कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

शिशु कक्षाका सिकाइ तरिका

शिक्षक तथा अभिभावकमा बालबालिकाको प्रारम्भिक शिक्षण सिकाइका आधारभूत सीपबारे ज्ञान नहुँदा सिक्ने सिकाउने प्रक्रिया जटिल बनिरहेको छ ।
मधु राई

बालविकास कक्षाका आशिष साहलाई ससाना बेल्ना र चौकीमा रोटी बेल्न मन पर्छ । सोही कक्षाकी माही मुखियालाई प्लास्टिकका ससाना सिसी र बोतलमा सुजी भर्न मन पर्छ । यसरी रोटी बेल्ने र सुजी भर्ने क्रियाकलाप गर्न थालेपछि उनीहरूले समय बितेको पत्तै पाउँदैनन् ।

शिशु कक्षाका सिकाइ तरिका

केहीबेर यस्ता खेल खेलिसकेपछि हामी शिक्षक ‘अब हामी रङ भर्ने’ भन्दै उनीहरूकै सादा कापीमा विभिन्न आकारप्रकार बनाएर मैनबाट बनेको रंगीविरंगी कलमले रङ भर्न थाल्छौं । बाल स्वभाव न हो एक जनाले रङ भर्न थालेपछि ‘म पनि, म पनि म्याम’ भन्दै कापी र कलम लिन सबै जना तँछाडमछाड गर्न थाल्छन् ।

केही दिन यसरी रङ भर्ने क्रियाकलाप गरिसकेपछि हामी शिक्षक उनीहरूकै कापीमा थोप्ला जोड्न थाल्छौं । यसो गर्न थालेपछि तोतेबोलीमै ‘म आपै’ भन्दै कापी खोस्न थाल्छन् । यसरी थोप्ला जोड्ने अभ्यास गर्दागर्दै उनीहरूले सीधाबाङ्गा धर्सा कोर्न सिक्छन् । अनि त सहजै रूपमा अक्षर कोर्न थाल्छन् । अक्षरारम्भअघि गरिने यस्ता अभ्यासले साना विद्यार्थीलाई अक्षर कोर्न अभिप्रेरित गर्छ । साथै, सहजै रूपमा उपलब्ध हुने आँटा र सुजीजस्ता खेल सामग्री तथा रङ भर्ने क्रियाकलापले उनीहरूको हातका अविकसित मांसपेशी बलियो हुँदै जान्छन् ।

सरस्वती पूजाको अवसर पारेर अभिभावकले ससाना छोराछोरीलाई विद्यालय भर्ना गरेका छन् । अक्षरारम्भपूर्व ती विद्यार्थीलाई के कस्ता आधारभूत सीप र वातावरण तयार गर्नुपर्छ भन्ने विषयमा अधिकांश विद्यालय र शिक्षक अनभिज्ञजस्तै देखिन्छन् । कतिपय एक्लो सन्तान एकलकाँटे स्वभावका हुन्छन्, उनीहरूलाई सबैभन्दा पहिले सामाजिकीकरणका आधारभूत सीप सिकाउनुपर्ने हुन्छ । कतिपय बालबालिका साथीलाई शत्रु सम्झन्छन्, छेउ पर्नेबित्तिकै धकेलाधकेली गर्न थाल्छन् । अधिकांश बालबालिका खेल सामग्री बाँडेर खेल्न चाहँदैनन् । अरूको खानेकुरा मज्जाले खान्छन्, आफ्नो दिनुपरे रुन थाल्छन् । केही महिना बालविकास कक्षामा अन्य क्रियाकलापसँगै आधारभूत सीप सिकाएपछि मात्रै यस्ता बालबालिका बल्ल माथिल्लो कक्षाका लागि तयार हुन्छन् ।

शिक्षक तथा अभिभावकमा बालबालिकाको प्रारम्भिक शिक्षण सिकाइका आधारभूत सीपबारे ज्ञान नहुँदा सिक्ने सिकाउने प्रक्रिया जटिल बनिरहेको छ । कतिपय अभिभावकले ‘कति महिना भयो अझै क लेख्न सक्दैन’ भन्दै गुनासो गरेको सुनिन्छ । कतिपय अभिभावक त विद्यालय भर्ना गरेको भोलिपल्टै ‘आज लेखाउनुभएन त म्याम !’ भनेर सोधिखोजी गर्छन् । पछिल्लो समय केही शिक्षित अभिभावकले भने ‘लेख्न, पढ्न हैन, खेल्न मात्र पठाएको’ भन्न थालेका छन् । यसरी आफ्ना छोराछोरीको उमेरअनुसारको बालमनोविज्ञान बुझ्ने अभिभावक औंलामा गन्न सकिन्छ । शिशु कक्षाका बालबालिकाको उमेर, रुचि र परिवेशले गर्दा पनि उनीहरूको सिकाइमा एकरूपता देखिँदैन ।

