कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६२ वर्षपछि रंगियो चाँगुनारायण

तस्बिर : दीपक केसी

काठमाडौँ — विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा ६२ वर्षपछि रंगरोगन गरिएको छ । चाँगुनारायण मन्दिर विकास समितिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर (पुरातत्व विभाग) को अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रंगरोगन थालेको हो । मन्दिरमा रंगरोगनको काम अन्तिम चरणमा पुगेको र जेठ मसान्तभित्र सम्पन्न हुने समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।

राजोपाध्यायकाअनुसार २०१८ सालमा राजा महेन्द्रको पालामा चाँगुनारायण मन्दिरको रंगरोगन गरिएको थियो । ‘त्यो बेला (२०१८ साल) मा लगाइएको रंग अझै छ तर पटक–पटकको मन्दिर मर्मत तथा जीर्णोद्धार, परेवाले गर्ने फोहोर, घामपानीका कारण मेटिँदै गएको छ,’ उनले भने, ‘प्राकृतिक रंगको प्रयोग गरेका छौं, कुनै रासायनिक इनामेल लगाएको छैन ।’ पशुपतिनाथ, स्वयम्भू, जय बागेश्वरी लगायत मन्दिरहरुमा रंग भरेका कलाकार राजेन्द्र चित्रकारको नेतृत्वमा प्राकृतिक रंग लगाएको समितिले जनाएको छ ।

मन्दिर रंगरोगनका लागि समितिले ४४ लाख रुपैयाँ खर्चको लागत अनुमान गरेको छ । हालसम्म भक्तजनको सहयोगमा रंगरोगनको काम भइरहेको छ । रंगरोगनका लागि भक्तजनबाट करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको मूल पुजारी राजोपाध्यायले जानकारी दिए । ‘गत आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले चाँगुनारायण मन्दिरको रंगरोगनका लागि २५ लाख रुपैयाँ विनियोजन भएको थियो, ८ दिनभित्र काम सक्ने निर्देशनसहित बजेट निकासा हुने भएपछि समितिले अस्वीकार गर्‍यो,’ उनले भने, ‘उक्त बजेट फिर्ता गयो र चालु आर्थिक वर्ष ०७९/८० मा वाग्मती प्रदेश सरकारबाट १० लाख ८५ हजार ३२० रुपैयाँ मन्दिर रंगरोगनको लागि प्राप्त भएको छ ।’

राजोपाध्यायका अनुसार मन्दिर रंगरोगनका लागि भक्तजनमार्फत करिब २८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । चाँगुनारायण नगरपालिकाले मन्दिर रंगरोगनका लागि बजेट छुट्याएको बताए पनि हालसम्म प्राप्त नभएको समितिले जनाएको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुर र चाँगुनारायण नगरपालिकाको प्रतिनिधिको रोहबरमा रंगरोगन भइरहेको समेत जनाएको छ । ‘नयाँ रंगरोगन भएपछि ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको काष्ठकलाको सुरक्षित हुनेछ,’ मन्दिरका मूल पुजारी राजोपाध्यायले भने । रंगरोगनका लागि चाँगुनारायण नगरपालिकाले बजेट निकासा गर्ने निर्णय गरे पनि उपलब्ध नभएपछि समितिले भक्तजनलाई सहयोगको आह्वान गरेको र सहयोगी हातहरु जुटिरहेको जनाएको छ ।

मन्दिरको चारैतिर विभिन्न देवीदेवताका कलात्मक काष्ठकलाका मूर्तिहरु छन् । मन्दिरमा काठ, इँटा र प्रस्तर (ढुंगा) र धातुको प्रयोग गरी बनाइएको छ । मौलिक प्यागोडा शैलीमा निर्मित चाँगुनारायण मन्दिर मध्यकालमा राजाशिव सिंहकी रानी गंगारानी र १८ औं शताब्दीको सुरुमा कान्तिपुरका भाष्कर मल्लको शासनकालमा जीर्णोद्धार भएको थियो । त्यस्तै, २०६६ सालमा गाहरो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भइ जीर्णोद्धार भइसकेको छ । भूकम्पको कारण क्षतिग्रस्त मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माणको काम भइरहेको छ ।

चाँगुनारायण मन्दिरको लिच्छविकालीन राजा हरिदत्त वर्माले इशापूर्व ३२३ माबनाएको प्राचीन पुरातात्विक शिलास्तम्भ सहितको प्यागोडा शैलीको मन्दिर हो । उपत्यकाकै प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिने चाँगुनारायण मन्दिरलाई सन् १९६९ मायुनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने विदेशी पर्यटक प्रवेश शुल्क बापत नगरपालिकाले वार्षिक करिब साढे तीन करोड रुपैयाँ असुल्दै आएको छ भने मन्दिर संरक्षणको लागि भने खासै चासो देखाएको पाइएको छैन ।


प्रकाशित : जेष्ठ २६, २०८० १३:२२
प्रतिक्रिया
पठाउनुहोस्