महिला आन्दोलनको दशा र दिशा

महिला आन्दोलन कहिले दल, कहिले संघसंस्था त कहिले अधिकारकर्मीको मात्र आन्दोलन बनेको देखिन्छ । सत्ता प्राप्तिमा समस्या पर्‍यो भने दलहरूले महिलाको मुद्दा छाड्ने गर्छन् ।
रीता साह

नेपालमा महिला आन्दोलनको इतिहास सय वर्ष पुरानो छ । प्रायः राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूसँगै महिला आन्दोलन पनि अगाडि बढेको देखिन्छ । व्यवस्था परिवर्तनपछि महिला आन्दोलनको माग पनि पूरा हुने मान्यता व्याप्त भए पनि त्यो कुरा व्यवहारमा लागू भएको छैन ।

२०४६ सालपछि विभिन्न महिलावादी संघसंस्थाहरूले पैतृक सम्पत्तिमा हक, वैवाहिक बालात्कारजस्ता मुद्दामा आन्दोलन गर्नुपरेको थियो । यसको अर्थ सय वर्षमा महिला आन्दोलनले केही उपलब्धि नै हासिल नगरेको चाहिँ होइन । नेपालको संविधानमा महिलाको हक, समानताको हक र सामाजिक न्यायको हक स्थापित भएका छन्, जस अनुसार महिलालाई राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएको छ । त्यस्तै, सामाजिक रूपले पछि पारिएको समुदायका लागि विशेष व्यवस्था छ । परिणामतः संघीय ससंद्मा ३३, प्रदेशमा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व सम्भव भएको छ । निजामती सेवामा २६ प्रतिशत महिला प्रतिनिधित्व पुगेको छ । बालविवाह, बोक्सी प्रथा, घरेलु हिंसा, यौन हिंसा लगायतका सामाजिक कुरीतिहरू रोक्नका लागि कानुनहरू बनेका छन् जसले महिला हिंसालाई न्यूनीकरण गर्न मद्दत गर्छन् । तर पछिल्लो समयमा कतिपय प्राप्त उपलब्धि गुम्ने क्रममा छन् । किन यस्तो भइरहेको छ ? महिला आन्दोलनले दिशा बिराएको हो कि ? यदि हो भने महिला आन्दोलनको दिशा के हुने हो ?

महिला आन्दोलनको दशा

कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन मुद्दा, संगठन, नेतृत्व र वैचारिक पक्षमा स्पष्टताको खाँचो पर्छ । २००७ सालअघि र पञ्चायतकालमा विभिन्न दलमा लागेका महिला नेताहरूले नै महिला आन्दोलन पनि हाँकिरहे । २०४६ सालपछि राजनीतिमा लागेका महिला नेताहरूसँगसँगै महिलाका नाममा खुलेका संघसंस्थाहरू, अघिकारकर्मीहरूले पनि विभिन्न अभियान र आन्दोलन चलाए । जस्तै, आमाको नाममा नागरिकता, सम्पत्तिमा महिलाको अधिकार सम्बन्धी अभियानहरूलाई लिन सकिन्छ । यसरी उठान गरेका मुद्दाहरू सम्बोधन भएपछि आन्दोलन सेलाएर जान्थे । दलहरूमध्ये सबैभन्दा स्पष्ट रूपमा माओवादी आन्दोलनले महिला मुद्दाको उठान गरेको थियो । परिणामतः २०६३ सालको अन्तरिम संविधानमा आमाको नाममा नागरिकता, राज्यको हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको अधिकार लेखियो । सत्ताको राजनीतिमा गएपछि माओवादीहरूले पनि बिस्तारै महिलाको मुद्दा छाड्दै गए । २०६३, २०६४ र २०७२ सालमा मधेशमा भएका आन्दोलनहरूले पनि मधेशी लगायत सीमान्तीकृत महिलाको मुद्दा उठान गरे । २०७२ सालको संविधानमा केही मुद्दाहरूको सम्बोधन पनि भयो । अहिले भने मधेशी दलको प्राथमिकतामा पनि महिलाका मुद्दा पर्न छाडेको छ । समग्रमा हेर्दा महिला आन्दोलन कहिले दल, कहिले संघसंस्था त कहिले अधिकारकर्मीको मात्र आन्दोलन बनेको देखिन्छ । सत्ता प्राप्तिमा समस्या पर्‍यो भने दलहरूले महिलाको मुद्दा छाड्ने गर्छन् । उदाहरणका लागि वैवाहिक अंगीकृत नागरिकतामा माओवादीले आफ्नो अडान छाडेको देखियो । त्यस्तै विभिन्न संघसंस्थाले पनि दातृ निकायबाट सहयोग पाउन्जेल महिलाका मुद्दामा आन्दोलन चलाउने र सहयोग बन्द भएपछि छाड्ने गरेका छन् । कतिपय अवस्थामा संस्थाको उद्देश्य मिल्ने अवस्थामा आन्दोलनमा साथ दिने नभए मौन बसिदिने पनि देखिँदै आएको छ । विभिन्न दलका महिला नेताहरूले पनि यस्ता मुद्दामा पार्टीभित्र दबाब बढाउन सकेका छैनन् । पाटीको समर्थन छ भने आवाज उठाउने, छैन भने पाटीको लाइनविरुद्ध बोल्ने जोखिम नलिने प्रचलन छ । समग्रमा महिला आन्दोलन दिशाहीन, ढुलमुले र मौसमी बन्दै गएको छ ।

