कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

लोकरिझ्याइँलाई मतादेश

छिटो वा ढिलोको कुरा मात्रै हो, जनता भीड हुनुको सट्टा सचेत नागरिक भएमा समता र समृद्धिसहितको समावेशी लोकतन्त्र विस्तार गर्न नसक्ने र आफूलाई सुधार्न पनि नसक्ने राजनीतिक संस्थापन पक्ष र नेतृत्व सिद्धिनेमा शंका छैन ।
राजेन्द्र महर्जन

तनहुँको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले अत्यधिक मतले विजयी भएपछि निकै आनन्दित भएका केही नेपालीलाई लाग्यो- अब समृद्धिको स्वर्णयुग आयो ! चितवनको उपनिर्वाचनमा रास्वपाकै सभापति रवि लामिछाने करिब ७० प्रतिशत मतका साथ पुनः निर्वाचित भएपछि अति उत्साहित केही मतदातालाई अनुभूति भयो- अब नेपालमा आर्थिक विकास र सुशासनको सूर्योदय भयो !

लोकरिझ्याइँलाई मतादेश

केही विश्लेषक र लेखक अतिरिक्त उत्तेजनाका साथ घोषणा गर्दै थिए- अब वाद–विचारको राजनीति समाप्त भयो, राष्ट्र निर्माण र राज्यबाट डेलिभरी (वितरण) को राजनीतिक युग सुरु भयो ।

टीभी पत्रकारबाट नेता भएका रवि लामिछानेको सभापतित्वमा गठित रास्वपाले दुईवटा निर्वाचन क्षेत्रमा अपेक्षाभन्दा बेसी मत ल्याएपछि ‘घण्टी लहर’ आएको टिप्पणी हुँदै छ ! सबै दल, नेतृत्व र विचारको घण्टी नै बजाएको विश्लेषण गरिँदै छ । मिडियाका समाचार, सम्पादकीय र विचार पृष्ठहरूमा पुराना राजनीतिक दल र वृद्ध नेतृत्व विकास–निर्माण, सुशासन र आन्तरिक लोकतन्त्रमा असफल भएका कारण सिद्धिने वा सुध्रिने प्रश्नको कठघरामा उभिएका विचारहरू पोखिँदै छन् । छिटो वा ढिलोको कुरा मात्रै हो, जनता भीड हुनुको सट्टा सचेत नागरिक भएमा समता र समृद्धिसहितको समावेशी लोकतन्त्र विस्तार गर्न नसक्ने र आफूलाई सुधार्न पनि नसक्ने राजनीतिक संस्थापन पक्ष र नेतृत्व सिद्धिनेमा शंका छैन ।

हुन त निर्माणाधीन नयाँ राजनीतिक दल र त्यसको अधबैंसे नेतृत्वलाई युवा, सिकारु र सत्ताका नयाँ खेलाडी भएका तर्कका आधारमा शंकाको सुविधा दिन पनि सकिन्छ तर चौथो दल भोलि पहिलो पार्टी नै भयो भने पनि पुराना पहिलो, दोस्रो, तेस्रो वा पाँचौं दल र तिनका दलपतिहरूभन्दा कुन मानेमा भिन्न होला ? कुन विशिष्ट संरचना र संस्कृतिका कारण फरक हुने होला ? यो जल्दोबल्दो सवाललाई भीडको पैतालामुनि दबाउन सकिँदैन । के–कस्ता मौलिक काल्पनिकी र राजनीतिका कारण उनीहरू अग्रगामी, जनमुखी र लोकतान्त्रिक हुने कुराको प्रत्याभूति हुन्छ ? यो जब्बर प्रश्न पनि विजयोत्सवसँगै हराउँदैन ।

