विपन्न मुस्लिमलाई राहत- मधेस - कान्तिपुर समाचार

विपन्न मुस्लिमलाई राहत

लक्ष्मी साह

बारा — इस्लाम धर्मावलम्बीहरुको धार्मिक र सांस्कृतिक महापर्व रमजानलाई लक्षित गरी आइतबारदेखि खाद्यान्न वितरण सुरु गरिएको छ । 

सेवा प्रदायक संस्था जनजागरण युवा क्लब र इस्लामिक रिलिफ सोसाइटीले बाराको महागढीमाई नगरपालिका-८ बेतौना गाउँका २ सय ४७ विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरेका हुन् । यसैगरी मंगलबार सुवर्ण गाउँपालिकाको वडा नम्बर १, २, ६ र ८ मा पर्ने हर्दिया र प्रशुरामपुर गाउँका ९ सय ८८ परिवारलाई खाद्यान्न वितरण गरिने सेवा प्रदायक संस्थाले जनाएको छ ।

आउँदो बुधबार (चैत ८ गते) देखि सुरु हुने एक महिने रमजान पर्वमा प्रत्येक मुस्लिम परिवारले दिनको एक छाकमात्र खाएर रमजान पर्व मनाइने गर्छन् । आयस्रोत नभएका अतिविपन्न, अशक्त, बालबालिकासँगै वृद्धवृद्धालाई ख्याल गरेर पर्व अवधिभर उनीहरुमा खाद्यान्नको समस्या नहोस् उद्देश्यले राहत वितरण गरिएको जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले बताए । उनकाअनुसार दुवै पालिकाका अतिविपन्न १ हजार २ सय ३५ परिवारलाई खाद्यान्न वितरण गरिन्छ । खाद्यान्न राहत सहयोगको स्रोत सेवा प्रदायक संस्था भए पनि वितरणमा स्थानीय जनप्रतिनिधिहरुलाई समेत सहभागी गराइएको छ ।

प्रतिपरिवारलाई ५ हजार ६ सय ७० रुपैयाँ पर्ने ४० केजी चामल, ५ केजी दाल, ३ लिटर खाने तेल, चिनी र नुन वितरण गरिएको हो । राहत पाएर मुस्लिम समुदाय खुसी भएका छन् । राहत वितरण गरेर मानवीय सहयोग मिलेको सोही वडाका पूर्ववडाध्यक्ष जाहिर अन्सारीले बताए ।

‘पर्वमा भौकै काम गर्न मन लाग्दैन्, कहाँबाट खाद्यान्न जुटाउने भन्ने चिन्ता थियो । अब हटेको छ,’ महागढीमाई नगरपालिका-८ बेतौना गाउँकी १० जना सदस्य रहेको परिवारकी घरमुली ५० वर्षीया रबेया खातुनले भनिन्, ‘कपडा र खाद्यान्नको चिन्ता थियो । तर घरमा बच्चाहरुलाई खाद्यान्नले राहत दिएको छ ।’ रबेयाका पति क्यान्सर रोगले बितेपछि त्यस परिवारमा आयस्रोत छैन ।

प्रकाशित : चैत्र ५, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

खप्तड आदर्श क्याम्पस डोटीमा अनेरास्ववियुको प्यानल निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — खप्तड आदर्श क्याम्पस डोटीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल निर्वाचित भएको छ । २९ मत खसेको उक्त क्याम्पसमा २१ मत अनेरास्ववियुको प्यानलले प्राप्त गरेको छ भने नेपाल विद्यार्थी संघको प्यानलले ७ मत प्राप्त गरेको छ ।

नेविसंघका अध्यक्ष पदका उम्मेदवार गणेशराज ओझाको प्यानललाई पछि पार्दै अनेरास्ववियूका श्याम बिक सचिव पदम पछेरा, कोषाध्यक्ष हेमा बोहरासहित सम्पूर्ण प्यानल विजयी भएको हो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको क्याम्पस प्रमुख मोहन रौतेडाले जानकारी दिए ।

प्रकाशित : चैत्र ५, २०७९ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×