बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालय कर्मचारीहरू आन्दोलित


राजविराज — सामुदायिक विद्यालयका कर्मचारीहरूले आफ्ना समस्या र मागलाई आगामी आर्थिक वर्षको बजेटमा नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।


सामुदायिक विद्यालयमा न्यून बेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधासहित पेशागत स्थायित्वको विषय सरकारको निती तथा कार्यक्रममा समावेश गरिए पनि बजेटमा नसमेटिएको भन्दै विद्यालय कर्मचारीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले विद्यालयको साँचो बुझाउँदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सप्तरी अगाडि धर्ना सुरु गरेका छन् । आइतबार दिउँसो कार्यालयको मूल गेटमै विद्यालय कर्मचारीहरुले धर्ना दिएका छन् ।
विद्यालय कर्मचारी आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्रले बजेट परिमार्जन गरी जतिसक्दो चाँडै आफ्ना सेवा सुविधा सम्बन्धी समस्या समावेश गर्न माग गरेका छन् । आफूहरुका सेवा सुविधा सम्बन्धी विषय बजेटमा समावेश नगरिए थप संघर्षका कार्यक्रम अगाडि बढाउने संयोजक श्रेष्ठले चेतावनी दिए ।
यस्तै जेठ २६ गतेसम्म जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुन्जेल सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने आन्दोलन परिचालन समिति संयोजक मिश्रले बताए ।
पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने र संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८ को संशोधन प्रबन्ध गर्नुपर्ने विद्यालय कर्मचारीहरुको माग छ ।
