कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वीरगन्जका दुवै भन्सारलाई राजस्व असुली लक्ष्य भेट्टाउन धौधौ 

शंकर आचार्य

पर्सा — जिल्लाका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यभन्दा कम राजस्व असुली भएको छ । दसैं, तिहारजस्ता पर्वको कारण आयात बढेर राजस्व पनि असूली बढ्ने अनुमानविपरीत लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।

वीरगन्जका दुवै भन्सारलाई राजस्व असुली लक्ष्य भेट्टाउन धौधौ 

वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल असोज महिनामा दसैं, तिहारजस्ता पर्वमा आयात बढेर राजस्व असुली पनि बढ्ने अनुमानविपरीत लक्ष्यभन्दा कम राजस्व असुली भएको बताउँछन् । उनले समग्रमै आयात घटेपछि राजस्व असुलीमा त्यसको प्रत्यक्ष असर परेको बताए ।

उनका अनुसार असोज महिनामा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको वीरगन्ज भन्सार कार्यालयले ६४ दशमलव ३५ प्रतिशतमात्र अर्थात् १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँमात्र राजस्व असुली गरेको छ ।

त्यसैगरी, चालु आवमा असोज महिनासम्ममा ५६ अर्ब ८४ करोड ६३ लाख ९२ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा यो भन्सारले ६८ दशमलव ३५ प्रतिशतमात्र अर्थात् ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँमात्र राजस्व असुली गर्न सकेको छ ।

यो भन्सार कार्यालयमा राजस्वमा सर्वाधिक योगदान दिने वस्तु नयाँ सवारी साधन र इन्धन हुन् । १ वर्षयता यी दुवै वस्तुको आयातमा गिरावट आएकाले राजस्व असुली लक्ष्य प्रभावित हुँदै आएको छ । सामान्य अवस्थामा यी दुवै वस्तु आयातबाट संकलन हुने राजस्व समग्र राजस्वको करिब ५० प्रतिशत हुने गरेको छ । वीरगन्ज भन्सार मुलुककै सर्वाधिक राजस्व असुली गर्ने भन्सार हो ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली केही राम्रो देखिए पनि त्यो लक्ष्यको पुग्न सकेको छैन । असोज महिनामा ५ अर्ब ३९ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले लक्ष्यको ७४ दशमलव ५२ प्रतिशत अर्थात् ४ अर्ब ४६ करोड ४१ लाख ७३ हजार रुपैयाँ राजस्व असुली गरेको जनाएको छ ।

त्यसैगरी, चालु आवमा असोज महिनासम्ममा १५ अर्ब ६० करोड ९८ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार रुपैयाँ राजस्व असुली गरेको छ । जुन लक्ष्यको ८४ दशमलव ०३ प्रतिशत हो ।

कार्यालयका अधिकृत सुशीलप्रसाद शर्माले असोज महिनामा लक्ष्य भेट्टाउने प्रबल सम्भावना रहे पनि सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचका जग्गा धनीले मुआब्जाको माग गरी ५ दिनसम्म बन्दरगाहको मूलगेटमा गरेको प्रदर्शनको कारण कार्यालयको सेवा नै प्रभावित भएपछि त्यसको असर राजस्व असूलीमा परेको बताए । ‘५ दिन बन्दरगाहमा आवागमन प्रभावित हुन पुग्यो,’ उनले भने, ‘कर्मचारी र सेवाग्राही दुवै बन्दरगाहमा परिसरभित्र प्रवेश गर्न नसकेको प्रतिकूल अवस्थाबीच पनि असोज महिनामा उत्साहजनकरुपमा राजस्व असुली गरिएको छ ।’

प्रकाशित : कार्तिक २, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?