कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

बुद्ध–ज्ञानभित्रको मनोचिकित्सा विज्ञान

बुद्ध–ज्ञानलाई कुनै एक धर्म–सम्प्रदाय भनौं या सांस्कृतिक परम्परालाई ढाक्ने साँघुरो घेराभित्र मात्र सीमित गर्न सकिँदैन । यो त हाम्रो पूर्वीय शिक्षाको महत्त्वपूर्ण निधि हो ।
अजय रिसाल

'म तिम्रो मरेको छोरालाई बचाइदिन त सक्छु तर तिमीले मलाई अहिलेसम्म कुनै मान्छे नमरेको घरबाट चारवटा तोरीको गेडा ल्याइदिनुपर्छ ।' पाँचवर्षे छोराको मृत्युका कारण भावविह्वल भएकी कुशा गौतमीलाई यसो भनेर बुद्धले पठाइदिएका थिए । तिनी खुसी अनि उत्साहित भएर अतालिँदै विभिन्न घरमा पुग्दा तोरीको गेडा दिन तयार नभएका त कोही पनि थिएनन्, तर बुद्धको सर्त मुताबिक ‘कुनै मान्छे नमरेको’ घर भने कतै पाइनन् । अन्ततः बुद्धकै शरण पर्न आइन् तिनी ।

बुद्ध–ज्ञानभित्रको मनोचिकित्सा विज्ञान

यसरी बुद्धले छोराको असामयिक मृत्युका कारण चरम शोकमा रहेकी नारीलाई ‘मृत्युको शाश्वत सत्य’ को यथार्थबोध गराइदिएका थिए । यस्तो थियो बुद्धले गर्ने गरेको मनोचिकित्साको अनुपम अभ्यास । यस्ता अनेकौं उदाहरण पाइन्छन् बुद्ध जीवनीमा ।

कुनै भारीभरकम शब्दको प्रवचन या नैतिक शिक्षा दिएजस्तो नगरेर प्रयोगात्मक तवरमै, सम्बन्धित व्यक्तिलाई आफैं सहभागी बन्न लगाएर नै ती व्यक्तिका उदासीनता, अवसाद, शंका, भ्रम, द्विविधा अनि मानसिक क्लेष, क्षोभ सबै दूर गराइदिने अद्वितीय क्षमता थियो बुद्धमा । अन्ततः मानसिक चिन्ताग्रस्त व्यक्तिहरू केही न केही अन्तर्दृष्टि पाएर उनकै संघमा समाहित हुन पुग्थे । अर्थात्, बुद्ध–ज्ञानभित्र मनोचिकित्सा विज्ञानको महासागर नै छ । मात्र डुबुल्की मार्न सक्नुपर्छ, पौडी खेल्न जान्नुपर्छ ।

अब बुद्धले कठोर तपस्यापछि प्राप्त गरेका ज्ञानका आधारमा प्रतिपादन गरेका चार आर्यसत्यको विवेचना गरौं । ‘सबैतिर दुःख छ’ । अर्थात्, सुखको भोगाइ क्षणिक मात्र हो, हाम्रो जीवनमा आइरहने दुःख नै स्थायी हो । त्यसैले, संसारमा रोग हुनु नै पहिलो सत्य हो । ‘दुःखको कारण छ’ । अर्थात्, अज्ञान नै दुःखको मूल हो । त्यस्तै, जुनसुकै रोगका पनि कारकतत्त्वहरू हुन्छन् नै । ‘दुःख निरोध गर्न सकिन्छ’ । अर्थात्, सबै रोगको रोकथाम पनि गर्न सकिन्छ । तिनको उपचार संम्भव छ । ‘दुःख निरोध गर्ने यथार्थ मार्ग छ ।’ अर्थात्, रोगबाट बच्ने अनि त्यसको उपचार गर्ने उपायहरू अवश्य छन् ।

सारांशमा, रोग (दुःख) को वास्तविकता, त्यसका कारकतत्त्व, त्यसको फैलावट अनि त्यसको निरोध एवं उपचारका मार्गहरूको अध्ययन, अनुशीलन अनि यथार्थपरक रूपमा परिपालन गर्न सकियो भने त्यसबाट मुक्ति सम्भव छ । ‘रोगको पहिचान या निदान गर । यसका कारकतत्त्वबाट दूर रहने प्रयास गर । यसको रोकथाम गर्ने उपाय गर । रोग लागी नै हाले पनि उपलब्ध प्रविधि या सेवा प्रयोग गरेर यथोचित उपचार गर ।’ भैषज्य गुरुका रूपमा मानिएका बुद्धले चार आर्यसत्यका रूपमा रोग निवारणका यिनै उपाय देखाएका छन् ।

