रूरू क्षेत्रमा तीनदिने मकरसंक्रान्ति मेला सुरु- लुम्बिनी - कान्तिपुर समाचार
फोटो फिचर

रूरू क्षेत्रमा तीनदिने मकरसंक्रान्ति मेला सुरु

कालीगण्डकीमा नुहाउन र ऋषिकेशव मन्दिरमा दर्शन गर्नेको भीड
माधव अर्याल

रुरुक्षेत्र, पाल्पा — मकरसंक्रान्ति रूरू क्षेत्रमा नुहाउने र मेला भर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । संक्रान्ति नुहाउन पाल्पाका साथै गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत मुलुकका विभिन्न भागका साथै भारतबाट समेत आएका छन् ।

तीन जिल्लाको संगमस्थल रिडी रूरू क्षेत्रमा तीन दिनसम्म मेला लाग्ने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए । उनका अनुसार जेठी माहिली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकीमा नुहाउने र ऋषिकेशव मन्दिरमा दर्शन गर्ने गर्छन् । रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्नान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास रहेको उनले बताए । नुहाउने र तानसेन नगरपालिका–१४, अर्गलीतर्फ रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने प्रचलन रहेको उनले बताए ।

नेपालसहित भारतबाट समेत भक्तजन आउने गरेको बताए । ‘श्रद्धालु भक्तजन आउने र जाने क्रम चलि नै रहने परम्परा नै हो,’ उनले भने, ‘नेपालका मात्र होइन, भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरू रिडी रूरू क्षेत्रमा आएका छन् ।’ संक्रान्तिको केही दिनअघि देखि नै चहलपहल बढेको थियो । यहाँ श्रीमद्भागवत् ज्ञान महायज्ञसमेत चलिरहेको छ ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्गजातर्फ जान तीनमुखे पुल निर्माण भएको छ । पाल्पा, गुल्मी र स्याङजातर्फ जाने तीनमुखे पुलमासमेत भीड लागेको छ । कालीगण्की जलविद्युत् आयोजना मिर्मिमा पानी थुनिएकाले यहाँ नदी सानो छ । तानसेन नगरपालिका–१४, अर्गलीका पूर्ववडाध्यक्ष कमल रानाले संक्रान्ति नुहाउन र ऋषिकेशव दर्शन गर्न आउने भक्तजनलाई तीनमुखे पुलले निकै सहज भएको छ ।

धार्मिक आस्थाका कारण रूरू क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत गर्ने गरेको रुरुक्षेत्र गौशालाका सञ्चालक शंकर गिरीले बताए । रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्ग्जा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लाग्ने गर्छ ।


प्रकाशित : माघ १, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान दुर्घटनाप्रति पाकिस्तानले दुःख व्यक्त गरेको छ । पाकिस्तानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ ।

‘पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं‚’ पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एनटीवाई ६९१, ९एन-एएनसी विमान बिहान १०:५० बजे दुर्घटना भएको थियो ।

जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए ।

प्रकाशित : माघ १, २०७९ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×