पूर्वी पहाडका अधिकांश विद्यालय बन्द- कोशी - कान्तिपुर समाचार

पूर्वी पहाडका अधिकांश विद्यालय बन्द

डम्बरसिं राई, कुम्भराज राई, लक्ष्मी गौतम, भानुभक्त निरौला

खोटाङ, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु — पूर्वी हिमाली तथा पहाडी जिल्लामा जाडोले विद्यालयहरू बन्द गरिएका छन् । अत्यधिक चिसोमा बालबालिकालाई आउजाउ गर्न गाह्रो भएकाले हिमाली जिल्ला सोलखुम्बुका खुम्बुपासाङल्हामु गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका ७० बढी सामुदायिक विद्यालयले पढाइ बन्द गरेका हुन् ।


सर्वोच्च शिखर सगरमाथास्थित हिमाली पालिका खुम्बुपासाङल्हामुले पुस दोस्रो साताबाटै लागू हुने गरी ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । ठण्डीले जनजीवन प्रभावित बनेको र विद्यालयसम्म जान सक्ने अवस्था नरहेकाले बन्द गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । उनका अनुसार कुल १७ विद्यालय रहेको पालिकामा वडा १ का ३ वटा बाहेक १४ वटा विद्यालय बन्द छन् ।

त्यस्तै हिमाली तथा उच्च पहाडी भूगोलमा रहेको सोलुदूधकुण्ड नगरपालिकाका ५८ वटा विद्यालय पनि बन्द छन् । कुल ६२ सामुदायिक विद्यालय रहेको जिल्लाको एक मात्र नगरपालिकामा वडा–११ तिंलाका ४ बाहेक अन्य विद्यालय ४५ दिनका लागि बन्द गरिएको शिक्षा शाखा प्रमुख सन्तोषकुमार राउतले बताए । उनका अनुसार अब माघको २५ पछि मात्रै नगरपालिकाका विद्यालय खुल्नेछन् । चिसोले ओखलढुंगाका अधिकांश विद्यालय बन्द छन् । मोलुङ गापा, खिजिदेम्बा गापा र सिद्धिचरण नगरपालिकाको लेकाली क्षेत्रका सबै विद्यालय केही दिनयता बन्द भएका हुन् ।

‘जाडो अत्यधिक बढेको त होइन तर विद्यार्थीहरूमा रुखाखोकीको समस्या धेरै देखियो,’ मोलुङ गाउँपालिका–८ स्थित पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले भने, ‘हामीले दस दिनका लागि विद्यालय बन्द गरेका छौं, दिन तातियो भने विद्यालय खुल्छ ।’ चिसो बढ्ने तरिका पहिलेभन्दा बदलिएको सिद्धिचरण–६ का ठाडेका होटल व्यवसायी पारस मगरले बताए । ‘पहिले यति बेला एकनासको जाडो हुन्थ्यो, हिउँ पर्थ्यो,’ उनले भने, ‘यसपालि बिहान–बेलुकी थामिनसक्नु जाडो छ तर दिउँसो तापक्रम धेरै छ ।’

हिउँ पर्‍यो भने ठाडे, टोड्के, जन्तरधाप क्षेत्रमा होटल व्यवसाय बढ्छ । तर यसपटक हिउँ परेको छैन । स्थानीय खेतीका लागि हिमपात अनिवार्य हो । यदि हिउँदमा हिउँ नपरे वर्षाको सुरुवातमा असिना पर्ने र आलुलगायतको अन्नबालीमा क्षति पुग्ने स्थानीय बताउँछन् । खोटाङको उत्तरी क्षेत्रका विद्यालयहरू पनि जाडोका कारण बन्द गरिएका छन् । ऐंसेलुखर्क गाउँपालिकाले ८ माविसहित २४ वटै विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । केपिलासगढी गाउँपालिकाले पनि विद्यालयहरू बन्द गरेको छ । ८ माविसहित ३७ विद्यालयमा दस दिनका लागि बिदा दिइएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए । राईले भने, ‘अब केही दिनपछि स्कुल लाग्छ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हिउँदे बिदा गरिएको छ । परीक्षा सकेर २१ माविसहित ९३ विद्यालय १५ दिनका लागि बिदा गरिएको उपप्रमुख विसन राईले बताए । ‘परीक्षा सकेर पुस १५ देखि १५ दिनका लागि बन्द गरिएको हो ।’ राईले भने, ‘मौसम ठिकठाक रहेमा मंगलबारदेखि नै लाग्छ ।’ हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुस १७ देखि १५ दिनको बिदा गरिएको छ । उक्त पालिकाको १४ माविसहित ४८ विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । खोटाङमा एक स्नातकोत्तर तहको पढाइ हुने दिक्तेल बहुमुखी क्याम्पसलगायत प्रायः सबै शैक्षिक संस्थाहरू बन्द छन् । यहाँ ४ सय ८६ वटा सामुदायिक, २८ संस्थागत विद्यालय र चार क्याम्पस छन् ।

