नबिथोलिएको गन्तव्य- लुम्बिनी - कान्तिपुर समाचार

नबिथोलिएको गन्तव्य

घना जंगल, सयौंथरी वनस्पति र ठूला फाँटले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रलाई मनमोहक बनाएका छन्,चुरेशृंखलासम्म फैलिएकाले पनि यो अपार जैविक विविधताको खानी बनेको छ
कमल पन्थी

बर्दिया — गौतम बुद्धका कारण लुम्बिनी प्रदेश विश्वभर परिचित छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर प्रदेशका पर्यटन प्रवर्द्धनका योजना सञ्चालन भइरहेका छन् । बुद्ध सम्बन्धित पुरातात्त्विक सम्पदाले पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुको महत्त्व बढ्दो छ । प्रदेशमै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघका कारण चर्चामा छ । बाघ अवलोकनका लागि प्रदेशको पश्चिम कुनास्थित बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने धेरै छन् ।

मुलुकको संघीय राजधानीबाट टाढा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा प्रशस्त सम्भावना छन् । यो निकुञ्ज बाघका साथै अहिलेसम्म नबिथोलिएको गन्तव्य पनि हो । यहाँ आउने पर्यटकले एकैपटक दर्जनौं वन्यजन्तु, पन्छी र प्राकृतिक सम्पदा अवलोकन गर्न सक्छन् । यहींबाट बबई र कर्णाली नदी बग्छन् । निकुञ्ज जलचरको बासस्थान पनि हो । घना जंगल, सयौं थरी वनस्पति र ठूला फाँट यहाँ मनमोहक लाग्छन् । निकुञ्ज चुरे शृंखलासम्म फैलिएकाले अपार जैविक विविधता पनि रहेको छ । एकै स्थानमा प्राकृतिक विविधतामा रमाउन चाहनेका लागि यो निकुञ्ज उत्कृष्ट गन्तव्य बन्दै आएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ, गैंडा, हात्तीलगायत संरक्षित वन्यजन्तु रहेका छन् । क्षेत्रफलका हिसाबले बर्दिया तराईको सबैभन्दा ठूलो निकुञ्ज हो । यो एक दशकयता बाघ गन्तव्य बन्दै गएको छ । यहाँको प्राकृतिक मनोरम दृश्य हेर्न पर्यटक जिप, पैदल, कर्णालीमा र्‍याफ्टिङ, फिसिङ र तोकिएको निश्चित ठाउँमा क्याम्पिङ गर्छन् । घना जंगल, सुनसान फायरलाइन र त्यसमा पनि वन्यजन्तु, पन्छी, जलचर प्राणी डल्फिन हेर्न पाउँदा यसको मजा बेग्लै रहेको सुर्खेत वीरेन्द्रनगरका पर्यटक जितबहादुर मल्लले बताए ।

निकुञ्जको शान्त, प्राकृतिक दृश्यले जोसुकै पर्यटकलाई लोभ्याउने गरेको उनले सुनाए । वर्षौंदेखि सञ्चालित हात्ती सफारी भने अहिले यहाँ रोकिएको छ । पशु अधिकारवादी र वन्यजन्तु संरक्षणकर्मीले हात्तीमा मानिस चढाउँदा उसलाई पीडा हुने भएकाले हात्ती सफारी रोक्न आग्रह गरेका हुन् । कोभिड संक्रमण सुरु भएयता बर्दिया राष्ट्रिय निकुञ्जले हात्ती सफारीमा रोक लगाएको हो । जिप र पैदल सफारी निरन्तर छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको घाँसे मैदान सानो भएका कारण सफारीमा आएका पर्यटकले सहजै वन्यजन्तुको अवलोकन गर्न पाउँदा हर्षित हुने गरेको संरक्षणकर्मी हेमन्त आचार्यले बताए । ‘जिप चढेर आएका पर्यटक ओर्लेर पैदल घुम्ने गरेका छन्,’ उनले भने, ‘यहाँ चरा र हात्तीको बथान, बाघ, गैंडालगायत हूलका हूल चित्तल, बाह्रसिंगे सहजै हेर्न पाउँदा पर्यटक रमाउँछन् ।’ निकुञ्ज अवलोकनका लागि ३० वटा निजी जिप पर्यटन व्यवसायीसँग छन् । जिप सफारीमा ६ जनाका लागि ९ हजार ५ सय र १० जनाका लागि १२ हजार ५ सय रुपैयाँ लिने गरिएको छ । जिप भाडा, गाइड, राजस्वसमेत जोडेर उक्त रकम लिने गरेको पर्यटन व्यवसायी रामजी थापाको भनाइ छ । पैदलभन्दा जिप चढेर रमाउने पर्यटक बढी रहेको उनले सुनाए ।

बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका अहिले पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ । यहाँकी मुना महतारा पाँच वर्षदेखि पथप्रदर्शनमा रमाइरहेकी छन् । उनका अनुसार यहाँ आउने धेरैजसो पर्यटकमा बाघ हेर्ने चाहना हुन्छ । पर्यटक आवागमन बढ्दै गएपछि यहाँ अहिले सुविधासम्पन्न आधुनिक होटल खुलेका छन् । ‘डेढ दशकअघिसम्म फुसले छाएका घर–टहरालाई नै होटलका रूपमा प्रयोग गर्नुपर्थ्यो,’ पर्यटन व्यवसायी रामबहादुर शाहीले भने, ‘अहिले सुविधासम्पन्न होटलमा बास बस्न पाउँदा पर्यटक पनि प्रफुल्लित छन् ।’ ०२६ सालमा ३ सय ४८ वगकिमि क्षेत्रफललाई समेटेर तत्कालीन राजा महेन्द्रले यस क्षेत्रलाई शाही सिकार सुरक्षित वन घोषणा गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन लागू भएपछि ०३१ सालमा यसलाई कर्णाली वन्यजन्तु आरक्षका रूपमा घोषणा गरिएको बर्दिया निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

०४० सालमा तत्कालीन राजा वीरेन्द्रद्वारा बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज चितवनपछि दोस्रो वन्यजन्तुमा आधारित पर्यटकीय गन्तव्य हो । बर्दियामा पर्यटकीय गतिविधि टाइगर टप्स होटलले ०४५ सालदेखि सुरु गरेको पूर्वसंरक्षण अधिकृत थापाले जनाए । ‘पर्यटकीय सेवाअन्तर्गत गाडीमा बसेर घुम्ने, हात्ती सफारी, पैदल भ्रमण, जंगल क्याम्पिङ गरी रात बिताउने चलन थियो,’ उनले भने, ‘अहिले हात्ती सफारी बन्द भए पनि र्‍याफ्टिङ, फिसिङलगायतमा रमाइलो गर्दै पर्यटक रमाइरहेका छन् ।’

प्रचारप्रसार र सुविधाविहीनताका कारण बाँके राष्ट्रिय निकुञ्ज ओझेलमा पर्दै आएको छ । स्थापनाको १२ वर्ष बितिसक्दा पनि यस क्षेत्रको विकास र पर्यटकीय सुविधा सहज र सुलभ नरहेका कारण पर्यटक आकर्षित हुन नसकेका हुन् । बर्दियासँग जोडिएको यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा कुनै पर्यटकीय होटल छैनन् । निकुञ्ज क्षेत्रमा व्यवसायीले लगानी नगर्दा यो क्षेत्र ओझेलमा परेको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्जमा अहिले पनि २५ वटा बाघ छन् । ५ सय ५० वर्गकिमि क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पुग्ने जोकोही पर्यटकले सहजै बाघ अवलोकन गर्न सक्छन् । तर, प्रचारप्रसार र सेवासुविधाको सहज पहुँच नरहेका कारण यहाँ आन्तरिक र विदेशी पर्यटक ज्यादै कम मात्रामा आउने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जले गत वर्षदेखि हात्ती सफारी पुनः सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

रूख कटान विवादले पूर्व–पश्चिम रेलवे निर्माण रोकियो

रेलवे कम्पनी, नेपाल वन निगम लिमिटेड, डिभिजन, साझेदारी र सामुदायिक वनबीच तनाव चुलिँदा काम अघि बढ्न सकेन
कान्तिपुर संवाददाता

रौतहट — वन क्षेत्रका रूख कटान गर्ने विवाद चुलिएपछि राष्ट्रिय गौरवको पूर्व–पश्चिम विद्युतीय रेलको काममा ढिलाइ भएको छ । आयोजनाको रौतहटतर्फ वाग्मतीदेखि पश्चिम चाँदी नदीसम्मको १० किमि वन क्षेत्रमा रेलवेको काम एक वर्षदेखि रोकिएको छ । रूख कटानमा रेलवे, नेपाल वन निगम लिमिटेड, डिभिजन वन, साझेदारी वन र सामुदायिक वनबीच तनाव चुलिँदा काम अघि बढ्न सकेको छैन ।

