कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कसको कथा ?

आम मानिसलाई आफूले भोगेको सत्यचाहिँ सत्य हो र अरूले भोगेको सत्य अर्थोकै हो भन्ने लाग्छ । अरूले भोगेको सत्य पनि सत्य नै हो भन्नेचाहिँ हामी हमेसा बिर्सन्छौं ।
नारायणी देवकोटा

महिलावादीहरूले सन् १९७० को दशकमा पुरुषले पुरुषका लागि पुरुषका कथा लेखेको अर्थात् ‘हिस्ट्री इज हिज स्टोरी’ भनेर समग्र मानव इतिहासमाथि प्रश्न उठाए र महिलाका कथालाई केन्द्रमा राखेर कथा लेख्न, फिल्म बनाउन, जीवनकथा र महिलाका आत्मकथालाई प्राथमिकतामा राख्न थाले ।

कसको कथा ?

मार्क्सवादी आँखाबाट हेर्दा त्योभन्दा शताब्दीअगाडि नै कार्ल मार्क्सले मानव इतिहास कुनै राजा–महाराजाको कथाकहानी नभई मानिसका दैनन्दिन क्रियाकलापबाट निर्माण हुन्छ भनेका थिए । तर, महिलावादीहरूले उठाएको प्रश्नको कोण लैंगिक थियो । भन्नैपरेन, सन् १९७० पछि महिलाहरूले भोगेका विभेद, लडेका लडाइँ, जीवनमा उनीहरूलाई मिलेका सफलता र असफलताका कथाहरू लेखिए । यसको सिलसिला संसारभर अझै चलिरहेको छ, अमृता लम्साल लिखित ‘हजुरआमाका कथा’; अर्चना थापाले सम्पादन गरेका ‘टेलिङ अ टेल,’ ‘स्वअस्तित्वको खोज’ र ‘स्वत्व’; कैयौं महिलावादी संघ–संगठनले निकालेका ‘जीवनकथाका संग्रहहरू’ वा व्यक्तिगत रूपमा प्रकाशित भइरहेका परिवारका महिलाहरूका कथा यसका केही उदाहरण हुन् ।

कथा प्रस्तुतिको माध्यम किताब वा लिखित नभएर जुनै पनि हुन सक्छ । आत्मकथा, कथा, फिल्म, गीतिनाटक, नाटक, उपन्यास वा अरू पनि । कथा किन लेख्ने वा प्रस्तुत गर्ने ? उत्तर धेरै होलान्, क्षेत्र अनुसार फरकफरक पनि होलान्; तर समाजमा अधिकारको वकालत गर्नेहरूले व्यक्तिलाई ‘म एक्लो छैन’ भन्ने महसुस गराउन र दुनियाँलाई ‘सत्यको यो पाटो पनि छ है’ भनेर देखाउन वा सम्झाउन वा बुझाउन कथा लेख्ने हो । महिलावादी नजरबाट भन्दा, दमनको सत्य पस्केर त्यसको अन्त्य गर्ने नीतिनियम निर्माण गर्नका लागि नीतिगत वकालत गर्न कथा प्रस्तुत गर्ने हो । तर, वकालतका लागि वा ‘म एक्लो छैन’ भन्ने महसुस गराउन लेखिएका कथा कसका हुन् ? त्यहाँ सबै महिलाका कुरा समेटिए कि समेटिएनन् ? कुनै समुदायका महिलाका कथा प्रस्तुत गर्दा समग्र महिलाका लागि नीति निर्माण हुन्छन् कि हुन्नन् ? सन् १९८० को दशकमा आउँदा यस्ता प्रश्नहरू उठ्न थाले । आम रूपमा लेखिएका कथाहरू कथा लेख्ने हैसियतप्राप्त एवं मूलधारको भाषा बोल्ने शिक्षित, स्वतन्त्र र मध्यम वर्गका महिलाहरूका छन् भन्ने आवाज उठ्यो । नेपालमा त्यस्तो आवाज अझै उठ्दै छ ।

