कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भन्सारमा राजस्व संकलन घटेपछि वृद्धि गर्न प्रहरीको सक्रियता बढ्दै

सन्जु पौडेल

लुम्बिनी — भैरहवा भन्सार कार्यालयमा राजस्व संकलन घटेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो १२ महिनादेखि देशको एक ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले निरन्तर राजस्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ ।

भन्सारमा राजस्व संकलन घटेपछि वृद्धि गर्न प्रहरीको सक्रियता बढ्दै

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाउँठाउँमा चेक बढाइएको छ । ‘सरकारलाई राजस्वको दबाब पनि परेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ कि भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजस्व वृद्धिका लागि दुई सातादेखि लागेका छौं ।’

एसपी श्रेष्ठले नियमित साथसाथै ‘सरप्राइज चेकिङ’ पनि भइरहेको जनाए । यसबाट नतिजा राम्रो पाएको र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सकिरहेको उनको भनाइ छ । उनले ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउदै आएको भन्दै कोरोना जोखिम बढ्ने संकेत देखिएकाले जोगिन नागरिकलाई आग्रह गर्ने गरेको बताए ।

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्याङ्क अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रहृयो ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको नेतृत्वमा ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी पनि सीमामा र तस्कर पत्ता लगाउन खटिएका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई करोडभन्दा बढीको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाया लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टरले चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्ट्स तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान नियन्त्रणमा लिएको बताएको छ ।

सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले पनि पुसमा मात्रै ६५ लाखभन्दा बढीको अवैध सामान नियनत्रणमा लिई भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश पोखरेलले जानकारी दिए ।

प्रकाशित : पुस २३, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?