३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘मासिन्या’ का २ सय ३० वर्ष 

सीमान्तकृत समुदायको आँखाबाट आफ्नै संसार हेर्ने सौन्दर्य दृष्टिकोण र स्थापित कला ज्ञानविरुद्ध प्रतिरोध हो– मासिन्या ।
शिवहरि ज्ञवाली

च्याङबाको आस्याङले ज्यार्दी (ब्राह्मण) शोभाकान्तको घरबाट बूढो गाई पाल्न ल्याउँछन् । केही दिनपछि चर्ने क्रममा गाई भीरबाट लडेर मर्छ । गाउँलेहरूले आफ्नो सांस्कृतिक चलनअनुसार गाईको मासु खान्छन् । प्रहरी चौकीमा तामाङहरूले गाई मारेर खाएको आरोपमा उजुरी पर्छ ।

‘मासिन्या’ का २ सय ३० वर्ष 

तामाङ लवजमा ‘गाई मर्‍यो र खायो’ अर्थात् ‘गाई मार्‍यो र खायो’ स्वीकार गरेपछि च्याङ्बा जेल जान्छ । त्यसपछि सुरु हुन्छ राजधानी मास्तिरको तामाङ बस्ती ‘गाङनाम्सा’ माथिको राज्य आतंक ।

गाउँलेहरूले च्याङ्बालाई जेलबाट छुटाउन महिलाहरूले लगाएका गरगहनामात्र होइन लालपुर्जा, नागरिकतासमेत ज्यार्दीलाई बन्धकी राख्न बाध्य हुन्छन् । राज्यसँग सम्बन्ध सेतु स्थापित गर्ने अधिकार पाएका ‘धर्माधिकारी’ ले राज्य स्रोतका लागि मात्र होइन, व्यक्तिगत सम्पत्तिका लागि समेत तामाङहरूको सम्पत्ति हत्याउन ‘गाईको प्रयोग’ गर्छन् । देशमा ‘जनयुद्ध’ हुन्छ । ‘जनयुद्ध’ ले तामाङहरूको मुक्ति र पहिचानका नाममा तामाङहरूकै दुरुपयोग गर्छ । अन्त्यमा गाउँबाट ‘गोबध’ होइन, तामाङ नै विस्थापित हुन्छन् । यो संक्षिप्त कथानक माघ ११ देखि काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ को हो ।

कलाकारको सिर्जनालाई कलाका रूपमा मात्रै हेर्ने २० औं शताब्दीका ख्यात नाम ‘संरचनावादी’ दार्शनिक तथा कला आलोचक रोल्यान्ड बार्थेजले ‘सर्जक मृत छ’ भन्दै सिर्जनाको अस्तित्व सर्जकबाट स्वतन्त्र हुने कुरामा जोड दिए । हाल ‘मासिन्या’ सँग जोडिएर आएका समीक्षा वा सामाजिक सञ्जालका टिप्पणीहरू मूलतः बार्थेजको दृष्टिकोणसँग नजिक रहेर आएका छन् । यसको अर्थ यस्तो दृष्टिकोणले तामाङहरूमाथिको ऐतिहासिक राज्य दमनको मुख्य कारकका रूपमा रहेको ‘गो शासन’ लाई बेवास्ता गर्छ । तामाङ प्रतिरोध र उनीहरूको सौन्दर्यबोधलाई बेवास्ता गर्छ । फलस्वरूप तामाङहरूमाथिको दमनलाई १९१० को मुलुकी ऐनले मात्रै स्थापित गरेको भन्ने भाष्य निर्माण गर्छ, जुन अर्धसत्य हो ।

त्यसो त च्याङ्बा जेल पर्नुअघि नै सिंगो ‘गाङनाम्सा’ बस्ती आफैंमा जेलजस्तै थियो । नाटकमा उल्लेख गरिएको ‘गाङनाम्सा’ डाँडागाउँ बन्दासम्मको घटनाक्रमले कम्तीमा तीन सय वर्ष पार गरेको छ । यो बस्तीमा सुरुमा करिब २८० वर्षअघि पृथ्वीनारायण शाहको ‘राज्य विस्तार अभियान’ अन्तर्गत नुवाकोटभित्र ‘गोर्खा साम्राज्य’ छिर्छ । वि.सं. १८२९ तिर तामाङहरूको ऐतिहासिक भूमि ‘तिमाल’ माथि गोर्खाली सेनाले दमन गर्छन् । त्यसपछि तामाङ समुदायमाथि सरकारभन्दा बढी ‘गाईको शासन’ चल्छ ।