त्यो मूलधारको भाषा अमेरिकामा अंग्रेजी होला र नेपालमा नेपाली । संसारभर मूलधारको भाषा होला । त्यसबाहेकका कथा छायामा परे । कोलम्बिया विश्वविद्यालयमा कानुनकी प्राध्यापक किम्बर्ली विलियम क्रेन्साले लस एन्जलसमा गरेको अनुसन्धानले सबैभन्दा पीँधमा परेका महिलाका कथा नलेखिएका कारण हिंसामा पर्दा काला (वुमन अफ कलर) महिलाहरू, त्यसमा पनि बसाइँ सरेर आएका, बसाइँ सरेकामध्ये पनि अमेरिका आएको दुई वर्ष नपुगेका र तिनमा पनि अंग्रेजी राम्ररी बोल्न नसक्ने महिलाहरू घरेलु हिंसा र बलात्कारमा पर्दा सरकारले हिंसा प्रभावितलाई दिने सेवासुविधाबाट वञ्चित हुनुपरेको तथ्य खुलाएको छ । र, उनले पीँधमा रहेका महिलाको जिन्दगीलाई सम्बोधन गर्न ‘इन्टरसेक्सनल’ कोण हेरिनुपर्ने उल्लेख गरिन् । आज संसारभर सीमान्तीकृत महिलाका विषयमा आवाज उठाउने, अनुसन्धान गर्ने एउटा विधि ‘इन्टरसेक्सनालिटी’ भएको छ ।

यस लेखको सन्दर्भ भने प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ हो । लेख अगाडि बढाउनुअघि म फेरि पनि आफ्नो ‘पोजिसन’ स्पष्ट गर्न चाहन्छु । समाजशास्त्रमा स्नातकोत्तर सकेपछि मैले नेपालमा महिला अधिकारका लागि काम गरिरहेका महिलाहरूसँग काम गर्ने अवसर पाएँ । त्यस सिलसिलामा सीमान्तीकृत समुदायका महिलाहरूका अधिकारका लागि काम गर्नेहरूसँग भेट्ने, सीमान्तीकृत महिलाका कथाहरू सुन्ने, महशुस गर्ने र उनीहरूका आँसुसँग भिज्ने अवसर मलाई मिल्यो । त्यस्ता कथा अझै सुनिरहें भने डिप्रेसनको सिकार हुन्छु भन्ने डर पलाउन थालेपछि मैले उक्त जागिरबाट बिदा भएँ । त्यसपछि मैले मुख्यतः त्रिवि अन्तर्गतको क्याम्पसमा समाजशास्त्र पढाउँदै आइरहेकी छु । सीमान्तीकृतका कथा प्रत्यक्ष कम सुने पनि सैद्धान्तिक रूपमा म ती विषयसँग जोडिएकि छु । सीमान्तीकृत र सिमान्तीकरणका विषयमा कक्षामा, बेलाबेला विद्यार्थीका थेसिसमा र अधिकारको पैरवी गरिरहेका साथीहरूकहाँ

कहिले कथा सुन्न त कहिले उनीहरूका कथा सम्पादन गर्न जोडिई पनि रहन्छु । यसै सिलसिलामा गत वर्ष घरेलु कामदार, यौनकर्मी र दोहोरी साँझ र डान्सबारमा काम गर्ने नब्बेभन्दा बढी महिलाका कथा मैले सम्पादन गरें । ती कथाहरूभित्र केही आम कथा थिए । ती आम कथा परिवारभित्र बाआमाको मिलाप नभएको, आर्थिक अवस्था कमजोर भएको सन्दर्भबाट सुरु हुन्थे; कार्यक्षेत्रमा महिनाका तीसै दिन काम गर्दा पन्ध्र हजार रुपैयाँभन्दा कम तलब पाउने गरेको वा बिनातलब टिप्सको भरमा काम गर्नुपरेको वा तलब दिने भनिए पनि समयमा तलब पाउने गरेको वा बिदा बस्दा तलब काटिने गरेको, कार्यस्थलमा विभिन्न प्रकारका हिंसा भोग्नुपरेको, अस्वस्थ हुँदा पनि काम गर्नुपरेको लगायतका प्रसंगमा पुगी टुंगिन्थे । स्वयं भुक्तभोगीहरूका मुखबाट पटकपटक सुनेका कारण मलाई ती कथाहरू सत्य लाग्छन् ।

