कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै पालिकाका ४ जनप्रतिनिधि छानबिनमा

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिकाका उपप्रमुखसहित चार जनप्रतिनिधि छानबिनमा तानिएका छन् । दुई वडाध्यक्ष त फरार नै छन् । नेपाल र भारत दुई देशको नागरिक रहेको उजुरी परेपछि नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवको नागरिकता जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको छ ।

एउटै पालिकाका ४ जनप्रतिनिधि छानबिनमा

वडा–२ का अध्यक्ष रहमान मियाँ सरकारी लिखतसम्बन्धी कसुर र नागरिकता किर्ते मुद्दामा गत पुस २४ मा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीको आदेशमा मियाँ चलान भएका हुन् । वडाध्यक्ष रहमानसहित २१ जनाले भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता निकासा गरी ८३ लाख ४१ हजार १ सय ८ रुपैयाँ हिनामिना गरेको आरोपमा सप्तरी प्रहरीले दुई वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको प्रक्रिया अघि बढेपछि फरार रहेका मियाँ गत वैशाख ३० मा भएको चुनावमा वडाध्यक्षमा विजयी भएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

वडा–७ का वडाध्यक्ष शत्रुधन मण्डल जिल्ला अदालतले एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेपछि उनी फरार छन् । डाकनेश्वरी–७ की १८ वर्षीया युवतीले सामूहिक बलात्कारपछि २५ हजार रुपैयाँ लिएर गाउँमै मिल्न दबाब दिने पञ्चायती गरिएपछि आत्महत्या गरेकी थिइन् । सोही मामिलामा जिल्ला अदालतले तत्कालीन अवस्थामा पञ्चायतीमा संलग्न रहेका मण्डललाई पनि दोषी देखाउँदै गत पुस १८ मा सजाय तोकेको थियो ।

डाकनेश्वरी–३ का वडाध्यक्ष भागेश्वर यादव पनि फरार छन् । भारतीय युवालाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष यादवमाथि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले खोजी गरिरहे पनि उनी गाउँघरमा वडाध्यक्षकै भूमिकामा रहेको स्थानीयले बताए ।


प्रकाशित : माघ ९, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?