विसं १८४३ मा रणबहादुर शाहले ‘गो शासन’ लाई अझै कठोर बनाउँछन् । विसं १८६३ मा ‘कानुनी बन्दोबस्त’ को २२ औं सवालले गोवध गर्नेलाई मृत्युदण्ड र त्यस गाउँका सबै गाउँले समेतलाई दण्डको व्यवस्था गर्छ । रणबहादुर शाहको पालाको अत्याचार र गो शासन’ विरुद्ध विसं १८५० तिर तामाङहरूले विद्रोह गर्छन् । र, विद्रोहमा एक हजार तामाङ राज्यद्वारा काटिन्छन् । त्यसपछि विसं १८७९ को उजिर सिंहको जंगी तथा निजामती स्थिति बन्देजले पनि गोवधमा रोक लगाउनुका साथै जातअनुसार मार्ने, यौनाङ्ग काटेर फालिदिनेसम्मका सजाय तोक्छ ।

‘गाङनाम्सा’ माथिको राज्य आतंक यत्तिमै रोकिँदैन । जंगबहादुरको पालामा विसं १९१० को मुलुकी ऐनमार्फत तामाङहरूलाई कुनै पनि अपराधको कसुरमा सजाय स्वरूप ‘काट्न मिल्ने’ अर्थात् ‘मास्न मिल्ने’ जातिका रूपमा ‘मासिन्या’ वर्गमा स्तरीकरण गर्छ । यो क्रम पञ्चायतकालसम्म यथावत् रहन्छ । त्यसपछि तामाङ बस्तीमा संरक्षणको नाममा निकुञ्ज छिर्छ । यस्तो दमनलाई विसं २०४७ को संविधानले ‘हिन्दु राजनीति’ को प्रतीक गाईको सर्वोच्चतालाई संवैधानिक मान्यता दिएर निरन्तरता दिन्छ । नेपालको संविधान, २०७२ ले ‘राष्ट्रिय गान इत्यादि’ अन्तर्गत राष्ट्रिय जनावरका रूपमा स्वीकार गर्छ । यता मुलुकी अपराध (संहिता) को धारा (१५१) ले राष्ट्रिय गानको अपमान वा क्षतिलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरका रूपमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तोक्छ । ‘मासिन्या’ संवैधानिक रूपमा स्थापित तामाङ समुदायमाथिको अपराधीकरण योजनाको एउटा खुला दस्ताबेज हो । इतिहास आफैंमा जटिल र गहन विषय हो, यसका अनेक मोडबारे गम्भीर समीक्षा जरुरी हुन्छ नै । नेपालको सन्दर्भमा जात व्यवस्था र त्यसले सिर्जना गरेको पितृसत्तात्मक चरित्रतिर ध्यान दिनु जरुरी हुन्छ ताकि जातसँगै जोडिएको पितृसत्ताले कस्तो ज्ञान सिर्जना गरिरहेको छ ? नेपालमा सत्ता, ज्ञान र शिक्षाको इतिहासमा नलेखिएका तामाङ समुदायको कला क्षेत्रमा गौरवपूर्ण सहभागितालाई ‘मासिन्या’ ले अर्को उचाइमा पुर्‍याएको छ । साहित्यमा ‘नयाँ ऐतिहासिकतावादी’ धारले कलालाई इतिहास, सन्दर्भ र सर्जकबाट छुट्याएर हेर्न नमिल्ने मान्यता राख्छ । त्यसो त यो धारले उत्पीडक सर्जकको सिर्जनालाई बहिष्कार गर्नुपर्ने मान्यता राख्छ । नेपालीकला विज्ञहरूले कलालाई कलाकै रूपमा मात्र स्वीकार गरिरहे । फलस्वरूप जीवनभर सारङ्गी बजाउने गन्धर्वहरू अपहेलित भइरहे र कुनै गैरदलित सारङ्गीविज्ञ भयो । महिला, दलित र तामाङ वा अन्य कुनै उत्पीडित राष्ट्रियता भएका समुदायमाथि अन्य समुदायका लेखकहरूले निर्माण गरिदिएको ज्ञानले उनीहरूको मुक्ति होइन, अपराधीकरण गरिरह्यो । तर, हामीले त्यसविरुद्ध प्रतिरोध गर्न सकेनौं । ‘मासिन्या’ सीमान्तकृत समुदायको आँखाबाट आफ्नै संसारलाई हेर्ने सौन्दर्य दृष्टिकोण हो । स्थापित कला ज्ञानविरुद्ध प्रतिरोध हो । ‘मासिन्या’ ले तामाङ समुदायमाथिको ऐतिहासिक दमनको सन्दर्भमात्रै उठाएको छैन । यसले आधुनिकता र विकासको नाममा तामाङ जातिको परम्परागत संस्थाहरू ‘ताम्बा, बोन्बो र लामा’ संस्कृतिमाथिको खस–आर्य अतिक्रमणको शृंखलाले तामाङ समाजलाई युगौंदेखि जागरुक र एकीकृत बनाउँदै आएको ‘तामाङ सभ्यता’ र ‘पितृसत्ताविरोधी’ तामाङ चेतना पनि उजागर गरेको छ ।