मुद्दा र संगठन ः राणाकालमा महिला आन्दोलनको नारा बालविवाह र बहुविवाहको विपक्षमा र बालिका शिक्षाको पक्षमा थियो । प्रजातन्त्र आएपछि मतदानको अधिकार, राजनीतिक प्रतिनिधित्व, पैत्रिक सम्पत्तिमा समान अधिकार र समान कामको समान ज्यालाजस्ता विषयमा महिला आन्दोलन केन्द्रित थियो । गणतान्त्रिक व्यवस्थामा नागरिकतामा लैंगिक समानता, राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दामा महिला आन्दोलन केन्द्रित रहँदै आएको छ । राणाकालदेखि गणतन्त्र अघिसम्म महिला आन्दोलनका मुद्दाहरू राजनीतिक तथा संवैधानिक अधिकार प्राप्तिमा केन्द्रित थिए । ती अधिकारहरू प्राप्त भएपछि कतिपयले महिला आन्दोलन पूरा भएको सोच बोकेको पाइन्छ । तर अहिलेसम्मका नेपालको महिला आन्दोलनले महिलाभित्रका पनि सीमान्तीकृत महिलाको फरक मुद्दालाई उठान गरेका छैनन् । नेपालको महिला आन्दोलनले सबै महिलालाई एउटै बास्केटमा राखेर व्याख्या विश्लेषण गरेको पाइन्छ । सबै समुदायका महिलाको समस्या, भोगाइ र विभेद समान प्रकारका छैनन् । दलित महिलाले भोग्ने जातीय छुवाछुत अन्य महिलाले भोग्नु पर्दैन । मधेशी महिलाले रंग, भाषा र राष्ट्रियताको नाममा भोग्ने विभेद अन्य महिलाको भन्दा फरक छ । आदिवासी जनजाति र मुस्लिम महिलाले भोग्ने धार्मिक विभेद अन्य महिलाले भोग्नु पर्दैन । अपांगता भएको महिलाले शारीरिक रूपले विभेद भोग्दै आएका छन् । नेपालको मूलधारको महिला आन्दोलनले सीमान्तीकृत समुदायका महिलाको फरक सवाललाई आफ्नो मुद्दा कहिल्यै बनाएन, जसले गर्दा सीमान्तीकृत समुदायको महिलाहरू मुद्दागत रूपले विभाजित छन् ।

