कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सम्पन्‍न नभएपछि पुलमुनि स्थानीयहरूको अनशन

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर–३ का स्थानीयहरूले पुलको ठेक्का रद्ध गर्नुपर्ने माग राख्दै अलपत्र पारिएको पुलमुनि रिले अनसन सुरु गरेका छन् । पुल अलपत्र पारेर ठेकेदार चुप बसेपछि सडक डिभिजन कार्यालय र ठेकेदारलाई स्थानीयहरूले दबाब दिँदै आएका थिए । तर सुनवाइ नभएपछि स्थानीयले आइतबारबाट अनसन सुरु गरेका हुन् ।

निर्माण सम्पन्‍न नभएपछि पुलमुनि स्थानीयहरूको अनशन

पुरानो ठेक्का रद्ध गरी तीव्र गतिमा पुलको निर्माण सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ । चुरे क्षेत्रेको गैंडाटार गाउँलाई जोड्ने चन्द्रपुर–४ स्थित चाँदी नदीमा निर्माणाधीन पुल सम्झौता अनुसार काम नगरी अलपत्र पारिएकोमा सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साहसहित सम्बन्धित इन्जिनियरहरु जिम्मेवार रहेको स्थानीयहरूले बताएका छन् ।

स्थानीयहरूले उनीहरूको सरुवाको पनि माग गरेका छन् । स्थानीयहरूले ‘चाँदी नदीको अलपत्र पुल निर्माणका लागि संघर्ष समिति’ गठन गरी रिले अनसन सुरु गरेका हुन् । आइतबार बिहान ठूलो संख्यामा पुलमुनि भेला भएका स्थानीयले सडक प्रमुख दरोगा र ठेकेदार दयारामको मिलोमतोमा निर्माणको काममा हेलचेक्र्याइँ गरेको आरोप लगाएका छन् ।

संघर्ष समितिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाले पुल निर्माणको काम तदारुकता साथ सुरु नभएसम्म अनसन जारी राख्ने बताए । ‘पटकपटक म्याद थपेर चुप बस्ने ठेकेदारलाई कारबही गर्नुपर्छ,' तिमिल्सिनाले भने, ‘सडककै प्रमुखको मिलोमतोमा ठेकेदार काम नगरी चुप बसेका छन् । उनको सरुवा गरिनुपर्छ ।’

पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा चाँदी नदी पुल निर्माणको लिखित सम्झौता गरेको थियो । जसअनुसार २०७६ असार ३१ गते पुल निर्माणको काम सक्नुपर्ने थियो । तर ६ वर्ष बित्नै लाग्दा पनि पुल बनेको छैन । पुलको तेश्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ । थपिएको म्यादमा यस पटक पनि निर्माण सक्पन्न हुने अवस्था नदेखिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

पुल नहुँदा गत वर्ष गैंडाटार गाउँबाट चन्द्रनिगाहपुर आउँदै गरेका एक युवकलाई नदीले बगाएर उनको मृत्यु भएको थियो । ठेकेदारले निर्माणकै क्रममा पुल बनाउन छाडेपछि स्थानीयहरूले पुल निर्माण दबाब संघर्ष समिति गठन गरेका हुन् ।

उक्त पुल निर्माण हुँदा गैंडाटार गाउँका हजारौं बासिन्दा लाभान्वित हुनेछन् । सडक डिभिजन कार्यालय प्रमुख दरोगाका अनुसार सम्झौता अनुसार निर्माण कार्य नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको थियो ।

थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना, लकडाउन लगायतका विभिन्न बहाना गर्दै काम गरेका छैनन् । कोभिड–१९ को कारण देखाउँदै दोश्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो । ठेकेदारले त्यस अवधिमा पनि कामै नगरेपछि पुल निर्माण अलपत्र बनेको हो ।

सडक डिभिजनले पुन: तेश्रो पटकका लागि २०७९ असार मसान्तसम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुने अवस्था देखिएको छैन । सडक प्रमुख दरोगाका अनुसार ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको थियो ।

६ वर्षको अवधिमा ठेकेदारले ७५ प्रतिशत मात्रै काम गरेका छन् । ठेकेदार साह भने आर्थिक अभाव, बर्खा, निर्माण सामग्रीको अभाव लगायतका कारण देखाउँदै सम्झौता अनुसार निर्माण सम्पन्न हुन नसकेको बताउँदै आएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?