कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चितवनका सहकारी पीडितले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने

चितवन — बचत फिर्ता नगरी बन्द भएका चितवनका तीन ठूला सहकारी संस्थाहरुका बचतकर्ताहरुले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने भएका छन् । 

चितवनका सहकारी पीडितले शुक्रबार भरतपुरमा विरोध प्रदर्शन गर्ने

चितवन साहारा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र सनराइन बचत तथा ऋण सहकारीका पीडितहरुले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रदर्शन गर्ने जानकारी गराएका हुन् । उनीहरुका अनुसार यी तीन सहकारीसहित विभिन्न सहकारीका २० हजारभन्दा बढी बचतकर्ताहरुको बिचल्ली भएको छ ।

बचत फिर्ता नगरी भागेका सहकारी सञ्चालकहरुलाई पक्राउ गर्न चितवन प्रहरीले सक्रियता नदेखाएको भन्दै उनीहरुले आक्रोश पनि पोखे । ‘सहकारी डुबाएर लुकेकाहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको आज आठ/नौ महिना भइसक्यो । खै समातिएको’ चितवन साहाराका पीडित बचतकर्ता शालिकराम दुवाडीले भने । फरार सहकारी ठगहरुलाई कारबाही गर्नुपर्ने, बचत फिर्ता गरेर सहकारी पीडितलाई न्याय दिलाउनुपर्ने, राहत प्याकेज घोषणालगायत मागसहित प्रदर्शन गरिने दुवाडीले जानकारी दिए । ‘अब त अति भयो । पीडितको बचत रकम फिर्ता गर भनेर हामी लागेको २० महिना हुँदै छ । केही उपलब्धि निस्कँदैन,’ शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता बद्री पोखरेलले भने ।

उनले चितवनबाटै जितेर गएका रवि लामिछाने गृहमन्त्री भइसके तर आफूहरुले यो विषय पालिकादेखि गृहमन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लैजाँदा पनि ठोस निकास नआउँदा बचतकर्ताहरु पीडामा परेको बताए ।

‘हामीलाई बचत फिर्ता चाहिएको छ । प्रधानमन्त्री दाहालले फिर्ता गराए पनि भयो । गृहमन्त्री लामिछाने या प्रतिपक्ष दलका गगन थापाले भूमिका खेलेर हामीलाई न्याय दिए पनि भयो । तर यही विषयमा एक-अर्कालाई दोषारोपण गर्दै संसद्‌मा प्रतिवादमात्रै गरेर हामीलाई के राहत मिल्ला,’ पोखरेलले प्रश्न गरे ।

सनराइज सहकारीका बचतकर्ता तुलसीराम सापकोटाले मुख्य अभियुक्तहरुलाई नवलपुर प्रहरीले समाएको बताए । ‘चितवनमा सनराइज सहकारीका सञ्चालकले ९० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरे । हामी २० महिनादेखि रकम फिर्ता गराउन लागिरहेका छौं । तर चितवनमा यसका सञ्चालक समातिदैनन् । यिनै सञ्चालकले नवलपुरमा पनि अर्को सहकारी चलाएर बचत हिनामिना गरेपछि बल्ल उता उनीहरु समातिएका छन्,’ सापकोटाले भने ।

सहकारीको बचत अपचलनमा राप्रपाका सांसद गीता बस्नेत पनि मुछिएकी छन् । उनी विरुद्धसमेत पक्राउ पुर्जी जारी भएको छ । तर सांसद बस्नेत पक्राउ परेकी छैनन् । ‘हामीले खाइनखाइ पसिना बगाएर कमाएको र विदेशमा भाइले कमाएको पैसा यो सहकारीमा राखेका हौं । हाम्रो पैसामा अरुले सुखसयल गरे । सांसदले नै बचत रकम हिनामिना गरे भन्ने सुन्छु । त्यस्ताको कहिल्यै भलो नहोस्,’ सनराइज सहकारीकी बचतकर्ता सुशीला केसीले भनिन् ।

शिवशिखरका बचतकर्ता कृष्ण सुवेदीले शिक्षकबाट अवकाश हुँदा पाएको रकम सहकारीमा राखेको र त्यो डुब्दा परिवारका सदस्यको उपचार खर्चमा पनि अप्ठ्यारो हुन थालेको बताए । साहारा चितवनका निलकण्ठ तिवारीले राष्ट्रपति कार्यालयबाहेक वडादेखि प्रधानमन्त्री कार्यालयसम्म कुरा पुगे पनि कारबाही नभएको देख्दा उदेक लागेको बताए । उनले भने ‘अब हाम्रो बचत फिर्ता होस् । अपराधी जोगाउने जोसुकैलाई कारबाही होस् ।’

साहारा चितवनकै अर्का बचतकर्ता विनोद आचार्यले सर्वसाधरणको जम्मा भएको रकम अपचल गरेर कोही व्यक्ति विदेश भाग्ने तर सरकारले केही गर्न नसक्नु निरीहपन भएको बताए । ‘हामीले रवि लामिछानेलाई पटक-पटक भेटेका छौं । कुनै बेला उहाँले भन्नुहुन्थ्यो म सरकारमा छैन । समाउने जिम्मा सरकारको हो भन्नुहुन्थ्यो । अब त उहाँ पनि सरकारमै हो । खै त समाएको,’ विनोदको प्रश्न थियो । लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन् । उनी संलग्न ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्कमा

साहारा चितवन सहकारीमा जम्मा भएको ८५ करोडमध्ये १२ करोड रुपैयाँ गएको देखिएको छ । गोर्खा मिडियाका सञ्चालक ओखलढुंगा मूलघर भएका जीबी राई नै चितवन साहाराका संस्थापक हुन् । ‘हामी चितवनवासीले कुनै शंकाबिना पाहुनाहरुलाई ठूलै सत्कार गरियो । कुनै नेताहरुलाई पनि त्यस्तै गरियो । सहकारी चलाउँछौं भन्दै बाहिरबाट आउनेलाई पनि त्यस्तै गरियो । तर अब सचेत बनौं,’ विनोदले अपिल गरे । साहाराकै बचतकर्ता शोभा काफ्लेले माग पूरा नभएसम्म आन्दोलनमा हार नमानी लाग्नुपर्ने बताइन् ।

शुक्रबार बिहान ९ बजे भरतपुर चौबिसकोठीमा भेला भएर महानगरको सहकारी इकाई, चितवन जिल्ला प्रहरी कार्यालयबाट अगाडि बढेर बाइपास सडक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गर्ने तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जिल्लाका सबै दलका नेताहरुलाई सभामा बोलाएको दुवाडीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?