त्यस्तै, नेपालको महिला आन्दोलनले समाज र परिवारमा रहेको पितृसत्तात्मक सोच र उत्पीडनका विषयलाई आन्दोलनको मुद्दा बनाएको देखिँदैन । जबकि राज्यको हरेक संरचना पितृसत्तात्मक मूल्य, मान्यताबाट निर्देशित छ । पितृसत्तात्मक मूल्य, मान्यताका कारण महिलाले प्राप्त गरेका उपलब्धि खोसिने क्रम जारी छन् । उदाहरणका लागि हालै सम्पन्न उपराष्ट्रपतिको निर्वाचनलाई लिन सकिन्छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । दलहरूले गठबन्धन गरी फरक लिंगको सट्टा फरक समुदायको पुरुष नेतालाई निर्वाचित गरे । दलहरूले चाहेको भए महिलालाई पनि जिताउन सक्थे । त्यस्तै स्थानीय तहको चुनावमा पनि दलहरूले गठबन्धन गरी मेयर र उपमेयरमा फरक–फरक दलले पुरुष नेतालाई नै उम्मेदवार बनाएका थिए । यी दुवै बेला जानीजानी महिलालाई ‘बाइपास’ गरियो जसले दलभित्रको पितृसत्तात्मक मनोविज्ञानलाई उजागर गर्छ ।

गैरसरकारी संस्थामा आबद्ध महिलाहरू पनि विभाजित छन् । जस्तै, महिला हिंसाका क्षेत्रमा काम गर्ने संस्थाले महिला हिंसाको मात्र मुद्दा उठान गर्ने, वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मीले वैदेशिक रोजगारीका समस्या मात्र उठान गर्ने गरेका छन् । यसरी नेपालको महिला आन्दोलनको मुद्दा महिला नेता, संघसंस्था र अधिकारकर्मीहरूमा विभाजित हुने गरेको छ ।

नेतृत्व र वैचारिक पक्ष ः कुनै पनि आन्दोलनलाई सफलतामा पुर्‍याउन त्यसको नेतृत्वको ठूलो भूमिका रहन्छ । नेपालको महिला आन्दोलनको नेतृत्व पनि अस्थायी र मौसमी प्रकृतिको रहेको देखिन्छ । महिलाका मुद्दामा कहिले दलका महिला नेताले नेतृत्व लिए भने कहिले संघसंस्थाका अधिकारकर्मीहरूले । कहिलेकाहीँ कुनै मुद्दामा संयुक्त रूपले पनि नेतृत्व लिएको पाइन्छ । उदाहरणका रूपमा निर्मला पन्तको घटनामा महिला नेताहरू अधिकारकर्मीहरूसँगै सडक आन्दोलनमा थिए । त्यस्तै संविधान बन्ने बेलामा महिलाका मुद्दालाई देशको मूल कानुनमा स्थापित गराउन महिला नेता र अधिकारकर्मीहरूसँगै आन्दोलनमा थिए । तर संविधान जारी भइसकेपछि उनीहरूको सहकार्य निरन्तर रहेन ।

नेपालको महिला आन्दोलनलाई सही दिशामा अगाडि बढाउन यसको सैद्धान्तिक वा विचारधारात्मक पक्षको प्रस्टता उत्तिकै आवश्यक छ । जस्तो, विश्वव्यापी महिला आन्दोलनको पहिलो लहर १८ औं शताब्दीमा सुरु हुँदा उदारवादी नारीवादी धारबाट निर्देशित थियो । त्यसमा शिक्षामा समान अवसर, प्रजनन सम्बन्धी अधिकारहरू, समान श्रमको समान ज्यालाजस्ता मागहरू थिए । त्यस्तै महिला आन्दोलनको दोस्रो लहरले उग्र नारीवादी धारको अवधारणा अगाडि सार्दै महिला उत्पीडनको मूल कारण पितृसत्तात्मक सोच, मूल्य–मान्यता र अभ्यास हो भनेको थियो । महिला आन्दोलनको तेस्रो लहरले सबै महिलाको समस्या एकै प्रकारको हुँदैन, महिलाभित्र पनि विविधता छ भन्दै उत्तरआधुनिक नारीवादको अवधारणा अगाडि सार्‍यो । महिलाले केवल लिंगको आधारमा विभेद भोग्दैन बरु रंग, जात, वर्ग र इथ्निसिटीका आधारमा पनि विभेद भोगेको हुन्छ भन्यो ।