अब गीतमा फर्कौं । प्रकाश सपूतको गीतमा बनेको भिडियो मैले पटकपटक हेरें । कैयौं एनजीओ–आईएनजीओका रिपोर्ट र विश्वविद्यालयहरूका थेसिसले सम्झाउन नसकेको कथा एउटा छोटो भिडियोमा समेटिन सक्ने रहेछ भन्ने मलाई लागिरह्यो । गाउँबाट ‘तपाईंकै भरोसा’ मा भनी पठाइएकी केटीलाई त्यही ‘भरोसा’ को मानिसले सुरुमै यौनजन्य दुर्व्यवहार गर्छ, काम दिएको मालिकले बलात्कार गर्छ, यौनिक व्यापारका लागि ग्राहकसँग बस्न भन्छ, घरकी श्रीमतीसँग सन्तुष्ट नभएको ग्राहक प्रेमको नाम दिएर ऊसँग यौनचाहना पूरा गर्छ, आमाले घाँटीमा चुसिएको डाम देखेर झापड लगाए पनि साना छोरीहरूले हातमा लगाउन पाएका घडी र भित्तामा अडिएको टीभी हेरेर चोटमा चुपचाप सेकताप गरिदिन्छिन्, ऊ नाच्दानाच्दै स्टेजमै लड्छे, तर उसलाई उठाउन उसकी आमाले भरोसा गरेको र ऊसँग शारीरिक सम्बन्ध राखिरहने मानिस आउँदैन; प्रश्न भने निरन्तर उठाइरहन्छ । त्यसरी प्रश्न उठाउँदै गीत गाइरहेको युवामा मैले बलात्कारीका पक्षमा रहेका कलाकारहरू, वकालत गरिरहेका प्रबुद्ध व्यक्तिहरू वा बलात्कारीलाई राजनीतिक गुरु मानेर राजनीति गरिरहेकाहरूलाई देखें । र केटीको ‘इज्जत जाने र पाप लाग्ने महिलालाई मात्रै हुन्छ ?’ भन्ने सोधाइलाई आजका तमाम यौनिक हिंसा प्रभावितको मात्रै नभई यौनिक र प्रजनन अधिकारका लागि लडिरहेका महिलाहरूको प्रश्नका रूपमा बुझें ।

तर, उक्त गीत चर्चित भएपछि महिला अधिकारकै पक्षमा आवाज उठाइरहेका धेरैले त्यस गीतले कतै महिलालाई उसको यौनांगमा सीमित गरिदिएको त होइन भन्ने प्रश्न उठाएका छन् । आज महिला आफैं पनि आफ्ना आवश्यकता पूरा गर्ने ल्याकत राख्छन्; अहिले रात–बिरात गर्ने काममा यौन व्यापार मात्रै पर्दैन; पत्रकारका रूपमा, डाक्टर वा नर्सका रूपमा, कुनै पनि काम जुनसुकै बेला गर्न सक्छन्; कलाकार नै हुनका लागि यौनको सौदा सबैले गर्दैनन्, गरिबि र अभावमा परेको भन्दैमा महिलाले यौन व्यवसायमा हात हाल्दैनन् भन्ने सवाल पनि उनीहरूले उठाएका छन् । यी सवालहरू पनि त्यत्तिकै जायज र सत्य हुन् । के पनि सत्य हो भने, महिलाहरू आर्थिक र शैक्षिक रूपमा सशक्त हुँदै गएका छन्; पितृसत्ताले थोपरेका दायराहरू भत्काउँदै गएका छन्; धेरै महिलालाई अब आफ्ना रहर पूरा गर्न कसैको भर पर्नुपर्दैन ।