अहिलेसम्म निर्माणाधीन दल रास्वपाको दलीय संरचना र लोकतान्त्रिक छवि बनेको छैन, त्यसैले यस्ता दलगत प्रश्नलाई निजीस्तरमा सोध्नु मनासिब हुन्छ । उदाहरणका लागि, परिचित अर्थशास्त्री मानिएका स्वर्णिम वाग्ले भविष्यमा रामशरण महत वा प्रकाशशरण महत वा प्रकाशचन्द्र लोहनी हुँदै नहुने विधि–प्रक्रिया के होलान्, जसमाथि अलिक विश्वस्त हुन सकिन्छ ? त्यस्तै, पूर्वउपप्रधानमन्त्री एवं सभापति रवि लामिछाने भोलि शेरबहादुर देउवा वा खड्गप्रसाद ओली वा पुष्पकमल दाहालभन्दा भिन्न हुने काल्पनिकी वा काल्पनिकी साकार गर्ने विश्वसनीय संस्थागत लोकतान्त्रिक आधार र संरचना के होलान्, जसमाथि कम शंका गर्न सकिन्छ ?

केजरीवालको स्खलन

पुराना दलहरूदेखि नयाँ शक्तिहरूसम्मले पनि आफूलाई सही ठहर्‍याउन र आफ्नो भाष्यलाई वैधता दिन भारतकै दल र दलपतिहरूको उदाहरण दिने चलन छ । अहिले पुराना दलका कुरा छाडौं, पछिल्लो युगमा भारतमा नयाँ शक्तिको मानक वा प्रतीक बनेको आम आदमी पार्टी (आप) ले दिल्लीको चुनाव र सरकार सञ्चालनमा मच्चाएको तहल्काका कारण नेपालको राजनीतिक वृत्तसमेत तरंगित भएको थियो । ‘आप’ का राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नयाँ शक्तिको काल्पनिकी बनाउने बाबुराम भट्टराईदेखि पुरानै शक्तिको भाष्य दोहोर्‍याउने रवीन्द्र मिश्रसम्मका आदर्श थिए । सामाजिक आन्दोलन, त्यसमा पनि लोकपाल बिलजस्तो भ्रष्टाचारविरोधी संघर्षका अभियन्ता अन्ना हजारेसँगसँगै लागेका केजरीवालले सादगीलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरेका थिए । सत्ताको स्वाद चाख्नुअघि उनले चप्पल लगाएर, कुचो चुनावचिह्न लिएर राजनीतिक भ्रष्टाचार सफा गर्ने उद्घोष गरेका थिए, ‘म गाडी, बंगला र भीभीआईपी सुविधा उपभोग गर्दिनँ’ भन्दै । आज उनै केजरीवाल महामारीकालमा पनि आफ्नो सुखसयलका लागि सरकारी आवास पुनर्निर्माणका नाममा भीभीआईपी स्विमिङ पुलसहित ४५ करोड भारुको सिसमहल बनाउन मग्न रहे ।

चप्पल र टोपीधारी आम आदमीदेखि सिसमहलवासी मुख्यमन्त्रीसम्मको रूपान्तरणले केजरीवालको मात्रै होइन, धेरैजसो नयाँ–पुराना नेताको कायापलटलाई छर्लंग देखाउँछ । जसले भ्रष्टाचारविरोधी अभियान चलाए, जसले पारदर्शिताका लागि संघर्ष गरे, आम आदमीलाई केन्द्रमा राखेर राजनीति गर्ने कसम खाए, तिनीहरू नै खास–खास आदमीको सेवा गर्ने अपारदर्शी र भ्रष्ट शासक हुने घनचक्करबाट कमै मात्रै मुक्त भएको देखिन्छ । यस घनचक्करमा फसेका पुराना नेताहरूसँग दाँजेर हेर्दा नयाँ र युवा भनिएका लामिछाने वा वाग्ले वा खरेल वा कार्की वा अन्य नेताहरू अर्को सिसमहलवासी केजरीवाल नबन्ने संयन्त्र र पद्धतिसँगै आत्मसंघर्ष, आत्मसमीक्षा र आत्मसुधारको तौरतरिका के होला ? यस्ता प्रश्नमा पुराना दल र दलपतिहरूप्रतिको विकर्षणबाट वाक्कदिक्क भएका जनता, आफूलाई नयाँ र वैकल्पिक शक्ति ठान्ने नयाँ दल र नयाँ दलमा भविष्य देख्ने विश्लेषकहरूको उत्तर के होला ?