तर नेपालको महिला आन्दोलन सुरु भएको लगभग सय वर्ष पुग्दा पनि वैचारिक रूपमा प्रस्ट नहुनु यसको कमजोर पक्ष हो । आन्दोलनका अगुवाहरू स्वयंमा पनि अस्पष्टता रहनु समस्या हो । अहिले पनि कतिपयले आफूलाई महिला अधिकारकर्मी वा मानवतावादी हुँ तर नारीवादी होइन भन्छन् । जबकि महिला अधिकारकर्मी, नारीवादी वा महिलावादी भन्नु उस्तै–उस्तै हो । कतिपयले आफूलाई उदारवादी नारीवादी भन्न रुचाउँछन् । परिणामतः महिला आन्दोलनलाई सबैले आआफ्नै तरिकाले व्याख्या र विश्लेषण गर्ने गर्दछन् ।

आन्दोलनको अबको दिशा

पहिलो, नेपालको महिला आन्दोलनलाई सही दिशा दिनका लागि वैचारिक रूपले प्रस्ट हुनैपर्छ । कुन विचारधाराले महिला आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सकिन्छ, त्यसबारे बहस छलफल हुनुपर्छ । दोस्रो, महिला आन्दोलनको मुद्दालाई पुनर्परिभाषित गर्नुपर्छ । महिलाको साझा मुद्दा र सीमान्तीकृत समुदायका महिलाको फरक मुद्दालाई पनि सँगसँगै उठान गर्नुपर्छ । तेस्रो, महिला आन्दोलनको अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ।वभिन्न दलभित्र पनि महिलाभित्रका विविधताका मुद्दाहरू बहसमा आउनुपर्छ । महिलाका मुद्दामा दलहरूबीच सहकार्यको माहोल बन्नुपर्छ । महिलावादी पुरुषहरूलाई पनि महिला आन्दोलनमा जोड्न सक्नुपर्छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

खुकुलो नीति बनाउन लघुवित्तले थाले ‘लबिइङ’

राष्ट्र बैंकले कडाइ गरेको एक महिनामै लघुवित्त संस्थाद्वारा खुकुलो नीतिको माग, भन्छन्, ‘संस्था जोगाउन मुस्किल भयो’
यज्ञ बञ्जाडे

काठमाडौँ — एउटै व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा दिन पाउने नीतिगत व्यवस्थाका लागि लघुवित्त वित्तीय संस्थाले फेरि ‘लबिइङ’ सुरु गरेका छन् । अनियन्त्रित रूपमा ऋण प्रवाह गरेकै कारण लघुवित्त वित्तीय संस्थामा चरम विकृति आएको निष्कर्षका आधारमा राष्ट्र बैंकले एउटा व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा प्रवाह गर्न नपाउने नीतिगत व्यवस्था गरेको थियो ।

उक्त व्यवस्था गरेको एक महिना पनि नबित्दै लघुवित्त वित्तीय संस्थाहरूले एउटा व्यक्तिलाई एकभन्दा बढी संस्थाले ऋण दिन पाउनुपर्ने, धितोमा १५ लाखसम्म ऋण प्रवाह गर्न पाइने पुरानो व्यवस्थाको निरन्तरता, सेवा शुल्कको सन्दर्भमा राष्ट्र बैंकले स्पष्ट व्यवस्था गर्नुपर्नेलगायत नीतिगत व्यवस्थाका लागि माग गरेका छन् ।

गत फागुन १० मा नेपाल राष्ट्र बैंकले साविकको नीतिगत व्यवस्था परिमार्जन गरी एउटा व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा प्रवाह गर्न नपाउने, कर्जा प्रवाहको सीमामा कमी, लाभांश वितरणमा कडाइलगायत व्यवस्था गरेको थियो । उक्त व्यवस्थाकै कारण हाल लघुवित्त वित्तीय संस्थाहरूको स्थायित्वमै समस्या देखिएको भन्दै निश्चित समयसम्मका लागि खुकुलो व्यवस्था गर्न लघुवित्त संस्थाको आग्रह छ ।

लघुवित्त वित्तीय संस्थाहरूको छातासंगठन लघुवित्त बैंकर्स संघले औपचारिक रूपमै खुकुलो नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंकलाई आग्रह गर्ने तयारी भएको स्रोतले बताएको छ । केके कुरामा खुकुलो व्यवस्था गर्ने भन्ने सम्बन्धमा कार्यकारी समितिमा छलफलसमेत भइसकेको छ । ‘राष्ट्र बैंकको पछिल्लो नीतिगत व्यवस्थाले लघुवित्तलाई टिक्नै नसक्ने अवस्था भयो,’ स्रोतले भन्यो, ‘नयाँ कर्जाको माग धेरैले घटेको छ भने पुरानो कर्जा असुलीमा समस्या छ । कर्जा असुली नभएपछि खराब कर्जा उच्च दरले बढेको छ ।’

