कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सफल हुने कि खुसी ?

तिमीहरू मलाई बा भन्छौ । मेरो आग्रह छ– जीवनलाई सकारात्मकताले भर । दुःखको होइन, सुखको कल्पना गर । पीडाको होइन, आनन्दको याद गर । जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । पाइला कति अघि बढ्यो होइन, पाइला चालियो कि चालिएन भन्ने कुरा हेक्का गर । मेरो जीवन यही दर्शनमा बाँचेको छ ।

प्रिय छोराछोरी, 
गत महिनाको लेखमा मैले तिमीहरूलाई दुइटा प्रश्न सोधेर लेख टुंग्याएको थिएँ–‘ह्वाट मेक्स यू ह्याप्पी’ र ‘ह्वाट आर यू विलिङ टू फाइट फर ?’ मलाई लाग्छ, तिमीहरूले पहिलो प्रश्नमा अलि बढी नै घोत्लिनु जरुरी छ । मानसिक स्वास्थ्यलाई अबको अर्को ‘ग्लोबल पेन्डामिक’ भनेर विश्व स्वास्थ्य संगठनले नै औंल्याएको छ ।

सफल हुने कि खुसी ?

यस सन्दर्भमा ‘ह्वाट मेक्स मी ह्याप्पी’ भन्ने प्रश्न झन् महत्त्वपूर्ण भएर आएको छ । किनकि आफूलाई के कुराले खुसी बनाउँछ भनेर बुझियो भने मानसिक स्वास्थ्य आफैं राम्रो हुने अध्ययनहरूको निष्कर्ष छ ।

हुन त अंग्रेजी शब्द ‘ह्याप्पिनेस’ को अर्थ नेपालीमा दुईवटा लाग्छन्– सुखी र खुसी । मेरो विचारमा ‘ह्याप्पिनेस’ ले सुखीभन्दा खुसीलाई बढी प्रतिनिधित्व गर्छ । सुखीलाई समेट्ने अंग्रेजी शब्द नै भेट्दिनँ । खुसी क्षणिक हो, सुख स्थायी । खुसी फूलको थुँगा हो, सुख त्यसको माला । मानिसहरू खुसीलाई प्राप्तिसँग लगेर जोड्छन् । जाँचमा भनेजस्तो नम्बर आए खुसी हुन्छु ।

भनेजस्तो जागिर पाए खुसी हुन्छु । भिसा लागेपछि खुसी हुन्छु । पैसा कमाएपछि खुसी हुन्छु आदि इत्यादि । यस्तो लाग्छ, केही प्राप्त भएपछि खुसी हुँला भनेर मानिसहरू आफ्ना ससाना खुसीलाई थाती राख्छन् । यो मामिलामा युवापुस्ता झन् अगाडि छ । कामको सफलतामा लगेर खुसीलाई जोडिदिन्छ । पक्कै पनि सफलतामा खुसी जोडिएको हुन्छ । तर अनुसन्धानहरूले के देखाएका छन् भने सफलता पाएपछि मानिस खुसी हुने होइन बरु खुसी भएपछि सफलता पाइन्छ । सफल भएर खुसी हुने हो कि खुसी भएर सफल हुने ?

‘ह्वाट मेक्स यू ह्याप्पी ?’

मैले दोस्रो पटक मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने निधो गरें । त्यसका लागि अस्पताल जाने तरखरमा लागें । मलाई लाग्यो, उपचार जानेका डाक्टर छन् । त्यहाँ उपकरण छ । औषधि छ । रोग लागेपछि त उपचार गराउन पाउनु खुसीको कुरा हो । म खुसी थिएँ । तर यसो हेर्छु– मेरा आफन्त र शुभचिन्तकको अनुहार मलिन छ । मलाई लाग्यो, यिनीहरूले मनमा अर्कै कथा बनाए । मनमा बनाएको त्यही कथाका कारण उनीहरू अलि बढी आत्तिए । त्यसैले अस्पताल जानुअघि मैले एउटा भिडियो सन्देश रेकर्ड गराएँ । मैले भनेको थिएँ, ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी म पनि हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर अलप हुन्नँ ।’ नभन्दै मिर्गौला प्रत्यारोपण गरेर सकुशल घर फर्किएँ ।

यही घटनालाई नै नियालौं । म नेपालमै उपचार गर्न पाएँ भनेर खुसी थिएँ । तर मेरा आफन्त र शुभचिन्तक उपचार गर्दा केही होला कि भनेर दुःखी थिए । म अप्रेसनअघि पनि खुसी थिएँ, अप्रेसनपछि पनि । तर अरू अप्रेसन सफल भएपश्चात् मात्र खुसी भए । मलाई लाग्छ, कुनै पनि घटनाको व्याख्या हामी आफैंसँग कसरी गर्छौं, आफैंसँग कस्तो कथा भन्छौं, त्यसले हामी खुसी हुने कि दुःखी भन्ने कुरा निर्धारण गर्छ ।

