कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विज्ञान बगैंचाबाट प्रभावकारी सिकाइ

मधु राई

बालविकास र शिशु कक्षाका विद्यार्थीलाई पत्रपत्रिका च्यात्न मन पर्छ । हामी शिक्षकहरू उनीहरूलाई बेलाबेला पत्रिका पट्याउन सिकाउँछौं । एलकेजी र यूकेजीका विद्यार्थीलाई पत्रपत्रिकाबाट कहिले डुंगा त कहिले हवाईजहाज बनाउन सिकाउँछौं, गर्मीयाममा यस्ता कागजबाट हातेपङ्खा बनाउन सिकाउँछौं ।

विज्ञान बगैंचाबाट प्रभावकारी सिकाइ

उनीहरूले कनीकुथी चिनेका नेपाली र अंग्रेजीका शब्द खोजेर गोलो घेराभित्र राख्न सिकाउँछौं । शिशु कक्षाका विद्यार्थीलाई सानाभन्दा ठूल्ठूला अक्षरमा गोलो लगाउन सिकाउँछौं । यस्ता क्रियाकलाप गरिसकेपछि काम नलाग्ने कागजका टुक्रा चार–पाँच दिन भिजाएर त्यसबाट अर्को शैक्षिक सामग्री बनाउँछौं । अभिभावकलाई पनि बेलाबेला यसबारे अभिमुखीकरण कार्यक्रम गर्छौं । कागजबाट बनेका शैक्षिक सामग्रीले प्लास्टिक र काठबाट बनेका सामग्रीलाई थोरै भए पनि विस्थापित गर्दै लगेका छन् । यस्ता काम नलाग्ने कागजबाट कक्षाकोठामा फोहोर र शैक्षिक सामग्री राख्ने भाँडा तथा कार्यालय प्रयोजनका सामग्री पनि बनाउँछौं ।

दुई महिनाअघि यूकेजीमा फलफूलबारे पाठ पढाउने क्रममा मैले विद्यार्थीलाई केरा, आँप र नासपाती चखाएँ । तरकारीको नाम लेख्न र चिनाउन कक्षामा तरकारी लिएर गएँ । विद्यार्थीलाई पनि भान्सामा पाक्ने तरकारी ल्याउन भनें । कतिपय अभिभावकले तरकारी पठाएर सहयोग गरे । त्यस्ता अभिभावकलाई मैले घरमा पनि चिनाइदिन आग्रह गरें । त्यसपछि आफूले ल्याएका तरकारीको नाम भन्न विद्यार्थीबीच तँछाडमछाड चल्यो । उनीहरूमा निर्धक्क बोल्ने बानीसमेत विकास हुँदै गयो । उनीहरूलाई नजिकैको पसल लगेर समेत तरकारी चिनाएँ । उनीहरूलाई बेलाबेला कौसी र करेसाबारीमा लगेर पनि तरकारी र फलफूलका बोटबिरुवा देखाउने गरेकी छु ।

सहरबजारका कतिपय निजी विद्यालयले साना कक्षामा मन्टेसोरी विधि अपनाउन थालेका छन् । शैक्षिक सामग्रीका रूपमा भने अधिकांशले प्लास्टिक तथा काठका सामग्री प्रयोग गर्छन् । माथिल्लो कक्षामा त्यस्ता शैक्षिक सामग्री प्रयोग गर्न छाड्छन् । कक्षा उक्लँदै जाँदा अझ बढी शैक्षिक सामग्री सहितको शिक्षण सिकाइ गर्नुपर्ने हो तर विद्यालय र शिक्षक स्वयंले यसबारे चासो नराखेपछि पुस्तकको सैद्धान्तिक सिकाइ मात्र हुने गरेको छ । स्कुले शिक्षा हासिल गरेका बहुसंख्यक विद्यार्थीले लसुन र प्याजको पात चिन्दैनन् ।

के निजी, के सामुदायिक, बहुसंख्यक विद्यालयले शैक्षिक सामग्री सहितको शिक्षण सिकाइलाई महत्त्व दिएको पाइँदैन । यो शिक्षकको रुचि, योग्यता र पृष्ठभूमिसँग प्रत्यक्ष जोडिएको छ । सैद्धान्तिक शिक्षा मात्र हासिल गरेका कतिपय विद्यालय सञ्चालक, प्रधानाध्यापक तथा शिक्षकले शैक्षिक सामग्रीको महत्त्व बुझेका हुँदैनन् । तर केही निजी विद्यालयले साना कक्षामा मात्र हैन, माथिल्ला कक्षामा समेत शैक्षिक सामग्रीसहितको शिक्षण सिकाइ गर्न थालेको धेरै भयो । कतिपय विद्यालय, विश्वविद्यालयले स्वदेशी तथा विदेशी शिक्षक बोलाएर यसबारे अभिमुखीकरण र छोटो अवधिको तालिमसमेत सञ्चालन गर्छन् । तर बहुसंख्यक विद्यालयले यस्ता विषयप्रति चासो राख्दैनन् ।