लघुवित्तमा विकृति धेरै भएकाले तिनमा सुधार जरुरी भए पनि एकै पटक कडाइ गर्दा यस क्षेत्रमा समस्या सुरु भएको जानकारहरूको भनाइ छ । यसअनुसार परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका ऋणीहरूको एक पटकका लागि कर्जा नवीकरण र पुनर्तालिकीकरण गर्न पाउनुपर्ने, केही समयका लागि एक व्यक्तिले तीन संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्ने, धितोमा १५ लाख रुपैयाँसम्म कर्जा दिन पाउनुपर्ने, सेवा शुल्क सम्बन्धमा राष्ट्र बैंकको निर्देशन स्पष्ट हुनुपर्ने, लघुवित्तले पनि बैंकहरूबाट ओभरड्राफ्ट कर्जा लिन पाउनुपर्ने, बैंकले पनि लघुवित्तका ऋणीलाई कर्जा प्रवाह गर्न नपाउनेलगायत व्यवस्था गर्न लघुवित्त वित्तीय संस्थाको माग छ ।

राष्ट्र बैंकले एकै पटक नीतिगत कडाइ गर्दा लघुवित्त वित्तीय संस्थाहरूमा ऋण असुली र थप कर्जा प्रवाहमा समस्या देखिएकाले तत्कालका लागि केही नीतिगत खुकुलो बनाउन आवश्यक भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माको भनाइ छ । ‘एक जनाले एकभन्दा बढी संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले ग्रामीण भेगमा लघु ऋणीहरूको नगद प्रवाह नै प्रभावित बनेको छ,’ उनले भने, ‘हिजोसम्म ऋणीले एक संस्थाबाट लिएर अर्को संस्थाको ऋण तिर्दै आएका थिए । अहिले एउटाभन्दा धेरै संस्थाबाट ऋण नपाउँदा उनीहरूको नगद प्रवाहको स्रोत नै ठप्प भएको छ ।’ यही कारण निश्चित समयका लागि एउटा व्यक्तिले एकभन्दा बढी संस्थाबाट ऋण लिन सक्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमा औपचारिक आग्रह गर्नेबारे लघुवित्त बैंकर्स संघले निर्णय नै गरेको हो ।

‘हाम्रा मागबारे अन्तिम ड्राफ्ट तयार भइसकेको छ । सम्भवतः आइतबार र सोमबार राष्ट्र बैंकसमक्ष पठाउँछौं,’ उनले भने, ‘सधैंका लागि सहज व्यवस्था माग गरिएको होइन । लघुवित्त संस्थालाई टिकाउन पनि सहज व्यवस्था गर्नुपरेको हो ।’ परिस्थितिजन्य कारणले ऋण तिर्ने क्षमता नभएका र गत असोजसम्म सक्रिय वर्गमा रहेका ऋणीलाई आर्थिक सहयोग गरेर राहत दिन सकिन्छ कि भन्नेबारे सरकार र राष्ट्र बैंकसँग आग्रह गरिने पनि उनले बताए ।

‘खासगरी कोभिड संक्रमण, आर्थिक मन्दीका कारण आपूर्ति शृंखलामा समस्या, कर्जा असुलीमा व्यवधानलगायत कारण लघुवित्त संस्थामा खराब कर्जा ह्वात्तै बढेको छ,’ शर्माले थपे, ‘उनीहरूलाई कसरी राहत दिन सकिन्छ भन्नेबारे छलफल भएको छ ।’ संस्थाहरूले दैनिकी चलाउन पनि अप्ठ्यारो भएका ग्राहकलाई ग्राहक संरक्षण कोषबाट आर्थिक सहयोग दिइरहेको पनि उनले जनाए । ‘यति बेला ग्राहकलाई परेको आर्थिक अप्ठ्यारोलाई सहजीकरण गरिदिने काम पनि संस्थाकै हो,’ उनले भने, ‘यसकारण सबै संस्थाले आर्थिक रूपमा अप्ठ्यारोमा परेका ग्राहक छनोट गरी आर्थिक सहयोग गरेका छन् ।’ राष्ट्र बैंकको नीतिगत व्यवस्थाकै कारण अहिले लघुवित्त वित्तीय संस्थाको कर्जा संकुचन भएको छ, नयाँ कर्जा माग न्यून छ भने कर्जा असुलीमा पनि समस्या रहेको उनले बताए ।