वर्षौंवर्षका अनेक आन्दोलनबाट स्थापित भएको ‘आप’ को नेतृत्वसमेत आर्थिक रूपमा स्खलित भएको छ, उनको दलमा अग्रगामी काल्पनिकी र जनमुखी नीति–कार्यक्रमको खडेरी देखिएको छ र भाजपाको हिन्दु राष्ट्रवादले त्यसको वैचारिक–राजनीतिक जीवनलाई पनि लतार्दै लगेको छ । राज्यको पैसाबाट चल्ने ‘कोसेली विकास’ का भरमा ‘आप’ को राजनीति कति दिन चल्ने हो, दिल्लीका आम आदमीलाई थाहा हुन छाडिसकेको छ । भुइँतहका जनताका जल्दाबल्दा मुद्दामा संघर्षबिना ! संघर्षको अगुवाइ गर्ने दिगो संगठनबिना ! संघर्ष र संगठनलाई उन्नत वैचारिक दृष्टि र सम्पूर्ण जीवन–ऊर्जा सुम्पने सचेत, ससंस्कृत र प्रतिबद्ध नेतृत्वबिनाका निर्माणाधीन दलहरू र तिनका दलपतिहरू कति दिनका पाहुना होलान् ? निकट भविष्यमा उनीहरूको समग्र स्खलनका लागि कसैले अनावश्यक अपेक्षा नै गर्नुपर्दैन, न त विरोध र विध्वंसकै सहारा लिनु जरुरी हुन्छ । डिँगा मर्न झिँगाले सराप्नैपर्छ भन्ने केही छैन, आन्तरिक बिमारी वा अन्तर्ध्वंसका कारण मृत्यु अनिवार्य बन्न पुग्छ ।

कस्तो पार्टी, कसको पार्टी ?

छिटो मृत्युको साटो दिगो जीवनको खोजी हो भने रास्वपा, त्यसका नेता–कार्यकर्ता र शुभचिन्तकले उत्तर खोज्नैपर्ने केही प्रश्न विचारणीय छन् । सबैभन्दा बेसी मात्रामा जवाफ दिनुपर्ने प्रश्न हो- कस्तो पार्टी, कसको पार्टी, कसका लागि पार्टी बनाउने ? जमाना निजीकरणको छ, चाहे अर्थतन्त्रको होस् या राजनीतिको, चाहे संरचनाको होस् या संस्कृतिको । अधिकांश राजनीतिक पार्टी निजीकृत छन् र व्यक्तिबाटै दलहरू चिनिएका छन् । ठूला दलहरू ठूलठूला नेताहरूका नाममा स्थापित छन्, शेरबहादुर देउवाको कांग्रेस, खड्गप्रसाद शर्मा ओलीको एमाले र पुष्पकमल दाहाल प्रचण्डको माओवादी, उपेन्द्र यादवको जसपाका रूपमा । तिनै महापुरुष नेतृत्वका दलहरूभन्दा कम छैन रवि लामिछानेको पार्टी भनिने रास्वपा पनि । चाहेर होस् या नचाहेर, कुनै पनि संरचना, संस्था वा दल निजीकृत हुनु वा व्यक्तिविशेषबाटै परिचित हुनु भनेको संस्था मृत्युको मुखमा पुग्नु हो ! संस्थाको लासमाथि व्यक्ति चुलिनु हो । रविको पार्टीलाई पनि जन्मेको केही वर्ष नपुग्दै मृत्युको शंख बजेको सुन्ने रहर हो र ?

