रूपन्देहीको रूपान्तरण

पहाडी भूभागबाट बसाइँ सर्दै आउने क्रम बढ्दै जाँदा रूपन्देहीको मुहार पनि फेरिँदै गएको छ । कुनै बेलाका गाउँ अहिले सहरमा रूपान्तरण भएका छन् । यहाँका बजार र सडक मात्रै होइन, मानिसको जीवनशैली पनि बदलिरहेको छ ।

रूपन्देहीको मुख्य बजार क्षेत्र भैरहवा र बुटवलमा विसं १९५० को सेरोफेरोमा भारतीय बजारको प्रभावले बजारीकरण सुरु भएको मानिन्छ । २०२० सालतिर देशैभरि लाग्ने ६० वटा मुख्य हाटमध्ये ७ वटा रूपन्देहीमा थिए । तिनै हाटले यहाँको बजारीकरण र मानिसको चहलपहल बढाउन सहयोग पुर्याएको हो । त्यतिबेलाको हाटमा पहाडी भूभागबाट जिन्सी सामान ल्याई नुन र लत्ताकपडा खरिद गरेर फर्किने मानिसका सन्तान अहिले रूपन्देहीमा बस्छन् ।
भैरहवा र बुटवलमा २०२१ सालपछि स्थायी पसल खुल्न थाले । राजमार्ग बनेपछि बजार सर्न थाले । बटौलीको नामबाट चिनिने पुरानो बजार पारिदेखि वारि सरेर खस्यौली भयो । उक्त बजारलाई वारिका मानिस बुटवल भन्छन् भने बटौलीका मानिसले खस्यौली नै भन्ने गरेका छन् । बुटवलका साथै भैरहवा, धकधई, देवीनगर, मणिग्राम, खैरेनी, फर्साटिकरजस्ता गाउँ बजार बन्दै गए । खोला तर्नुपर्ने ठाउँमा काठे, फलामे पुल बने । तिनाउ, रोहिणी पुलले वारि र पारिका मानिसबीच सम्बन्ध बढायो । ग्राभेल सडकमै भए पनि साइकल, लडिया, ट्र्याक्टरजस्ता साधन गुड्न थाले ।
सवारीसाधनको सुविधाले पनि पुरानो बटौलीबाट बजार सरेको बुटवलका पुराना स्थानीय देवेन्द्रराज शाक्य बताउँछन् । उनका अनुसार सडक विस्तार नहुँदा र यातायातका साधन नगुड्दासम्म बुटवल उपमहानगरपालिका–२ को बटौली बजार अन्य जिल्ला र यहाँका हरेक गाउँका लागि परिचित बजार थियो । ‘सडक यातायात विस्तार भएसँगै भारतीयसमेत किनमेल गर्न आउने पुरानो बटौलीको व्यापार विस्थापित भयो,’ शाक्यले भने, ‘समयअनुसार बजार, रहनसहन, खानपान र जीवनशैली परिवर्तन भयो ।’
विश्लेषक युवराज कँडेल सशस्त्र द्वन्द्वकालमा गाउँमा माओवादीका गतिविधि फैलिएपछि पहाडबाट बसाइँ झर्ने क्रम बढ्दा रूपन्देहीका बजार थप विस्तारित भएको बताउँछन् । ‘मधेस आन्दोलनका कारण पनि यहाँका केही गाउँ बजारमा परिवर्तन भए,’ उनले भने, ‘हरैया, रुद्रपर, अमुवा, सूर्यपुरा मधेस आन्दोलनका उपज हुन् ।’
भैरहवा भारतीयको मुख्य बजार थियो । विदेशी सामान भारतमा नपाइने समयमा खुला सिमानाबाट भारतीय यतै किनमेल गर्न आउँथे । भारतमै सबै विदेशी सामान आयात हुन थालेपछि भने भैरहवाको उल्लास घट्यो । गाउँ–गाउँमा गाडी पुग्न र सबैतिर स्थानीय बजार–हाट सञ्चालन हुन थालेपछि भने गुल्मी, पाल्पा, अर्घाखाँचीका मानिस किनमेल गर्न तराई झर्ने क्रम घट्यो ।
विश्लेषक कँडेल यहाँको खानपान र वेशभूषाको शैली पनि परिवर्तन हुँदै गएको बताउँछन् । ‘भारतीय र चिनियाँ बजारमा आएका लुगा नेपाल भित्रिन्छन्,’ उनले भने, ‘यहाँका मानिसले बाह्य देशको भ्रमणमा विभिन्न परिकार चाखेका हुन्छन्, फर्केर यहाँ तिनै परिकार बनाउने प्रयास गर्छन्, यसले खानपानको शैली पनि परिवर्तन गरेको छ ।’