तीन दशकअघिको मेरो भोगाइ आजका अभिभावकहरू भोग्न अभिशप्त छन् । तिनताक तीन वर्ष केही महिना पुगेको छोरालाई विद्यालय भर्ना गरेको भोलिपल्ट चटक्क छाड्नुपरेको थियो । यसरी रुँदै कराउँदै गरेको छोराको पीडाले मलाई दिनभरि नै पिरोल्थ्यो । हुन पनि चार महिनासम्म पनि छोराको रुवाइ नरोकिएपछि मैलै जागिर नखाने निर्णय गरेँ र केही समयपछि पूर्वप्रावि विद्यालय स्थापना गरेँ । पहिलो पटक आमाको न्यानो काख चटक्कै छोड्नुपर्दा ती ससाना बालबालिकाले आफूलाई असुरक्षित महसुस गर्छन् ।

अपरिचित ठाउँ र मानिसको हूलमा आफूलाई एक्लो महसुस गरी धेरैबेर रुने विद्यार्थीको मनोभाव बुझी शिक्षकले नै समन्वयकारी भूमिका निर्वाह गर्न जरुरी छ । ससाना विद्यार्थीका लागि विद्यालय भनेको दोस्रो घर हो, जहाँ उनीहरूलाई आफ्नो घरमा जस्तै खेल्न मन पर्छ । विद्यालयमा राम्ररी घुलमिल हुन थालेपछि कतिपय बालबालिका बिरामी हुँदा वा बिदाको दिन पनि विद्यालय आउन खोज्छन् । दोस्रो घर भनेको नौलो परिवेश हो, जहाँ उनीहरूले नयाँनयाँ खेल सामग्रीसँगै विभिन्न उमेर समूहका तथा विभिन्न धर्म, वर्ग, समुदाय र जातजातिका साथीसंगी भेट्छन् ।

सहरबजारका बहुसंख्यक हुने खाने अभिभावकले आफ्ना छोराछोरीलाई ज्ञानबर्द्धकभन्दा पनि प्लास्टिकका महँगा खेल सामग्री किनेर दिन्छन् भने हुँदा खाने अभिभावकले खेल सामग्रीबारे सोच्न पनि सक्दैनन् । शिशु कक्षाका बालबालिकालाई भान्सामा सहजै उपलब्ध हुने खेल सामग्री जस्तै आँटा र सुजीबाहेक प्लास्टिकका बोतल पनि खेल सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । उमेर र रुचिअनुसारका सामग्रीले साना विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पछिल्लो समय सहरी क्षेत्रका बहुसंख्यक निजी विद्यालयले पूर्वप्रावि तहमा मन्टेश्वरी विधि अपनाउन थालेका छन् ।

हामीकहाँ अझै पनि बालमनोविज्ञानलगायत बालबालिकाको प्रारम्भिक शिक्षण सिकाइबारे त्यति धेरै अध्ययन अनुसन्धान भएको पाइँदैन । न्युजविक पत्रिकामा ‘योर चाइल्ड्स ब्रेन’ अर्थात् ‘तपार्इंको बालकको दिमाग’ भन्ने शीर्षकको लेख छापिएको थियो । जसमा बालकको दिमागसम्बन्धी चाखलाग्दा र उपयोगी कुरा उल्लेख गरिएको छ । यस्तै, युनिसेफ नेपालले उक्त लेखमा वर्णन गरिएका कुरा नेपाली अभिभावकलाई पनि उपयोगी हुने ठानी हातेपुस्तिका नै ल्याएको थियो ।

सोमराज आचार्यद्वारा अनुदित उक्त पुस्तिकाअनुसार कुनै पनि व्यक्तिका लागि उसको बाल्यकाल ज्यादै महत्त्वपूर्ण हुन्छ । यस्तै बाल्यकालका अनुभव, अभिभावक र शिक्षकहरूको व्यवहार अर्थात् समष्टिमा हुर्कने वातावरणले भावी व्यक्तित्व विकासमा भूमिका निर्वाह गर्छ । शिशु कक्षाको प्रारम्भिक शिक्षण सिकाइ बालमैत्री तथा रमाइलो बनाउन पनि शिक्षकलगायत अभिभावकले यस्ता अवधारणा आत्मसात् गर्न जरुरी छ ।

प्रकाशित : चैत्र २, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?