पाँचथरमा जाडोले चार क्याम्पससहित सबै सामुदायिक र निजी विद्यालय बन्द छन् । विगतका वर्षमा हिउँदे छुट्टी नदिएका फिदिमका निजी विद्यालयले यो वर्ष पुस २९ देखि माघ ५ सम्म बिदा दिएका हुन् । ‘अचाक्ली चिसो बढेकाले प्याब्सनको बैठकले एक साता बिदा दिने निर्णय गरेको हो,’ फिदिमस्थित नयाँ नमुना माविका प्रिन्सिपल लक्ष्मीप्रसाद मिश्रले भने । विगतमा पुस २९ मा तेस्रो त्रैमासिक परीक्षा सकेर माघ १ देखि मात्रै बिदा दिने गरिएकोमा यस वर्ष चिसोकै कारण थप ५ दिन बिदा दिइएको उनको भनाइ छ । स्नातकोत्तर तहसम्म पढाइ हुने पाँचथर बहुमुखी क्याम्पससहित स्नातक तहसम्म पढाइ हुने थर्पु, यासोक र रवि क्याम्पस पनि बन्द भएका छन् ।

यस्तै पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने याङवरक र फालेलुङ गाउँपालिकाका सबै विद्यालय माघ १५ सम्मका लागि बिदा गरिएका छन् । ती पालिकाहरूले जाडो बढ्ने सिजनलाई मध्यनजर गरेर शैक्षिक क्यालेन्डरमा नै पुस १५ देखि १ महिनाको बिदा मिलाउने गरेका छन् । यहाँ सामुदायिक र निजीसहित उच्च शिक्षासम्म अध्ययन अध्यापन हुने विद्यालयको संख्या ४ सयभन्दा धेरै छ ।

प्रकाशित : माघ ३, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

क्रिटिक्स च्वाइसमा आरआरआर उत्कृष्ट

एजेन्सी

लस एन्जेल्स — ऐतिहासिक गोल्डेन ग्लोब अवार्ड जितेको केही दिनमा तेलगु फिल्म ‘आरआरआर’ ले अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ । अमेरिकाको लस एन्जल्समा आयोजित क्रिटिक्स च्वाइस अवार्डको २८ औं संस्करणमा ‘आरआरआर’ ले विदेशी भाषाको उत्कृष्ट फिल्म र ‘नाटु नाटु’ ले उत्कृष्ट गीतको अवार्ड प्राप्त गरेका छन् । 

आरआरआरको ‘नाटु नाटु’ गीतले केही दिनअघि गोल्डेन ग्लोब अवार्ड जितेको थियो । तर गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्म घोषित ‘अर्जेन्टिना १९८५’ लाई पछि पार्दै क्रिटिक्स च्वाइस अवार्ड भने ‘आरआरआर’ ले हात पारेको हो । ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ ले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । त्यस्तै, ‘द ह्वेल’ बाट ब्रेन्डन फ्रासर उत्कृष्ट अभिनेता र ‘टार’ बाट केट ब्लानचेटले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । ‘अवतार ः द वे अफ वाटर’ बाट जेम्स क्यामेरुन उत्कृष्ट निर्देशक बने ।

अवार्ड प्राप्त गरेपछि फिल्मका निर्देशक एसएस राजामौलीले ‘आफ्नी आमाको मार्गदर्शनका कारण’ आफू यहाँसम्म आइपुगेको बताएका छन् । ‘विद्यालय शिक्षालाई अनावश्यक बढाइचढाइ गर्ने गरिएको ठान्ने मेरी आमाले मलाई कमिक्स र कथाहरू पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो,’ उनले भनेका छन् । उत्कृष्ट फिल्मको सम्मानमा अमेरिकी–क्यानाडेली क्रिटिक्स च्वाइस एसोसिएसनले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको ट्वीटर पेजमार्फत आरआरआर र यसको निर्माण टिमलाई विदेशी भाषाको उत्कृष्ट फिल्म र गीतको अवार्ड जितेकोमा बधाई दिइएको छ । आरआरआरको सफलतासँगै भारतीय फ्यानहरूले खुसी मनाएका छन् । सामाजिक सञ्जालहरूमा उनीहरूले ‘देशका लागि गौरवको समय भएको’ लेखेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् १९२० मा बेलायती उपनिवेशबाट मुक्त हुन संघर्ष गरिरहेको भारतका दुई नायकलाई फिल्मले मुख्य कथावस्तु बनाएको छ । देशलाई स्वतन्त्र बनाउन संघर्ष गर्ने ‘राष्ट्रका हिरो’ का रूपमा राजामौलीले रामचरण र जुनियर एनटीआरलाई पर्दामा उतारेका हुन् । उपनिवेशबाट मुक्त हुन उनीहरूले गरेको संघर्षलाई फिल्मले नयाँ शैलीमा बुनेको छ ।

यसअघि ‘बाहुबली’ र ‘मागाधिरा’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक राजामौलीले यसपटक भने ‘राष्ट्रवाद’ मार्फत अन्तर्राष्ट्रिय सफलता पाउन सफल भएका छन् । भारतको महँगोमध्येको फिल्मलाई भारत र अन्य कतिपय देशका बक्स अफिसमा निकै ठूलो सफलता मिलेको जनाइएको छ । कतिपय हलिउडकर्मीले पनि फिल्मको खुलेरै चर्चा गर्ने गरेका छन् ।

‘नाटु नाटु’ गीतका कम्पोजर एमएम किरावानीले ओस्कार विजेता निर्देशक जेम्स क्यामेरुनसँगको तस्बिर ट्वीट गरेका छन् । ‘आफूलाई क्यामेरुनले दुई पटक फिल्म हेरेको बताएका’ किरावानीले ट्वीटमा उल्लेख गरेका छन् । त्यस्तै, बलिउड अभिनेत्री आलिया भट्टले पनि ‘क्यामेरुनले फिल्मको प्रशंसा गरेको’ बताएकी छन् । फिल्ममा आलियाले रामचरणको बाल्यकालको साथी तथा प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।

प्रकाशित : माघ ३, २०७९ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×