बौद्ध संस्कृतिमा स्वास्थ्य उपचारका सूत्रहरूको पनि विशद व्याख्या भएको पाइन्छ । यसमा विविध रोगहरूका कारण, प्रकृति एवं लक्षणहरू, उपचारका विभिन्न विधि एवं औषधि, चिकित्सा आचारका आयाम अनि असल चिकित्सकका गुणहरूको समेत व्याख्या गरिएको छ ।

रोगीहरूको उपचार गर्ने चिकित्सक, वैद्य, परिचारकहरूको उच्च मूल्यांकन गरेका छन् बुद्धले । वृद्ध, रोगी अनि मृतकहरूसितको साक्षात्कारबाटै राजकुमार सिद्धार्थलाई राजपाट त्यागेर संन्यासको मार्गतिर लाग्ने प्रेरणा मिलेको थियो । त्यही प्रेरणाले नै उनलाई अन्ततः बुद्धत्व दिलाएको थियो ।

बौद्ध दर्शनमा बुद्धलाई योग्य चिकित्सक, धम्म (धर्म) लाई दोषरहित उपचार मार्ग अनि ‘संघ’ लाई उपचार प्रक्रियामा संलग्न समूहका रूपमा दर्साइएको छ । रोगीको हेरचाहमा लाग्ने विशेषज्ञ (चिकित्सक), मनोविमर्शकर्ता, औषधि बिक्रेता, परिवारका सदस्य, साथीसंगी, अनुसन्धानकर्ता, नागरिक समाज, खाद्य परामर्शदाता, सल्लाहकार आदि सबै नै ‘संघ’ को परिधिभित्र पर्छन् । ‘संघ’ मा विचार–विमर्श, छलफल, वादविवाद, अन्तर्संवादका माध्यमबाट आफ्ना शंका–उपशंका, भ्रम निवारण अनि जिज्ञासा समाधान गरेर उपचारको मार्गतिर अग्रसर हुन सकिन्छ ।

बौद्ध चिन्तनमा ‘मानव स्वास्थ्य (रोग) का लागि विभिन्न कारकतत्त्वले अन्तरसम्बन्धित रूपमा काम गरिरहेका हुन्छन्’ भन्ने मान्यता छ ।

हामीले मानिआएका जैविक, मनोवैज्ञानिक अनि सामाजिक अवयवहरूमा झैं आर्थिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय, नैतिक अनि आचरणजन्य पक्षहरू पनि जिम्मेवार मानिन्छन् रोगका लागि । त्यसैले बौद्ध मान्यतामा स्वस्थ रहनका लागि ‘आफूभित्रै पहिला, आफ्नो समाज एवं प्राकृतिक वातावरणमा सद्भाव अनि शान्तिको अपरिहार्यता’ को वकालत गरिएको छ ।

ती रोगहरूको उपचार गर्ने चिकित्सकलाई अष्टांग मार्गको दिशाबोध गराइएको छ । सही दृष्टिकोणले रोगबारे यथेष्ट ज्ञान दिलाउँछ । सही विचारले रोगीप्रति असल मनोवृत्तिको विकास गर्छ । वाणीमा रहने माधुर्यले सही सञ्चारको अनि सही आचरणले उपयुक्त उपचारको मार्गप्रशस्त गर्छ । सही रहनसहनको, सत्प्रयासको, सचेतता अनि ध्यानको पनि आवश्यकता रहन्छ आदर्श चिकित्सकमा । यी सबको सार्थक सम्मिश्रणले नै कर्तव्यबोध गराउँछ चिकित्सकलाई । त्यसैले नै सत्प्रेरणा दिलाउँछ करुणा एवं समानुभूतिसहित रोगीहरूको व्यक्तिकेन्द्रित दृष्टिकोणमा आधारित समग्र उपचारका लागि ।

धम्मपद (पद १८३) मा असल चिकित्सक बन्नका लागि यस्तो मार्गनिर्देशन गरिएको छ, ‘बिरामीलाई कुनै पनि खराबी नगर्नू, राम्रो मात्र गर्ने प्रयास गर्नू, अनि मन सदा स्वच्छ राख्नू ।’ यी सब हामीले पालना गर्नैपर्ने स्वास्थ्य आचारभित्र नै पर्छन् । वैज्यवातपदका रूपमा उल्लेख गरिएको, स्वास्थ्यकर्मीहरूले गर्नुपर्ने संकल्प पनि हामीले लिने गरेको ‘हिप्पोक्रेटिक’ शपथभन्दा धेरै फरक छैन ।

