२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

थातथलो फर्किंदै बाढीपीडित

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरका बाढीपीडितले सरकारले बनाइदिएको घर बेचेर थातथलो फर्किन थालेका छन् । रोजगारीको अभाव देखाउँदै बाढीबाट विस्थापित भएका उनीहरू घर बेचेर हिँडेका हुन् । 

थातथलो फर्किंदै बाढीपीडित

रोजगारीका कारण बस्न नसकिएको भन्दै मंगलपुरका भोज सहनीले स्थानीय होमबहादुर वाइबालाई २ लाखमा घर बेचेका छन् । घरमा अहिले कोही पनि छैनन् । सहनीले छाडेको घर अहिले सुनसान छ । सरकारले घर बनाइदिए पनि रोजगारीको अभावका कारण परिवार पाल्न नसकेकाले बेचेर हिँड्नुपरेको सहनीले बताए । ‘यहाँ बस्न सकिएन, रोजगारी छैन,’ उनले भने, ‘पुरानै गाउँ फर्किएको छु ।’

सहनीका श्रीमती, ३ छोरा र एक छोरी छन् । छोराछोरीको लालनपालन र पढाइमा समस्या परेको भन्दै गाउँ फर्किएको उनले सुनाए । २०५० सालमा वाग्मती नदीमा आएको बाढीले गढौ र चन्द्रपुर–१ वाग्मतीका करिब ५ सय घर बगायो ।

बाढीले घर बगाएपछि सरकारको अनुरोधमा चीनको चुची फाउन्डेसनले चन्द्रपुर–१ स्थित मंगलपुरमा ३ सय परिवारलाई बसोबास हुने गरी पक्की घर बनाइएको थियो । साथै, उनीहरूलाई १२ धुर जग्गासमेत दिइएको थियो । एक दशक बढी समय त्यही बिताउँदै आएका बाढीपीडितले पछिल्लो समय धमाधम घर बेचेर हिँड्न थालेका छन् । अहिले आधाजसोले घर बेचिसकेका छन् । पीडितलाई दिएको ३० भन्दा बढी घर बिक्री भएपछि त्यहाँ पुरानो घर भत्काएर ठूला पक्की घर बनाइएको छ । बस्तीको पूर्वतिर बाहिरबाट आएर पीडितको घर किनेका धेरैले पसल सञ्चालन गरेका छन् ।

स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेर हिँडेको पाइएको छ । सबैभन्दा धेरै वाग्मतीका स्थानीयले पाएको घर बेचेर अन्यत्र गएका छन् । रोजगारीको कारण देखाउँदै बाढीपीडित हरेश्वर सहनीले गत वर्ष १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचेर हिँडे । वडा नम्बर १ का अध्यक्ष बलराम राउतले धेरैजसो बाढीपीडितले घर बेचेर हिँडेको बताए ।

‘रोजगारी पनि एउटा प्रमुख समस्या हो तर धेरैले यहाँको घर बेचेर पुरानै गाउँ फर्केका छन्,’ वडाध्यक्ष राउतले भने, ‘पीडितलाई घर बेच्न नदिने र बाहिरबाट आई खरिद गर्नेलाई रोक्ने प्रयास गरेका हौं तर सकिएन ।’ फाउन्डेसनले बनाइदिएको घरमा बस्दै आएका स्थानीय दानबहादुर श्रेष्ठ पनि बेचेर हिँडेका छन् । उनका बुवा रामबाबु श्रेष्ठले पहिले नै घर बेचेका थिए ।

बाढीपीडितले पाएका घरजग्गाको लालपुर्जा पाएका छैनन् । तर, खरिद गर्नेहरूले दोब्बरको कागज बनाएर लिएका छन् । पीडितले घर बेच्न थालेपछि बाहिरका मानिससमेत खरिद गर्न आउन थालेका छन् । त्यहीँ बस्दै आएका बाढीपीडित अधिकांश वाग्मती नदीको किनारमा गिट्टीढुंगा संकलन गरेर, माछा मार्ने पेसामा जीविकोपार्जन गर्छन् । घर बेचेर जानुभन्दा बालुवा, गिट्टी चालेर जीवन चलाउनुको विकल्प नरहेको स्थानीय सजीव सहनीले बताए ।

गत वर्ष घर बेचेर जान लागेका सजीवलाई स्थानीयले फकाएपछि रोकिएका हुन् । ‘रोजगारी नभएपछि धेरै समस्या परेको थियो,’ उनले भने, ‘अहिले बगरमा गिट्टी कुटेर जीविका चलाइरहेको छु । अब घर बेचेर कतै जान्न ।’ त्यहीँ बसेकाको घर भने मर्मतको अभावले जीर्ण बनेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?