तिमीहरूलाई मेरो एड्भाइस– ‘मेक योर वन न्यारेटिभ पोजेटिभ’ ।

हाम्रै नेपालमा खप्तड बाबा (सच्चिदानन्द सरस्वती) भन्ने एक आध्यात्मिक चिन्तक हुनुहुन्थ्यो । निधन (२०५३ वैशाख) हुनु केही वर्षअघि मैले उहाँसँग दुई घण्टाजति सत्संग गर्ने अवसर पाएको थिएँ । उहाँको अभिव्यक्ति–शैली एकदमै काव्यात्मक थियो । सतायु प्राप्त गरिसक्दा पनि स्मरणशक्ति र निष्णात विद्वता कायमै थियो । त्यसबाट म आश्चर्यचकित भएको थिएँ । त्यतिको व्यवस्थित ज्ञान मैले कमै मानिसमा महसुस गरेको छु । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड लेकमा आधा शताब्दी गुजार्नुभएका ती साधुको ‘विचार विज्ञान’ नामक प्रख्यात पुस्तक छ । त्यसमा उहाँ भन्नुहुन्छ— ‘तिमी जे सोच्छौ, त्यस्तै बन्छौ । राम्रो सोच्यौ भने राम्रो परिणाम प्राप्त हुन्छ । नराम्रो सोच्यौ भने परिणाम नराम्रो आउँछ । तिम्रो विचार नै तिमी हौ ।’

हिजोआज पश्चिमा मुलुकहरूमा ‘ल अफ एट्रयाक्सन’ (आकर्षणको नियम) निकै चलनचल्तीमा छ । मलाई त खप्तड बाबाबाटै प्रभावित भएर यो नियम बनाएँ कि जस्तो लाग्छ । नेपालमै पनि धेरै युवाले ‘ल अफ एट्रयाक्सन’ लाई फलो गरेको देख्छु । ‘मेनिफेस्ट’ गर्ने अभ्यास गरेको देख्छु । बेलायती कवि जोन मिल्टनले आफ्नो महाकाव्य ‘प्याराडाइज लस्ट’ मा भनेका छन्, ‘मानिसको दिमाग यस्तो ठाउँ हो, जसले स्वर्गलाई नर्क, नर्कलाई स्वर्ग बनाइदिन्छ ।’ म स्वर्ग र नर्कलाई फगत फिक्सनका रूपमा बुझ्छु । हामी अक्सर यस्तै फिक्सनबाट गुज्रिन्छौं । तसर्थ तिनका अमूर्त चित्रलाई मूर्तरूप दिँदै जान्छौं ।

यहाँ म तिमीहरूले जिन्दगीमा कहिल्यै नदेखेका पात्रको नाम लिन्छु । तिमीहरूलाई तिनको अनुहार र पहिरन आफ्ना बुबाआमाको भन्दा सर्लक्क आउँछ । जस्तोः शिवजी, चित्र आयो ? सीता माता, चित्र आयो ? भगवान् राम, चित्र आयो ? श्री कृष्ण, चित्र आयो ? सधैं भेटेका मान्छेभन्दा कहिल्यै नभेटेका पात्रको अनुहार स्पष्ट आउनुको कारण के हो ? यसको कारण हो, हामीले बनाएको कथा । हामीले बनाएको ‘न्यारेटिभ’ । खोलाको बगरमा लडिरहेको एउटा ढुंगा मूर्तिकारले घरमा ल्याउँछ । ढुंगामाथि चढेर टुकटुक खोप्छ । ढुंगालाई मूर्तिमा परिणत गर्छ अनि मूर्तिलाई

भगवान्मा । त्यसमा प्राणप्रतिष्ठा गरेपछि उसले अगरबत्ती बाल्छ, फूल–अक्षता चढाउँछ । नरिवल फोड्छ । ध्वजापताका लगाउँछ । भजन गाउँछ– प्रभुको लीला अपरम्पार... । अनि आफैं त्यो ढुंगासँग वरदान माग्छ । उसले भनेको भगवान् फगत ‘फिक्सन’ हो । यस्ता कथा त हामी दैनिक रूपमा दिमागभित्र कति बनाउँछौं कति चाहिनेभन्दा नचाहिने धेरै । सकारात्मकभन्दा नकारात्मक धेरै ।

भनिन्छ– एक दिनमा मानिसको दिमागमा ६ हजारभन्दा बढी सोचाइ आउँछन् । तीमध्ये अधिकांश मानिसको सोचाइ नकारात्मक विचारले भरिएको हुन्छ । अनि जीवन कसरी राम्रो हुन्छ त ? विचार भनेको जिन्दगीको इन्धन हो, इन्धन नै खराब हालेपछि जीवनको गाडी कसरी सहज हुन्छ त ?