शैक्षिक सामग्रीबिनाको स्कुले शिक्षा अपूरो हुन्छ भनेर मन्टेसोरी विधि सुरु गरेकी मारिया मन्टेसोरीको अभियान र पद्धतिबारे वर्तमान शिक्षाका सरोकारवाला मौनप्रायः छन् । पूर्वप्रावि तथा प्रावि तहका विद्यार्थी स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरूमा नयाँ कुरा सिक्ने भोक हुन्छ । शैक्षिक सामग्री सहितको सिकाइले उनीहरूको जिज्ञासा मात्र मेटिँदैन, पढाइमा रुचि पनि बढ्छ भन्ने कुरा मन्टेसोरीले ‘द मन्टेसोरी मेथड’ तथा ‘द सिक्रेट अफ चाइल्डहुड’ लगायत पुस्तकहरूमा सविस्तार उल्लेख गरेकी छन् । उनका अनुसार शैक्षिक सामग्रीको प्रयोगले बालबालिका जीवनोपयोगी सीप सिक्न उत्साहित हुन्छन् ।

जुनसुकै विषयको शिक्षण सिकाइ जीवन्त र व्यावहारिक बनाउन शैक्षिक सामग्रीको महत्त्वपूर्ण भूमिका हुन्छ । तर हामीकहाँ अझै पनि निष्क्रिय शिक्षण सिकाइकै वर्चस्व छ । अन्य विषयभन्दा पनि वनस्पति विज्ञानमा शैक्षिक सामग्रीसहितको सक्रिय शिक्षण सिकाइले बालबालिकालाई आकर्षित गर्छ । यस्तो शिक्षण सिकाइले तरकारी र फलफूलबारे जिज्ञासा बढाउँछ । उनीहरूले सानै उमेरमा तरकारी र फलफूल खान पनि सिक्छन् । यसले गर्दा उनीहरूमा कृषिमा उच्च शिक्षा लिने सोचको विकास हुन्छ ।

केही वर्षयता कृषि पढेका–नपढेका नेपाली युवा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल जान थालेका छन् । नेपाल कृषिप्रधान देश भए पनि कृषिकर्म गर्न विदेशिनुपर्ने बाध्यतालाई शिक्षाका सरोकारवाला र राजनीतिकर्मीहरूले ख्याल गरेका छैनन् । सरकारले स्कुलमै कृषिको जीवन्त शिक्षण सिकाइ गर्न सके त्यस्तो बाध्यताको अन्त्य हुन सक्छ । यसका लागि जग्गा भए विद्यालय परिसरमा, जग्गा नभए भाडामा नत्र कौसीमै भए पनि विज्ञान बगैंचा बनाउनुपर्छ । विज्ञान बगैंचाले विद्यालयको शोभा मात्र बढाउँदैन, साना विद्यार्थीलाई शैक्षिक सामग्रीका रूपमा बोटबिरुवा अवलोकन गराउन तथा ठूला विद्यार्थीलाई गोडमेल लगायतका कृषिकर्मको कखरा सिकाउन सकिन्छ । पूर्वप्राविदेखि आधारभूत तहसम्ममा वनस्पति विज्ञानमा जीवन्त शिक्षण सिकाइलाई स्थानीय सरकारले अनिवार्य गर्ने हो भने कृषिकर्मका लागि जनशक्ति तयार हुन्छ । यस्तो जनशक्ति तयार गर्न सर्वप्रथम वनस्पति विज्ञानका शिक्षकहरूलाई विशेष तालिम दिनुपर्छ । कृषिकर्म गरेर नामदाम कमाएका कृषकलाई कम्तीमा साताको एक दिन पाहुना शिक्षकका रूपमा आमन्त्रण गर्नुपर्छ; आफ्ना संघर्ष र सफलताका कुरा सुनाउन लगाउनुपर्छ । विद्यालयको यस्तो प्रयासले स्कुले शिक्षा फलदायी हुन्छ, विद्यार्थीले स्वदेशमै गरिखाने शिक्षा पाउन सक्छन् ।

तीनै तहका सरकारले कृषिकर्ममा आधारित अतिरिक्त क्रियाकलापका लागि सामुदायिक विद्यालयमा विज्ञान बगैंचा बनाउन बजेट दिनुपर्छ । निजी विद्यालयहरूमा पनि यस्ता क्रियाकलाप अनिवार्य गराउनुपर्छ । स्थानीय सरकारले विद्यालयलाई विज्ञान बगैंचा निर्माणमा प्रोत्साहन गर्ने हो भने वनस्पति विज्ञानको शिक्षण सिकाइ प्रभावकारी हुन्छ; स्कुले शिक्षामा बोटबिरुवालाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्नुपर्छ भन्ने अभियान पनि सुरु हुन्छ ।

प्रकाशित : कार्तिक १३, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?