व्यक्तिगत नामबाट मरणासन्न हुने गरी नथिचिने हो भने, संस्थाको विशिष्ट अस्तित्व, स्वायत्तता र पहिचान बनाउने हो भने सोध्नुपर्ने हुन्छ- रास्वपाभित्र नीति–निर्णय–नेतृत्वमा सामूहिकताको अभ्यास छ कि छैन ? दलका कामकारबाही वा क्रियान्वयनमा एकरूपता, जिम्मेवारीमा क्षमता अनुसार व्यक्तिगत भूमिका र अभिव्यक्तिमा स्वतन्त्रता कत्तिको छ ? सभापतिको आदेश, निर्देश र संकेतबिना कसैको हाड नभएको जिब्रोसमेत नचल्ने दास संस्कृतिकै अनुसरण छ कि छैन ? बिसौलीको जिब्रो फट्कार्नुभन्दा धार्नीको टाउको हल्लाउनु बेस भन्ने मानसिकता र व्यवहार अधिक प्रचलित छ कि छैन ? यी प्रश्नका आधारमा रास्वपाले सामूहिक नेतृत्व, सामूहिक पहिचान र संस्थागत अस्तित्व ग्रहण गर्छ कि गर्दैन भन्ने तय गर्न सकिन्छ । रास्वपालाई सामूहिक निर्णय, सामूहिक नेतृत्व र सामूहिक पहिचानबाट ‘स्वतन्त्र’ बनाउँदै, रविकै प्राइभेट पार्टी मात्रै बनाउने हो भने यति धेरै प्रश्नमा माथापच्ची गरिरहनु जरुरी हुँदैन ।

ज–जसलाई जनताले बेहोरिरहेका ज्वलन्त मुद्दा उठाउने, ती मुद्दाको समाधानका लागि सामूहिक संघर्षको अगुवाइ गर्ने, ती मुद्दासँग जोडिएका संरचना र सिद्धान्तलाई केलाएर जनतालाई दिशानिर्देश र दीक्षित गर्ने सम्यक् नेतृत्वमा रुचि छैन, उनीहरूले खोज्ने भनेको समाजशास्त्री म्याक्स वेबरको भाषामा ‘चमत्कारी नेता’ नै हो, जसले ‘हात कि सफाइ’ का साथ समस्या समाधान गर्छ । ज–जसलाई यो जीवन र जगत्लाई सामूहिक श्रम र निरन्तर संघर्षबाट फेर्न र उन्नत बनाउन सकिन्छ भन्ने धारणामा आस्था छैन, जसलाई जीवन र जगत्भन्दा परको अदृश्य शक्तिमा विश्वास छ, उनीहरूलाई ब्रह्मा वा विष्णु वा महेशजस्ता त्रिदेव वा तिनको भू–प्रतिनिधिका रूपमा नरनारायण वा राजा–महाराजा वा भगवान् जरुरी हुन्छन्, उनीहरूका लागि देशको रक्षा जनता जनार्दनले होइन, पशुपतिनाथले गर्छन् । र, राजतन्त्रकालीन राज्य र नीतिजस्तै राजनीति पनि भगवान् भरोसे चलाउने हो भने ‘रवि भगवान्’ को उदयसँगै धर्मभीरु नेपाली मनमा वर्चस्व र सत्ता राजनीतिमा वैधता निश्चित हुन्छ, जसको पूजाआजा मतबाट पनि हुन्छ । कुनै पनि चमत्कारी नेताको उत्थान वा भगवान्को उदय सामूहिक संघर्ष, सामुदायिक संस्था र सार्वजनिक राजनीतिको अवसानको सूचक हो । रविलाई भगवान् मान्ने भीड भएको रास्वपाले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्छ कि सही गर्न अस्वीकार गर्छ, उत्तरका लागि केही समय कुर्नु जरुरी छ ।

कसको सेवा गर्ने पार्टी ?

रास्वपाले सग्लो पार्टी बनाउने क्रममा जवाफ दिनैपर्ने सवाल हो— यो दल कसका लागि निर्माण र क्रियाशील हुन्छ ? ज–जसले श्रमिक वर्गका लागि भन्दै सर्वहाराहरूको अगुवा दस्ताका रूपमा कम्युनिस्ट वा वामपन्थी पार्टी स्थापना गरे, ज–जसले आम जनताका लागि भन्दै लोकतान्त्रिक पार्टी निर्माण गरे, जसले समाजवाद र साम्यवादका लोभलाग्दा नारा र साइनबोर्ड झुन्ड्याएर दल सजाए, उनीहरूले क–कसको सेवा गरे, धेरैजसो मानिस जानकार छन् । अब कुनै वैचारिक–राजनीतिक विरासत नभएको र दार्शनिक रूपमा अपरिभाषित नै छाडिएको ‘संवैधानिक समाजवाद’ को झन्डाका साथ निर्माणाधीन रास्वपा कसको पार्टी बन्ने हो र कसको सेवा गर्ने हो, चाल निको छैन । नेपालजस्तो धेरै वर्ग, वर्ण, जात, जाति, समुदाय भएको देशमा एकल जातका पुरुषलाई मात्रै उम्मेदवार बनाउनु शुभ संकेत होइन । रास्वपाले नेपाली समाज र राज्यलाई पुनःसंरचना, त्यसका लागि अत्यावश्यक संघीयता, समावेशिता, आरक्षण र सशक्तीकरण तथा भाषा, धर्म, संस्कृतिमा समानतालाई वर्तमान संविधानले जस्तै कपटी चालमा बेवास्ता गर्छ कि संविधान संशोधनमार्फत परिमार्जनमा जोड दिन्छ भन्ने सवालमा पनि असल सन्देश सञ्चार भएको देखिँदैन ।