तिमीहरू मलाई बा भन्छौ । मेरो आग्रह छ– जीवनलाई सकारात्मकताले भर । दुःखको होइन, सुखको कल्पना गर । पीडाको होइन, आनन्दको याद गर । जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । पाइला कति अघि बढ्यो होइन, पाइला चालियो कि चालिएन भन्ने कुरा हेक्का गर । मेरो जीवन यही दर्शनमा बाँचेको छ ।

आर्थिक वर्ष २०७५/७६ को कुरा हो । मैले तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई युवा उद्यमी प्रोत्साहन कार्यक्रम ल्याउन सुझाएँ । त्यसैअनुसार २ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई कर्जा दिन ५० करोड रुपैयाँ विनियोजन गरियो । हाम्रो प्रणाली यही हो, काम समयमै भएन । अस्ति भर्खर समाचार पढें– उद्योग मन्त्रालयले नवीन व्यवसाय गरिरहेका र गर्न चाहनेलाई कर्जा, बीउ पुँजी उपलब्ध गराउन स्टार्टअपलाई कर्जा दिने काम सुरु गर्ने भएछ । यसका लागि १८३ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएछन् । त्यतिबेला हामीले ल्याएको कार्यक्रमले गति कम लियो होला । नीति बनाएको कुरा कार्यान्वयनमा आउन समय लाग्यो होला । हामीले त्यसलाई अघि बढाइरह्यौं ।

उद्योगमन्त्री दामोदर भण्डारीको नेतृत्वमा रहेको मन्त्रालयले अहिले आएर कार्यक्रम अघि बढायो । यसले धेरै स्टार्टअप उद्यमीलाई आशा भर्नेछ । मैले हिजोआज हरेक स्थानीय तहलाई उद्यमशीलतामा क्रियाशील हुन घचघच्याइरहेको छु । मेरो जोड पालिकाहरूले कसरी उद्यमशीलताको विकास गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सक्छन् भन्नेमा छ । तनहुँको भिमाद नगरपालिकाले यस्तै प्रयास गरेको थाहा पाएँ । बजारमा आयातित साबुनको वर्चस्व भइरहेका बेला भिमादले आफ्नो नगर सरहदभित्र साबुन विस्थापन गर्ने नीति बनाएको रहेछ । यसका लागि उसले महिलालाई उद्यमशीलतामा जोडिरहेको छ । मातृशक्ति नामक सर्फ उद्योगमार्फत महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने यो कार्यक्रम निकै लोकप्रिय भएको छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सके त्यसले त्यहाँको जनतामा खुसी ल्याउन पक्कै सहयोग पुर्‍याउनेछ ।

अन्त्यमा, आफ्नै अनुभवका आधारमा सधैं खुसी हुने केही कुरा सेयर गर्न चाहन्छु । सधैं प्रसन्नचित्त राख । असम्भव र अनुचित आकांक्षा नराख । दिमागमा अहंकार आउन नदेऊ । आफूमा विश्वास राख ।

आफ्नो हीनताबोधी ग्रन्थि नै हटाइदेऊ । तिमी गर्न सक्छौ । लक्ष्य बनाएर अघि बढ । म सक्छु भन्ने सोचाइले तिमीलाई प्रगतिको बाटोमा लैजान्छ । र तिमीलाई खुसी बनाउँछ । साथीभाइ र परिवारसँग समय बिताऊ । सकेको अरूलाई मद्दत गर । सबैभन्दा ठूलो कुरा आफूसँगको सम्बन्ध सुमधुर बनाऊ ।

जे काम गर्छु भनेर सोचेका छौ, त्यो गर्‍यौ भने त्यो दिन तिमी कति खुसी हुन्छौ ? यो पनि विचार गर, जुन दिन गर्छु भनेको काम गरेनौ, त्यो दिन निकै बेखुसी हुन्छौ । त्यसैले खुसी हुनका लागि आफैंसँगको सम्बन्ध राम्रो हुनु जरुरी छ जसलाई अंग्रेजीमा ‘सेल्फ इमेज’ भनिन्छ । तिम्रो आफैंसँगको सम्बन्ध तब मात्र राम्रो हुन्छ, जब तिमी आफूले गर्छु भनेको काम पूरा गर्छौ ।

तिमी खुसी भए देश सुखी हुनेछ । जसरी तिमी खुसी हुन तिमीले गर्छु भनेको काम गर्नुपर्छ, त्यसैगरी देश सुखी पनि देशले गर्छु भनेको काम पूरा गर्नुपर्छ । मेरो ध्यान यसैमा केन्द्रित छ । आखिर ‘समृद्ध नेपाल, सुखी नेपाली’ त बनाउनु नै छ ।

केपी शर्मा ओलीका अन्य लेखहरू पढ्नुहोस् :

प्रकाशित : असार ३, २०८१ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?