साथै सत्य यो पनि हो कि, कैयौं महिलाका लागि आज पनि एक लुम पोते, एक बट्टा चुरा, एउटा सानो गिफ्ट ठूला महत्त्वका चीज हुन् । आर्थिक आधार नभएका र पिताले अर्की बिहे गरेका वा बेवास्ता गरेका परिवारका छोरीहरूको काँधमा जसरी पनि परिवार पाल्ने, भाइबहिनीको पढाइ र रहर पूरा गर्ने बाध्यताहरू छन् । ती बाध्यताको फाइदा उठाउन अघि सर्ने आफन्तका अनुहार भिरेका, शुभचिन्तक वा प्रेमीको मुखुन्डो पहिरिएका मानिसहरूको कमी छैन । यस्तो बेला प्रेम के हो र व्यापार के हो, नजिकैको मानिसले बलात्कार गर्दा सहिरहने हो कि भाग्ने हो, भागेपछि जाने कहाँ हो, कसैले सोधे दिने उत्तर के हो, मुद्दामामिला (जहाँ सकेसम्म सुनुवाइ हुँदैन) गर्ने हो कि सहेर पचाइदिने हो भन्नेमा प्रायः अलमल हुन्छ । अलमल मात्रै हैन, कानुन छ, उक्त कानुनले आफूलाई सहयोग गर्छ भन्ने जानकारी नै पनि कतिलाई हुँदैन भने कतिलाई कानुनमा विश्वास पनि हुँदैन । कतिलाई मुद्दामामिलामा लागेर दुनियाँकी बिचरी हुनुभन्दा जसरी पनि (अर्थात्, यौनकर्म गरेरै पनि) आफूलाई विभेद गर्ने प्रत्येकका अगाडि पैसा कमाएर आफ्नो परिवार सुखले पालेर देखाउने चाहना हुन्छ । यस्ता विविध बाध्यताले (रहरले पनि) किशोरी र युवतीहरू यौनकर्ममा लाग्ने गरेका छन् । अर्थात्, आर्थिक–सामाजिक आधार बलियो नभएका त्यस्ता किशोरीहरू, जो पैसा कमाउनैपर्ने (भाइबहिनी पढाउनैपर्ने र पाल्नैपर्ने, आमाको उपचार गर्नैपर्ने) बाध्यतामा छन्, यौनबजारमा जान सक्ने जोखिममा छन् । सत्यको यो पाटोलाई भिडियोले बोलेको छ ।

तर, विरोध भयो । र, विरोधको स्वर पनि त जायज नै छ, सत्य नै छ । यी दुई सत्यमध्ये कुनचाहिँ पक्का हो र कुनचाहिँ झुटो हो ? वा, सत्य आफैं कसरी निर्माण हुन्छ ? यो कुरा बडो रोचक हुन्छ । आम मानिसलाई आफूले भोगेको सत्यचाहिँ सत्य हो र अरूले भोगेको सत्य अर्थोकै हो भन्ने लाग्छ । अरूले भोगेको सत्य पनि सत्य नै हो भन्नेचाहिँ हामी हमेसा बिर्सन्छौं । उदाहरणका लागि, मेरा बाआमाले कसम खानुपरे ‘गाई खाने’ भन्नुहुन्छ । त्यो उहाँहरूको समुदायको सत्य हो । संसारका कैयौं समुदायमा गाई खानु पाप होइन भन्ने पनि सत्य हो ।

अहिले सकम्बरी गीतको विरोध गरिरहेका मानिसहरूमा आफ्नो थोरबहुत आर्थिक आधार भएका, कामै नपाए पनि घरपरिवारको भर भएका, भाषामा पकड भएका, शैक्षिक प्रमाणपत्र देखाएर ‘सुकिलो’ काम पाउन सक्ने हैसियत भएकाहरू छन् । उनीहरूले गीतका शब्दशब्दलाई ख्याल गरी ‘यो कतै हामीलाई नै भनेको त होइन, हामी पनि राति जागिर खान्छौं, रात–बिरात वा हप्तौं वा महिनौं वा वर्षौं बाहिर पनि बस्छौं’ भन्ने प्रश्न उठाएका छन् ।

भुल्न नहुने कुरा के हो भने, यही समाजमा हजारौं महिला आफूलाई यौनकर्मी भन्छन् र यौनकर्म गर्छन् अनि तिनीहरूका कथा पनि हाम्रा सफलता, संघर्ष वा सशक्तीकरण वा असफलताका कथाजस्तै हुन् भनेर बुझ्न वा स्विकार्न महिला अधिकारको वकालत गरिरहेका धेरै तयार छैनन् भन्ने वास्तविकता प्रकाश सपूतको गीतमा आएका ‘हामीलाई योनिमा सीमित गरिदिने ?’ जस्ता प्रश्नहरूले उजागर गर्छन् ।

प्रकाशित : वैशाख ६, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?