तोरबाङवासी कुवाको भरमा- लुम्बिनी - कान्तिपुर समाचार

तोरबाङवासी कुवाको भरमा

शमशेरविक्रम जीसी

प्यूठान — डोकोमा गाग्री बोकेर पानीको जोहोका लागि कुवानजिक पुगेकी झिमरुक गाउँपालिका–६ तोरबाङकी गोमा विकले वर्षौंदेखि कुवाको पानी बोकेरै खाइरहेको सुनाइन् । तोरबाङबासी सबैले एउटै कुवाको पानी प्रयोग गर्छन् । ‘पानीका कुरा गर्दा मनै रुन्छ,,’ उनले भनिन्, ‘जीवन पानी बोकेरै जाने भयो ।’

तोरबाङमै जन्मिएकी गोमाको गाउँमै बिहे भयो । बाल्यकालदेखि नै उनले यही कुवाको पानी बोकेर गुजारा चलाएको सुनाइन् । ‘बाबुआमाले पनि यही कुवाको पानी बोकेर खाए,’ उनले भनिन्, ‘हाम्रो जीवन पनि पानी बोकेरै बित्ने भो ।’

झिमरुक गाउँपालिका–६ तोरबाङ गाउँले खानेपानीको समस्या झेलेको वर्षौं भयो । गाउँमा अहिलेसम्म खानेपानी आयोजना पुगेको छैन । पानीका स्रोत नजिक नहुँदा दैनिक दुई घन्टा लगाएर एक गाग्री पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको स्थानीय पवित्रा सुनारले बताइन् । ‘कान्छी औंलाजत्रो पानी उम्रिएको कुवाले सिंगो गाउँ धानिएको छ,’ उनले भनिन् ।

एक गाग्रो पानीका लागि एक घन्टाभन्दा बढी समय पालो कुनुपर्ने उनले बताइन् । ‘पानीकै कारण जीवनमा कहिल्यै सुख पाइएन,’ उनले भनिन्, ‘पानी बोक्दा बोक्दा ढाड खुइलिसक्यो ।’

गाउँदेखि तल खोल्सामा पानीको सानो मुहान छ । त्यसैबाट गाउँका करिब १ सय परिवारले पानीको जोहो गर्छन् । ‘कुवाको पानी बटुकाले निकालेर गाग्रीमा भर्छौं,’ उनले भनिन्, ‘एक गाग्रो पानीका लागि बिहानै ३ बजेबाट स्थानीय पँधेरोमा पुग्छन् ।’ स्थानीयले बिहानैबाट गाग्री लाइनमा राख्ने र पालो अनुसार पानी भर्ने गर्छन् ।

पानीको सहज व्यवस्थापन नहुँदा यहाँका विद्यार्थी नियमित विद्यालयसमेत जान नपाउने स्थानीय बताउँछन् । पानीको जोहो गर्दा गर्दै अबेर हुँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने गरेको स्थानीय लोकबहादुर पुनले बताए । पानी लिन जानै घन्टौं लाग्छ । जाँदा आउँदा अबेर भएर विद्यार्थी विद्याल नै जाँदैनन् । पानी अभावमा सरसफाइमा समेत ध्यान दिन नसकिएको उनले सुनाए । ‘पानी भए पो नुवाइधुवाई गर्नु,’ उनले भने, ‘कहिलेकाहीं साँझ कामबाट फर्किंदा हात धुने पानीसम्म हुँदैन ।’

पानीको समस्याका कारण गाउँमा पाहुना नआए हुन्थ्यो भन्नेजस्तो लाग्ने गरेको उनको भनाइ छ । पुस महिनामै गाउँमा खानेपानीको हाहाकार छ । गर्मी महिनामा भएको यही मुहान पनि सुक्दा झनै समस्या हुने उनले सुनाए । नजिकको मुहान सुकेपछि झनै टाढा जानुपर्छ ।

गाउँमा पानीको सहज व्यवस्था नहुदा बसाइँ सर्नेहरू पनि बढिरहेका छन् । पिउने पानीसम्म नभएको गाउँमा सिंचाइको त सपना पनि नदेख्ने स्थानीय मोहनबहादुर सुनारले बताए । बिदाको दिनमा केटाकेटीहरू डेढ घन्टा लगाएर मरन्ठाना खोलामा नुहाइधुवाइ गर्न जाने गरेको उनले सुनाए ।

झिमरुक गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर पुनले गाउँमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको बताए । ३ करोड रुपैयाँको टेन्डर भएर ५० प्रतिशत काम सकिएको र केही समयमा गाउँमा पानी आउने उनले बताए । ‘पानीका लागि ट्यांकी निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने, ‘ठेकेदारले समयमै काम सके गाउँमा पानीको हाहाकार अन्त्य हुनेछ ।’

प्रकाशित : पुस ३०, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्

गाउँकै स्वास्थ्य चौकीमै डाक्टर देखेपछि अचम्म !

शमशेरविक्रम जीसी

प्यूठान — ऐरावती–६ बैरेनीका हरिप्रसाद पौडेल आठ महिनाकी छोरीलाई निमोनिया भएपछि उपचारका लागि पुरनठाँटी स्वास्थ्य चौकी पुगे । पहिलोपटक स्वास्थ्य चौकी आएका पौडेललाई गाउँकै चौकीमा डाक्टरले काम गरेको देख्दा अचम्म लाग्यो ।

पटक–पटक जिल्ला अस्पताल बिजुवार पुग्दा डाक्टर छैनन् भन्ने सुनेका उनले गाउँको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर देख्दा झट्ट पत्याएनन् । तर, उनले देखेको र सुनेको सत्य थियो । ऐरावती गाउँपालिकाले पुरनठाँटी स्वास्थ्य चौकीमा गएको डेढ वर्षदेखि एमबीबीएस डाक्टरको व्यवस्था गरेको छ ।

‘स्वास्थ्य चौकीमा डाक्टर देख्दा पहिले त पत्यार लागेन,’ उनले भने, ‘छोरीको उपचार गरेपछि विश्वास लाग्यो ।’ स्वास्थ्य चौकीमा भिडियो र सादा एक्सरे सेवा पनि प्रदान गरिंदै आएको स्वास्थ्यकर्मी बताउँछन् । ईसीजी र ल्याव सेवा पनि सञ्चालन हुँदा यस क्षेत्रका नागरिकलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता हटेको स्वास्थ्यकर्मी सुनिता केसीले बताइन् ।

‘गाउँपालिकाले आफैं डाक्टरको व्यवस्था गरेको हो,’ उनले भनिन् । गाउँपालिकाले एक्सरे, भिडियो एक्सरेसहितको सेवा विस्तार गर्न सहजीकरणसहित सहयोग गरेको हो ।

सुपथ मूल्ययमै भिडियो एक्सरे सेवा स्वास्थ्य चौकीमै पाउँदा गर्भवती महिला बढी लाभान्वित भएको स्थानीय मुना रावतले बताइन् । ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएको महिनौं भयो भन्ने सुनेका छौं,’ उनले भनिन्, ‘यता त स्वास्थ्य चौकीमै भिडियो एक्सरे हुन्छ ।’ सानातिना रोग लाग्दा पनि उपचार नपाएर मर्ने दिन अब गएजस्तो लागेको उनले सुनाइन् ।

प्रकाशित : पुस २९, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×