कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मधेशका चापाकल सुक्न थाले, सहयोग गर्नुस् : मुख्यमन्त्री यादव

अजित तिवारी

जनकपुर — सुख्खायाम सुरु भएसँगै मधेशमा खानेपानीको समस्या बढेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन् । 

मधेशका चापाकल सुक्न थाले, सहयोग गर्नुस् : मुख्यमन्त्री यादव

‘मधेशमा गर्मीको सिजनमा खानेपानीको हाहाकार नै हुन्छ,’ संघीय खानेपानी तथा ढल निकासी विभागले धनुषाको लालगढमा सोमबार आयोजना गरेको गुणस्तरयुक्त थोक खानेपानी बितरणसम्बन्धि कार्यक्रममा मुख्यमन्त्री यादवले भने,‘मधेशको दक्षिणी क्षेत्रमा केही बर्षयता पानीको सतह घटेको छ । सुख्खायाममा खानेपानीको हाहाकार हुन्छ ।’ उनले मधेशमा देखिएको खानेपानी संकट टार्न तत्कालिन र दीर्घकालिन दुबै योजनामा काम गर्न संघिय सरकारलाई आग्रहसमेत गरे ।

‘संघीय सरकारले सुनकोशी–मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने योजना बनाएको छ । त्यसका लागि धन्यवाद,’ मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ ।’ उनले यो योजना सम्पन्न गर्न समय लाग्ने भएकाले तत्कालका लागि अरु उपाय निकाल्न आग्रह गरे । ‘हामीलाई सहयोग गर्नुस् । मधेशका चापाकल अहिले नै सुक्न थालेका छन,’ उनले भने ।

संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राई, प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव, मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवारलगायतले मधेशमा पछिल्लो समय देखिएको खानेपानीको संकट टार्ने प्रयास भइरहेको बताएका थिए ।

खानेपानी तथा ढल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ सुनकोशी–मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरेर दिर्घकालिन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित : चैत्र २६, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?