कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शिक्षक-अभिभावक सम्बन्धको प्रतिफल विद्यार्थीमा

मधु राई

निशा पुरी यूकेजी पढ्ने छोरीलाई पढाइलेखाइमा मात्रै हैन, विद्यालयले दिने गरेको अतिरिक्त क्रियाकलापमा पनि सहयोग गर्छिन् । बेलाबखत उनी छोरीले गृहकार्य गर्दै गरेको, बालचित्रकथाका पुस्तक कनीकुथी पढ्दै गरेको तस्बिर र भिडियो शिक्षक–अभिभावक समूहमा पोस्ट गर्छिन् ।

शिक्षक-अभिभावक सम्बन्धको प्रतिफल विद्यार्थीमा

शिव खड्का शिशु कक्षा पढ्ने छोरालाई नियमितजसो गृहकार्य गर्न, चित्रमा रङ्ग भर्न सघाउँछन् । उनी हामी शिक्षकहरूलाई छोराले घरमा गर्ने अतिरिक्त क्रियाकलापबारे सुनाइरहन्छन् ।

यसरी चासोचिन्ता गर्ने अभिभावकका छोराछोरी पढाइलेखाइमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुने गर्छन् । शिक्षक तथा अभिभावकबीचको यस्तो सम्बन्धले विद्यार्थीमा सकारात्मक प्रभाव पार्छ ।

दुई दशकअघि मैले विद्यालय सञ्चालन गर्दाताकाका केही पूर्वसहयोगी अभिभावक आज मेरा सहकर्मी बनेका छन् । कर्मचारीका रूपमा पनि मेरा तिनै पूर्वअभिभावकले साथ–सहयोग गरिरहेका छन् । विद्यालयरूपी भवनका तीन खम्बा भनेकै शिक्षक, विद्यार्थी र अभिभावक हुन् । शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउँछ । विद्यालयका लागि अभिभावकको भूमिका अतुलनीय हुन्छ ।

तर निरक्षर र साक्षर अभिभावकको के कुरा गर्नु, कतिपय पढेलेखेका अभिभावक नै कार्यव्यस्तताले आफ्ना छोराछोरीको पढाइलेखाइबारे त्यति संवेदनशील देखिँदैनन् । कतिपय अभिभावक बाटाघाटामा परैबाट तर्किन्छन् । बहुसंख्यक यस्ता अभिभावक ‘छोराछोरीलाई विद्यालय पठाए पुगिहाल्छ’ भन्ने सोच्छन् । त्यसो त

कतिपय विद्यालय सञ्चालक र शिक्षक पनि बाटाघाटामा अभिभावक तथा विद्यार्थीसँग भेट हुँदा नचिनेझैं गर्छन् । खासमा विद्यार्थीका लागि घरपरिवार र विद्यालय भनेका सामाजिकीकरणको पाठ सिक्ने पहिलो थलो हुन् भने अभिभावक र शिक्षक ती पाठ सिकाउने पहिलो गुरु । सामाजिकीकरणको पाठसँगै विद्यालयमा कक्षाकार्य गराउने पहिलो कर्तव्य शिक्षकको हो भने गृहकार्य गराउने अभिभारा अभिभावकको हो । यस्ता आधारभूत कुराप्रति कतिपय अभिभावक संवेदनशील नहुँदा विद्यार्थीका लागि पढ्नेलेख्ने काम नै बोझ बन्न पुगेको छ । यसो हुँदा विद्यार्थीका लागि माथिल्लो कक्षाको पढाइ झनै नीरस बन्दै जान्छ । त्यसो त वर्तमान समयमा बहुसंख्यक विद्यार्थीलाई स्कुले शिक्षा बोझ लाग्नुका अनेकौं कारणमध्ये एउटा निष्क्रिय शिक्षणसिकाइ पनि हो ।

यस्तो निष्क्रिय शिक्षणसिकाइबाट विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव छैन । यस्तो निष्क्रिय शिक्षणसिकाइमा अभिभावकको भूमिका शून्यजस्तै हुन्छ । यस्तै कतिपय कारणले पनि वर्तमान शिक्षा पढाइलेखाइमा मात्र सीमित हुन पुगेको छ । पूर्व प्राविदेखि मावि तहको शिक्षा नै पढाइलेखाइमा सीमित हुन पुगेपछि अभिभावक पनि आफ्ना छोराछोरी सधैं पढेरलेखेर बसून् भन्ने चाहन्छन् । शिक्षकहरू पनि अभिभावकका यस्तै चाहना पूरा गर्न कम्मर कसेर लागिपरेका छन् । पछिल्लो समय स्थापित र नाम चलेका विद्यालयहरूमा साना विद्यार्थीलाई समेत ट्युसन पढाउने चलन बढेको छ । ट्युसनका भरमा कक्षा छिचोल्ने विद्यार्थीमा परनिर्भरता बढ्दै जान्छ भनी अभिभावकले बुझेको देखिँदैन ।

ट्युसनका भरमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी पढाइलेखाइमा राम्रो भए पनि सर्वाङ्गीण विकासमा पछाडि हुन सक्छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि स्कुले शिक्षालाई समयसापेक्ष र फलदायी बनाउन अभिभावकलाई पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी गराउनुपर्छ । पूर्वप्रावि र प्रावि तहको पढाइलेखाइ मात्र हैन, समग्र सिकाइ नै रुचिकर र प्रभावकारी बनाउन अभिभावक र शिक्षकबीच सुमधुर सम्बन्ध हुनुपर्छ ।