विगतमा केही लघुवित्त संस्थाले गल्ती गरेकै कारण विपन्न वर्गका नागरिकको बिचल्ली भएको छ । त्यस्ता विकृति रोक्न भन्दै राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कठाइ गरेको छ । विगतमा कर्जा प्रदान गर्ने अधिकतम सीमा राष्ट्र बैंकले तोके पनि धेरै लघुवित्तले सीमाभन्दा बढी ऋण प्रदान गर्दै आएका थिए । सुरुमा विभिन्न प्रलोभन देखाएर ऋण दिने र पछि असुलीमा जबर्जस्ती गर्ने लघुवित्त संस्थाको बेथितिका कारण साना ऋणी मर्कामा परेका छन् । एउटै ऋणीलाई १३ लघुवित्तले ऋण लगानी गरेको समाचार कान्तिपुरले प्रकाशन गरेको थियो । पछिल्ला महिनामा लघुवित्तको ऋण तिर्न नसकेर धेरैले थातथलो छाड्नुपरेका घटना सार्वजनिक भइरहेका छन् ।

यसअघि एकभन्दा बढी लघुवित्तबाट ऋण लिएकालाई भुक्तानी तालिकाअनुसार चुक्ता गर्न छुट दिइएको छ । साविकमा कर्जा प्रवाहको सीमा (बिनाधितो ७ लाख र धितोमा १५ लाखसम्म) नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्तले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट कर्जा लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि अरू बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पनि लघुवित्तबाट ऋण लिन पाउँथे । नयाँ व्यवस्थाअनुसार लघुवित्तबाट ऋण लिँदा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा स्वघोषणा गर्नुपर्नेछ । लघुवित्त संस्थाले पनि कर्जा सूचना केन्द्रबाट सूचना लिएर सम्बन्धित ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्थासमेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांशमा पनि कडाइ गरेको छ ।

वित्तीय पहुँच नपुगेका ग्रामीण, दुर्गम तथा अति दुर्गम क्षेत्रमा विपन्न गरिब घरपरिवारमा बिनाधितो वित्तीय सेवा पुर्‍याउनु लघुवित्तहरूको मुख्य उद्देश्य हो तर केहीका गतिविधि सामन्ती, साहु महाजनको जस्तो भएको पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् । लघुवित्त संस्थाका गतिविधि हेर्दा विपन्न वर्गसम्म आर्थिक पहुँच पुर्‍याएर जीवनस्तर उकास्नेभन्दा पनि ऋण असुलीका नाममा अनावश्यक दबाब र डरत्रासमार्फत थातथलोबाट उठिबास गराउने देखिएको छ ।

चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया र कर्जा असुलीमा ज्यादतीले पीडित समस्यामा छन् । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वार्षिक अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर र वार्षिक १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही लघुवित्तले भने मासिक वा त्रैमासिक रूपमा कर्जा प्रवाह गर्ने, हरेक पटक सेवा शुल्क लिने, भाखा नाघ्दा वित्तीयकै ब्याजलाई पनि साँवामा परिणत गर्ने, थप ३/४ प्रतिशत हर्जाना ब्याज लगाउने, कर्जाका लागि स्वीकृत रकमको २० देखि २५ प्रतिशतसम्म रकम ग्राहककै खातामा राखिदिनेलगायत प्रक्रियामार्फत ग्राहकबाट बढी ब्याज असुलिरहेका थिए ।

गत पुससम्म लघुवित्त वित्तीय संस्थाहरूको कुल निष्क्रिय (खराब) कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । यो सोही अवधिमा लगानीमा रहेको कुल कर्जाको ४.६८ प्रतिशत हो । ०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत थियो । ‘समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा भनिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले ०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×