कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुत्केरी र शिशु मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तोडफोड

प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, ८ राउन्ड अश्रुग्यास प्रहार
आश गुरुङ

लमजुङ — सुत्केरी र शिशुको मृत्युको विषयलाई लिएर पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेको छ । उनीहरुले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएको छ । ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ । 

सुत्केरी र शिशु मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तोडफोड

सुत्केरी र शिशुको मृत्यु भएको विषयमा छानबिन गर्न गठित टोली आउन ढिलाइ गरेको भन्दै उनीहरुले टायर बालेर नाराबाजी गर्दै अस्पतालको गेटमा ढुंगा हानेका हुन् । लमजुङ अस्पताल लमजुङका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार अस्पतालतर्फ ढुंगामुढा गरेपछि स्वास्थ्यकर्मी सबै त्रसित बनेका छन् । सेवा तिरन्तर दिँदै आए पनि अस्पतालमा आक्रमण गरेपछि सेवा अगाडि बढाउने या नबढाउने भन्ने विषयमा स्वास्थ्यकर्मीबीच छलफल भइरहेको उनले बताए । ‘यस्तो अवस्थामा कसरी बिरामीको उपचार गर्न सकिन्छ र ! केही जटिल देख्नेबित्तिकै बिरामीलाई रिफर गरेका छौं । यहाँ उपचार गर्ने वातावरण बनेन’ उनले भने ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ । ८ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । लाठीचार्ज र अश्रुग्यास प्रहारबाट प्रदर्शनकारी केही हताहती भएका छन् । अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । प्रशासन चोकबाट अनावश्यक व्यक्तिहरु अस्पतालतर्फ जान रोक लगाएको प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । प्रहरीलक्षित टायरको आगो फाल्ने र ढुंगा बर्साउन थालेपछि स्थिति नियन्त्रणमा लिनुपरेको बताए ।

शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडितले लमजुङ अस्पतालमा बुधबार पनि प्रदर्शन गरेका थिए । मर्स्याङ्दी गाउँपालिका-९, पामचोक दलितबस्तीकी २६ वर्षीया गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको घटनाबारे छानबिन गर्न छानबिन तथा अध्ययन समिति गठन गरिएको छ । पोखराबाट टोली आउने भनिए पनि नआएको भन्दै पीडित आफन्त तथा स्थानीयले प्रदर्शन गरेका हुन् ।

घटना छानबिन गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले टोली पोखराबाट बाटोमा रहेको बताए । ‘छानबिन, अध्ययन गर्ने र एक साताभित्र अध्ययनको प्रतिवेदन बुझाउने र सोहीअनुरुप कानुनी प्रक्रियामा अघि बढ्ने सहमति भएको हो । सहमतिलाई भंग गर्नु र गराउनु भएन,’ उनले भने ।

गर्भवती विकलाई गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकाल्दा मृत जन्मिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ पौने ६ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । अस्पताल पुग्नेबित्तिकै विकको मृत्यु भएको थियो । पीडितले लमजुङ अस्पतालले राम्रोसँग उपचार नगरेको, रिफर गर्नुपर्ने बिरामीलाई रिफर नगरी राखेको लगायतको आरोप लगाएका छन् । घटनाबारे अस्पतालले औपचारिक रुपमा केही बोलेको छैन ।

प्रकाशित : मंसिर १४, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?