रेलवेको प्याकेज नम्बर ४ को ट्र्याक निर्माणलगायत कामको ठेक्का रोशनकुमार श्रेष्ठ जेभी र ५ को लामा गोल्डेन ग्रुप बिरुवा जेभीले पाएका हुन् । ठेकेदारले काम सुरु गर्न १० किमि क्षेत्रमा साल र कुकाठ जातका झन्डै २ हजार रूख काट्नुपर्नेछ । प्रक्रिया पूरा गरेर कटान आदेश लिन डिभिजन वन कार्यालयले ७ महिना लगाइदियो ।

वनले कटान आदेश दिएपछि रेलवे कार्यालयले गत वर्ष नेपाल वन निगम लिमिटेड (तत्कालीन टिम्बर कर्पोरेसन) लाई रूख काट्ने जिम्मा दियो । वन निगमले रूख कटानका लागि ठेक्का आह्वान गरेको थियो । उक्त क्षेत्र रामलाल साझेदारी वन र दोभान सामुदायिक वनभित्र पर्छ । दुवै समितिले आफैंले रूख कटान गर्न पाउनुपर्ने भन्दै विवाद झिके । त्यसपछि रेलवेले वन निगमसितको सम्झौता रद्द गर्‍यो । र, रूख कटानको काम सामुदायिक र साझेदारी वनलाई सुम्पियो ।

दोभानले आफ्नो क्षेत्रका सबै रूख काटिसकेको छ । उसले रूखको जरा उखेल्न मात्र बाँकी रहेको रेलवे कार्यालयले जनाएको छ । तर रामलाल साझेदारीले करिब ८ सय रूख काट्न वन प्रवेशको आदेश पाएको छैन । वन प्रवेशको आदेशकै कारण अझै रूख कटान हुन नसकेको रेल आयोजना कार्यालयका प्रमुख डीई सन्तोष कर्णले बताए । ‘कहिले वन निगम र साझेदारी वनबीच विवाद हुन्छ । कहिले डिभिजन वन र साझेदारीबीच कुरा मिल्दैन,’ उनले भने, ‘यस्तै कारण र समस्याले गर्दा रेलवेको काम रोकिएको छ ।’ रेलवेले असार मसान्तसम्म सक्नुपर्ने गरी आयोजनाको कामको म्याद थपिएको कर्णको भनाइ छ । विवाद र हेलचक्य्राइँका कारण कामले गति लिन नसकेको उनको दाबी छ ।

प्राविधिक कारणले वन प्रवेश दिनमा ढिलाइ भएको डिभिजन वन रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए । ‘रूख कटानको आदेश भए पनि प्रवेशमा केही प्राविधिक कठिनाइ परेकाले ढिला भएको हो,’ उनले भने, ‘छिट्टै वन प्रवेशको आदेश दिन्छौं, अब ढिला हुँदैन ।’ वनको कटान आदेश, मुआब्जा विवाद, कोभिड संक्रमण र विभिन्न माग राखी स्थानीयले अवरोध गर्दा पूर्व–पश्चिम विद्युतीय रेल आयोजनाको काम बेलाबेला अवरोध भइरहेको हो । यसले समयकै काम अघि बढ्नेमा पनि आशंका छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको लम्बाइ ९ सय ४५ किमि छ । रौतहटको वाग्मतीदेखि बाराको सीमा क्षेत्र धन्सारसम्म २२ किमि ट्र्याक बनाउने योजना छ । यही खण्डमा रूख कटान गर्नुपर्नेछ । वनले प्रवेशको आदेश नदिँदा कटान गर्न नसकेको रामलाल साझेदारी वनका अध्यक्ष शंकरराय यादवले बताए । ‘वनले प्रवेशको आदेश नदिएसम्म हामीले केही गर्न सक्दैनौं । के कारणले आदेश नदिएको हो, थाहा भएन,’ उनले भने, ‘साझेदारीका तर्फबाट कुनै अवरोध छैन । अब वनले आदेश दिनुपर्छ ।’

वन प्रवेशका लागि रेलवे कार्यालयले दुई पटकसम्म पत्र पठाइसकेको छ । तर अहिलेसम्म आदेश नपाएको प्रमुख कर्णले जनाए । पूर्व–पश्चिम विद्युतीय रेलको रौतहट खण्डमा ५ वटा प्याकेजको ट्र्याक निर्माण र कल्भर्टका कामको ठेक्का रोशनकुमार श्रेष्ठ जेभी, सन्तोषी कन्टेक्ट, लुम्बिनी एपेक्स, खानी, हिन्दुङ थोकर र गोल्डेन बिरुवाले लिएका हुन् । सबै प्याकेज ०७८ माघ १४ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर समय सकिएको एक वर्ष बितिसक्दा पनि प्रभावकारी काम भएको छैन ।

प्रकाशित : माघ २२, २०७९ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×