कँडेलले गाउँघरमै उत्पादित खाजा खाने चलन हट्दै गएको बताए । ‘अहिले जग्गा प्लटिङले उत्पादन घटायो, पश्चिमा शैलीले खानपान सिकायो,’ उनले भने, ‘पहिले हामी चिया–पाउरोटी र मटर खान्थ्यौं । अहिले जताततै मःम, चाउमिन छ ।’ बुटवलका पुराना पर्यटन व्यवसायी माधव नेपालले यहाँको खानपान समयको माग भएको टिप्पणी गरे । उनले पुरानो खानपान पनि फर्किन थालेको बताए । ‘नयाँ पिँढीले पुराना परिकार स्वस्थकर छन् भन्ने बुझ्न थालेका छन्,’ उनले भने, ‘नयाँ बनावटका होटल खुले पनि खानकी पुरानै पस्कने चलन बढ्दो छ ।’
पहिलेका मानिसले जे खान्थे, त्यही खानुपर्छ भन्ने अवस्था नरहेकाले नयाँ पुस्ताले त्यसलाई फरक–फरक स्वादमा लिइरहेको व्यवसायी नेपालले बताए । ‘हामीले पढ्ने बेला भुटेका मकै खान पाउँदा पनि खुसी हुनुपर्थ्यो,’ उनले भने, ‘अहिले केही होटलमा उही पहाडिया मकै नुन–खुर्सानीसँग पाइन्छ । युवाले पनि त्यसलाई रुचाएर खाने गरेका छन् ।’
सिद्धार्थनगरमै जन्मिएर मिठाई पसल सुरु गरेका राधेश्याम हलुवाईलाई पनि यहाँको खानपानको शैलीमा धेरै परिवर्तन आएको महसुस भएको छ । सिद्धार्थनगर–५ मा टिनको छाप्रोमा आफ्ना बुबाले मिठाई, मटर, चिया बेचेको देखेरै हुर्केका उनले १७ वर्षको उमेरदेखि व्यापार सम्हालेका हुन् । सडक बटुवा र अरूबाट सुनेर खोज्दै खोज्दै मानिस मिठाई पसलमा आइपुग्थे । अहिले त्यही मिठाई पवनको ब्रान्डमा परिवर्तन भएको छ । यसले समेत जिल्लाको खानपानमा बदलाव आएको महसुस गराउने हलुवाईले बताए । ‘बुबा नसक्ने भएपछि मैले टिनकै छानामुनि धेरै वर्ष पेडा र अन्य मिठाई बेचें,’ उनले भने, ‘अहिले टिनमै भएको भए के हुन्थ्यो, भन्न सक्दिनँ । तर पवन मिष्ठान्न भनेपछि धेरैले चिन्छन्, पेडा र मिठाई किन्न यहीँ आउँछन् ।’
हिजो साइकलमा पवनको मिठाई खान आउने मानिस अहिले कारमा आउने गरेको हलुवाईले सुनाए । बुटवल, भैरहवाका मानिसमा केन्द्रित पवन अमेरिकासम्म पुग्ने गरेको छ । पवन मिष्ठान्नमा पहिले रसबरी, पेडा, लड्डु, खजुरजस्ता मिठाईका परिकार पाइन्थे भने अहिले मिठाई करिब २० थरी मिठाई तयार हुन्छ ।
प्राध्यापक हुमराज भुसाल राजनीतिक परिवर्तनले बुटवललाई मध्यस्थान बनाएको बताउँछन् । उनका अनुसार २०४६ भन्दा अगाडि, २०६५ सम्म र २०६५ पछि छुट्याएर बुटवललाई केलाउन सकिन्छ । ‘माओवादी द्वन्द्वकाल सुरु हुँदा साविकका राप्ती, लुम्बिनी र गण्डकी अञ्चलका व्यक्ति जसले आफ्नो ठाउँमा नाम कमाएका थिए, उनीहरू बुटवल सरे,’ उनले भने, ‘त्यो लगानी बुटवलले लिन पायो र नै बुटवलमा औद्योगिकीकरण सुरु भएको हो । माओवादी द्वन्द्वले पनि बुटवललाई सकारात्मक प्रभाव पार्यो ।’
पछिल्लो बुटवललाई हेरेर नै यहाँ बस्ती विकास भएको भुसालको बुझाइ छ । ‘नुनमार्गका रूपमा परिचय कमाएको बुटवलको मानव बस्तीले पछिल्लो समय आधुनिक सहरको झल्को दिन्छ,’ उनले भने ।
बुटवलमा खुलेका शैक्षिक संस्थाले पनि अन्य जिल्लाका विद्यार्थीलाई तानेको र यहाँको आर्थिक सबलीकरण भएको भुसालले बताए । कृषि र अस्पतालतिरको प्राविधिक धारले भने बुटवललाई आर्थिक उन्नतिमा पुग्न त्यति नसघाएको उनको विश्लेषण छ । रूपन्देहीले उद्योग, सडकलगायतका बन्दै गरेका पूर्वाधारका कारण थप लगानी आकर्षित गर्ने सम्भावना रहेको पनि भुसालले बताए । ‘तर त्यसका लागि लगानीलाई निरुत्साह गर्ने गतिविधि रोक्न सक्नुपर्छ,’ उनले भने ।
प्रकाशित : माघ २१, २०७९ ०७:५८