२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

रासस

काठमाडौँ — निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ ।

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–विदुर सडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए । उनका अनुसार विसं २०७०/७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए । उनले भने, 'अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ ।'

मुड्खु–तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ । 'यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ', इन्जिनियर भण्डारीले भने ।

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ । अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौँस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए । 'तीनपिप्लेबाट–रानीपौवा १२ दशमलव ५१ किमि र रानीपौवा–पिपलटार ३३ दशमवलव ६९ किमि गरेर झण्डै ५५ किमि लम्बाइ छ । बालाजु–त्रिशूली ५५ किमि र त्रिशूली–छहरे ११ किमि गरी यस यो योजनाले ६६ किमि सडक निर्माण गर्नुपर्ने छ', उनले भने ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?