेट्रान्स ३५, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ इभेन्टमा खेल संचालन हुनेछ ।

प्रतियोगिताको पुरुष/महिला सिङगलतर्फ उपाधि विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार र तृतीय दुई खेलाडीले जनही २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रबाट पाउनेछन् ।

सिङगलतर्फ पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ दिइने छ ।

४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने छन् । ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ पाउनेछन् । भेट्रान्स डबल्सतर्फ विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित : माघ २५, २०७९ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×