अमेरिकास्थित नेब्रास्का लिङ्कन विश्वविद्यालयले गरेको पछिल्लो अध्ययनअनुसार, शिक्षक र अभिभावकबीचको सुमधुर सम्बन्धले विद्यार्थीको सिकाइ दर मात्र बढ्दैन, समग्र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पर्छ । शोधकर्ताहरूले पूर्वप्रावि तथा प्रावि तहमा शिक्षक–अभिभावक सुमधुर सम्बन्ध बनाउन सञ्चार, स्थिरता र सहकार्यको महत्त्वपूर्ण भूमिका हुने औंल्याएका छन् । खास गरी बहुसंख्यक शिक्षकले अभिभावकलाई विद्यार्थीका राम्रा कुराभन्दा पनि गुनासा मात्र सुनाउँछन् । अमेरिकन फेडरेसन अफ टिचर्सको पछिल्लो अध्ययनले शिक्षकले अभिभावकसँग सुमधुर सम्बन्ध राख्न विद्यार्थीका बारेमा सकारात्मक कुरा पनि सुनाउनुपर्नेमा जोड दिएको छ । शिक्षकबाट आफ्ना छोराछोरीका बारेमा राम्रो कुरा सुन्न पाउँदा अभिभावकहरू विद्यालय र शिक्षकप्रति सकारात्मक हुँदै जान्छन् । अभिभावक विद्यालय र शिक्षकप्रति सकारात्मक हुनु भनेको समग्र सिकाइ नै फलदायी र प्रभावकारी हुनु हो ।

आफ्ना छोराछोरीको पढाइलेखाइ मात्र हैन, सिकाइ रमाइलो र दिगो बनाउन दुवै पक्षको सहकार्य फलदायी हुन्छ । बाल्यकालदेखि किशोरावस्थासम्म हासिल गरिने शिक्षालाई उत्पादनमूलक बनाउन सर्वप्रथम पूर्वप्रावि र प्रावि तहको शिक्षणसिकाइमा अभिभावकहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी गराउनुपर्छ ।

युनिसेफ नेपालको सन् १९९९ को ‘विश्वका बालबालिकाको अवस्था’ शीर्षक प्रतिवेदनमा पूर्वप्रावि तथा प्रावि तहका बालबालिकाको सामाजिक, बौद्धिक, भावनात्मक र शारीरिक विशेषता निर्माण यही अवधिमा हुन्छ र त्यसपछिको जीवनमा पनि महत्त्वपूर्ण हुन्छ भनिएको छ । हामीकहाँ अझै पनि स्कुले शिक्षालाई कसरी प्रभावकारी र समयसापेक्ष बनाउन सकिन्छ भनेर त्यति अध्ययन–अनुसन्धान हुन सकेको छैन ।

पूर्वप्रावि तथा प्रावि तहका विद्यार्थीको सर्वाङ्गीण विकास पढाइलेखाइले मात्र सम्भव हुँदैन । उनीहरूको सामाजिक, बौद्धिक, भावनात्मक र शारीरिक विकासलाई ख्याल गर्दै सिकाइ सहज र रमाइलो बनाउन सर्वप्रथम शिक्षकले नै सक्रिय शिक्षणसिकाइको थालनी गर्नुपर्छ । यस्तो शिक्षणसिकाइमा अभिभावकको पनि अप्रत्यक्ष साथ–सहयोग चाहिन्छ । उदाहरणका लागि, शिक्षकले तरकारी, फलफूललगायतका बोटबिरुवाका बारेमा पढाउँदा विद्यार्थी उत्साहित हुने गर्छन् । यस्तो बेला कतिपय विद्यार्थीले ‘मेरो पनि घरको करेसाबारी र कौसीमा यस्तै तरकारी र फलफूल छ’ भनेर थप्ने गर्छन् । बिहान–बेलुकी भान्सामा उपलब्ध तरकारी ल्याउनेजस्ता गृहकार्य दिँदा अभिभावकले पठाएर सहयोग गर्न सक्छन् ।

यस पालि मैले एलकेजी र यूकेजीका विद्यार्थीलाई जाडोको छदिने बिदामा अभिभावकको रोहबरमा प्लास्टिकका सानाठूला बोतलमा धनियाँ, पुदिना र मूलाका बिरुवा हुर्काउने परियोजना कार्य दिएकी छु । अभिभावकको रोहबरमा दिइने परियोजना कार्यले एकातिर विद्यार्थीलाई उत्साहित बनाउँछ, अर्कातिर शिक्षक–अभिभावक सम्बन्ध पनि प्रगाढ बनाउँछ । यसो हुँदा अभिभावकले पनि जिम्मेवारी बोध गर्छन् । पछिल्लो समय कतिपय विद्यालयले सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्दै आएका छन्, तर यिनलाई शिक्षणसिकाइको माध्यम बनाउन सकेका छैनन् ।

शिक्षकहरूले नेपाली तथा अंग्रेजी भाषा सुधार्न बेलाबेला यस्ता सामाजिक सञ्जालमार्फत बालचित्रकथाका फोटासहितका पाना पठाउन सक्छन् । सचेत अभिभावकले छोराछोरीलाई ती सामग्री पढाउन सक्छन् । समग्रमा स्कुले शिक्षाको प्रारम्भिक खुड्किला अर्थात् पूर्वप्रावि र प्रावि तहको शिक्षणसिकाइ प्रभावकारी र समयसापेक्ष बनाउन पनि शिक्षकले अभिभावकलाई सारथि बनाउनुपर्छ ।

प्रकाशित : माघ ११, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?