कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनेपामा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम सञ्चालन

ज्योती श्रेष्ठ

काभ्रे — जिल्लाको बनेपा नगरपालिकामा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

बनेपामा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम सञ्चालन

समुदाय प्रहरी साझेदारी कार्यक्रमअर्न्तगत ईलाका प्रहरी कार्यालय काभ्रे बनेपाको आयोजना र बनेपा नगरपालिका ५ को वडा कार्यालय, चण्डेश्वरी विकास संस्था र बनेपा चप्लेटी बिहानी हिँडाइ समूहको समन्वयमा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम चैत्र १२ गतेदेखि सञ्चालन भइरहेको छ ।

नगरको प्राचीन ऐतिहासिक महत्त्व बोकेको संरचनाको संरक्षण गर्नुका साथै पर्यावरण संरक्षणका लागि बनेपा नगरपालिकाको वडा नं. ५ मा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम सुरु गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

उनका अनुसार अहिले चण्डेश्वरी मन्दिर र गोसाइँस्थान मन्दिरको सरसफाइ गर्नुका साथै चण्डेश्वरी मन्दिरदेखि गोसाई स्थान मन्दिरको १६ सय सिँढीसम्म सरसफाइ कार्यक्रम गरिएको छ ।

अहिले सुरुआती चरणमा ५ दिने अभियानको रुपमा ‘सम्पदा र पर्यावरण संरक्षणका लागि मेरो ४५ मिनेट’ कार्यक्रम सञ्चालन गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भने, ‘यो कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएका छौं । यहाँका ऐतिहासिक महत्व बोकेको संरचना, मठ–मन्दिर, पार्टी–पौवाहरूको संरक्षण गर्ने हाम्रो योजना छ ।’ बनेपाका विभिन्न स्थानमा रहेका प्राचीन ऐतिहासिक महत्त्व बोकेका संरचनाहरूको संरक्षणका लागि पनि यो कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनले बताए ।

ऐतिहासिक संरचना, कला संस्कृतिले बनेपाको पहिचान बोकेको हुनाले यसको संरक्षणलाई वडाले प्राथमिकतामा राखेको बनेपा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बलराम अधिकारीले जानकारी दिए ।

बनेपाको चिनारीको रुपमा रहेका ऐतिहासिक संरचना, मठ, मन्दिर, चैत्य, विहार, पार्टी, पौवाहरूको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्त्व भएकाले यस विषयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताए ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा संरक्षण गर्न बजेट नै विनियोजन गरेर काम गरिरहेको नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले जानकारी दिइन् ।

प्रकाशित : चैत्र १५, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?