कांग्रेसले नै गिरीबन्धु टि-स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो : ओली

जेष्ठ २, २०८१

कान्तिपुर संवाददाता

Congress itself sold 70 bigha land of Giribandhu T-State by taking commission: Oli

काठमाडौँ — सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि स्टेटकको जग्गा ब्रिक्री गर्ने सम्बन्धमा भएको निर्णयमाथि एमाले नेतृत्वलाई प्रश्न उठिरहेका बेला ओलीले भने कांग्रेसलाई नै आरोप लगाएका हुन् ।

एमाले संसदीय दलको बुधबारको बैठकमा सम्बोधन गर्दै कांग्रेसले टिस्टेटबारे उठाइरहेको कुरा 'बकबास' रहेको उल्लेख गरे । ‘म भन्न चाहन्छु–५१  बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकबास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन ।'

उनले कांग्रेसका बद्मासीहरुको बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिए ।'हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियामेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन' ओलीले भने,' अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ ।'

उनले संसद्‌को गरिमामय समय कांग्रेसको कुण्ठामा खेल फाल्न नहुने बताए ।  'संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहिँ कतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि कांग्रेसले नै अभियोजन चलाई हाल्ने ? कांग्रेसले नै फैसला पनि ठोकि हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ । त्यति भन्छु’ ओलीले भने ।

गिरीबन्धु जग्गा प्रकरण

कान्तिपुर

Link copied successfully