जहाँसम्म रास्वपाले कसको सेवा गर्छ भन्ने सवाल छ, दुई–चार दिन सत्तामा हुँदा गरेका निर्णय र काम हेर्दा लाग्छ— यसले पनि पुरानै पार्टीहरूले जस्तै जनताका नाममा बिचौलिया र आसेपासे साहु–महाजनहरूकै सेवा गर्ने हो, समाजवादको आकर्षक र छलकारी नारा लगाउँदै पुँजीवादलाई नै पोस्ने हो । उपप्रधान तथा गृहमन्त्री भएको तेस्रो दिनमै राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा निजी कम्पनीलाई दिने गरी फास्ट ट्र्याकमा निर्णय गर्न भ्याएका रविको रेकर्डले आगामी दिनमा कुनकुन महाजनको थैली भर्ने हो, सहजै अनुमान गर्न सकिन्छ । हुन त आफू, आफ्ना र आसेपासेको सेवा गर्न र मेवा खानलाई पुराना दलहरूका एकसे एक नेताहरू छँदै छन्, तिनै कार्य छिटोछरितो र फुर्तिलो चालमा गर्न तथा युवा चामत्कारिक नेतृत्वको जरुरत पूरा गर्न लामिछाने र वाग्लेहरू चाहिएका हुन् भने जनताका नाममा साहु–महाजन पोस्ने निरन्तरको कर्मकाण्ड जारी रहने नै छ ।

लोकतान्त्रिक गणतन्त्रलाई लोकतान्त्रिक तरिकाले नै समाप्त पार्न त तथाकथित वामपन्थी र लोकतान्त्रिक भनाउँदा दल र दलपतिहरू बग्रेल्ती छँदै छन् नि ! उनीहरूका कुशासन, भ्रष्ट व्यवहार र राज्यका सुविधा वितरणमा मनपरी देखेर वाक्कदिक्क भएका हामी मतदाता र मनदाताहरूले चामत्कारिक नेतृत्वको बलमा, लोकरिझ्याइँले भरिएको व्यवहारका भरमा संघीयता, समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्यायलाई मास्ने मतादेश दिएका हौं ? विकास र समृद्धिले भरिएको भूस्वर्ग बनाउने नयाँ रागमै भुलेका हौं भने हामी आफैंले ठूलो राजनीतिक भड्खालो खन्दै छौं भनी प्रस्ट बुझे हुन्छ । कुनै पनि चामत्कारिक नेतृत्वले, लोकरिझ्याइँले भरिएको विचार–व्यवहारले असमावेशी विकास र असमतामूलक समृद्धिलाई नै व्यापक पार्ने हो ! नागरिकलाई अन्ध, उन्मादी र जुझारु भीडमा रूपान्तरण गर्ने हो । कवि एवं नाटककार रबर्ट ब्राउनिङले ‘द पाइड पाइपर अफ हेमलिन’ मा देखाएझैं हामी मीठो मुरलीको धुनमा लट्ठिएर बर्बादीको समुद्रमा चुर्लुम्म डुब्न जाने मुसाहरू बन्ने कि सचेत, सजग र सतर्क नागरिक, छनोट गर्ने समय धेरै छैन ।

प्रकाशित : वैशाख १९, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?