लेखक स्वयंले गरेको एक अध्ययन अनुसार २०६८ देखि २०७४ सम्म जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा गोवधसम्बन्धी मात्र ७ सय २७ मुद्दाहरूको लगत रहेको देखिन्छ । त्यस्तै गरी २०७५ देखि २०७९ सम्म १७२ मुद्दाहरूको लगत देखिन्छ । यद्यपि, यो क्रम २०८० को पहिलो १० महिनासम्ममा २१५ पुगेको छ । २०६८ देखि २०७४ सम्म गोवधका घटनामा वार्षिक अधिकतम ७५ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । तर, त्यसपछिका घटनाको वृद्धिदर डरलाग्दो छ ।

आर्थिक वर्ष २०७३/७४ मा मात्र सर्वोच्च अदालतमा लगत रहेका गोवधसम्बन्धी मुद्दाको संख्या ३४ देखिन्छ भने प्रतिवादी संख्या ४३ छ । प्रतिवादीमध्ये सबैभन्दा धेरै दलित ५१, तामाङ १६, मगर १६, मुसलमान सात, राई सात र क्षत्री तीन प्रतिशत छन् । मासिन्याको अर्को सन्दर्भ गणतान्त्रिक नेपालमा बढ्दै गइरहेको गोवधका नाममा निश्चित समुदायको अपराधीकरणविरुद्ध प्रतिरोधको उद्घोष पनि हो ।

गोवधको विषय नेपाली रंगमञ्चमा सम्भवतः पहिलो पटक मासिन्याले जबर्जस्त उठाएको छ । मासिन्यालाई पनि यसका लेखक, सर्जक र यसको ऐतिहासिक सन्दर्भबाट छुट्याएर हेर्न मिल्दैन । यसको परिकल्पना गर्ने नाटककार राजु स्याङ्तान हुन् वा पछि उनको यो परिकल्पनासँग सहकार्य गर्न आउने नाटककार लक्ष्मी रुम्बा र रावत हुन्, उनीहरू सबै तामाङ समुदायका छन् । नाटकका अधिकांश कलाकार, निर्देशक बुद्धि तामाङ र सोनाम लामासमेत तामाङ समुदायबाटै छन् । समग्रमा यो नाटक तामाङ समुदायद्वारा, तामाङ पहिचान र मुक्तिका लागि तामाङ समुदायले निर्माण गरेको ऐतिहासिक दस्ताबेज हो, जहाँ तामाङहरू गोवधको नाममा आफ्नै भूमिबाट विस्थापित हुनुको मूल्य खोजिरहेका छन् । त्यसविरुद्ध संगठित संघर्षको आह्वान गरिरहेका छन् । तामाङ गणराज्यको सपना बुनिरहेका छन् ।

सन् २०१४ मा भारतमा मोदीको उदयसँगै भारतमा बढ्दो हिन्दुत्वको राजनीति र यसै वर्ष कथित अयोध्यामा राममन्दिरको निर्माणसँगै भारतमा दक्षिणतिरबाट हिन्दुत्वको हुरी चलिरहेको छ । नेपालभित्रै पनि गोवधलाई अपराधीकरण गर्दै सीमान्तकृत समुदायमाथिको दमनमा स्थानीय सरकारहरूसमेत अग्रसर भइरहेका छन् । पछिल्लो समय धरान, जनकपुर, सर्लाही र नेपालगन्ज क्षेत्रमा धार्मिक द्वन्द्वका लक्षणहरू देखापरेका छन् । केही समयअघि बाँकेको नरैनापर गाउँपालिकाले समेत गोवधको सूचना दिनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरेको थियो । त्यस्तै धर्मनिरपेक्षताको विरुद्धमा आवाजहरू उठ्न थालेका छन् ।

यस्तो सन्दर्भमा यो नाटकले नेपालमा सीमान्त अधिकार र न्यायका लागि गणतन्त्र र धर्मनिरपेक्षताको महत्त्वलाई अझै बलियोसँग उठाएको छ । यो नाटकलाई तामाङ प्रतिरोधको इतिहास, सन्दर्भ र यसका सर्जकको व्यक्तिगत तथा सामूहिक अनुभवका आधारमा समीक्षा गरिनुपर्छ ।

यसले ज्यार्दीहरूले स्थापित गरेको जात व्यवस्था र पितृसत्ताद्वारा संरक्षित राज्य आतंकविरुद्ध प्रतिरोध नै तामाङ कला र साहित्यको सौन्दर्य हो भन्ने तथ्यलाई अझ बलियोसँग स्थापित गरेको छ । त्यसैले ‘मासिन्या’ विगत दुई सय तीस वर्षदेखि खोसिएको तामाङ इतिहासको खास इतिहास हो ।

प्रकाशित : माघ २०, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?