बुद्ध–ज्ञानलाई कुनै एक धर्म–सम्प्रदाय भनौं या सांस्कृतिक परम्परालाई ढाक्ने साँघुरो घेराभित्र मात्र सीमित गर्न सकिँदैन । यो त हाम्रो पूर्वीय शिक्षाको महत्त्वपूर्ण निधि हो । यसभित्र सत्यको बोध गराउने दर्शनशास्त्र छ । मानव मन एवं व्यवहारको यथार्थ परिचय दिलाउने मनोविज्ञान छ । मानवीय मूल्यमान्यताको संरक्षण–संवर्द्धनका लागि स्पष्ट दिशानिर्देश गर्ने आचरण भनौं या नैतिक शिक्षा पनि यहीँ नै छ ।

बौद्ध दर्शनभित्र मनोविज्ञानका विषयवस्तुलाई ‘अभिधर्म’ का रूपमा सङ्गृहीत गरिएको छ । यसमा तीन तथ्य प्रमुख मानिएका छन् । पहिलो, चेतनाको क्रमिक विकास; दोस्रो, पाँच ज्ञानेन्द्रिय अनि मनसहितका छ इन्द्रियका माध्यमबाट प्राप्त अनुभूतिलाई मस्तिष्कले धारण गरेपछि हुने संज्ञानात्मक विकासको प्रक्रिया; र तेस्रो, भावना, मनस्थिति अनि मनोवैज्ञानिक विकासका लागि आवश्यक अन्य अवयव । यी तीन चरणमा कतै पनि व्यवधान आएमा अथवा कुनै कारणवश यसको कुनै पनि अवस्थामा विकास हुन नसकेमा मानिसमा रोग, अझ भनौं मनोसामाजिक समस्या या मानसिक आघात पर्न सक्ने मान्यता छ बौद्ध चिन्तनमा ।

अतः मनोचिकित्सा उपचारका लागि पनि यिनै तीन विषयमा ध्यान पुर्‍याउन आवश्यक छ । बौद्ध मान्यतामा गरिने मनोचिकित्साको अभ्यासमा व्यक्तिको शारीरिक विषयलाई मात्र नभई उसको मानसिक, सामाजिक, सांस्कृतिक, आध्यात्मिक अनि नैतिक मान्यतालाई पनि ध्यानमा राख्ने गरिन्छ । रोग निदान या उपचारका सामान्य मान्यताहरूभन्दा माथि उठेर व्यक्तिको आत्मिक विकास, आध्यात्मिक पूर्णता अनि सांस्कृतिक संवर्द्धनलाई ध्यानमा राखिन्छ यो प्रक्रियामा । लागूपदार्थ दुर्व्यसनजन्य समस्या, एङ्जाइटी डिसअर्डर, ओसीडी, डिप्रेसन, एनोरेक्सिया, व्यक्तित्वजन्य समस्या अनि एड्स रोग, क्यान्सर, दीर्घ शारीरिक रोग, नसर्ने रोगहरूसँग सम्बन्धित मनोसामाजिक समस्याहरू पनि बौद्ध मान्यतामा आधारित रहेर उपचार हुने गरेका अध्ययनहरूले देखाएका छन् ।

सचेततापूर्वक गरिने ध्यान (माइन्डफुलनेस मेडिटेसन) पनि हाम्रो बौद्ध दर्शनकै देन हो । आफ्ना विचार एवं भावनाहरूलाई सचेततापूर्वक दृष्टि दिएर आफ्नो संज्ञान, शारीरिक अवस्था अनि दैनिक क्रियाकलापसँग जोडिने प्रयास गर्नु नै यसको मूल मन्त्र हो । उदाहरणका लागि, श्वासप्रश्वासमा ध्यान दिएर बिस्तारै शान्ति अनि अन्तदृष्टितिरको यात्रा गर्न सकिन्छ । यो विधिले थुप्रै मनोसामाजिक समस्यामा सकारात्मक प्रभाव पारेको अन्तर्राष्ट्रिय अनुसन्धानहरूमा देखिएको छ । यसका कारण ‘रोगप्रतिरोध क्षमतामा अनि चेतनाप्रवाह, भावना, संवेदना, संज्ञान एवं चिन्तनमननका लागि महत्त्वपूर्ण मानिएका मस्तिष्कका अंगहरूमा रक्तप्रसारमा वृद्धि हुँदै गएको’ जस्ता वस्तुगत आधारहरूले पनि माइन्डफुलनेस मेडिटेसन पश्चिमी विश्वमा समेत लोकप्रिय बन्दै गएको छ । अतः बौद्ध भैषज्य विधिलाई हाम्रो आधुनिक उपचार पद्धतिका विविध आयामको परिपूरक मानेर प्रयोग गर्ने अभ्यास थाल्न ढिलो भइसकेको छ ।

प्रकाशित : जेष्ठ १, २०८० ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?