२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

‘प्रभुजी, भेडो बनाऊ !’

राजेन्द्र महर्जन

राजधानीको पनि बीच सहरमै भिडन्त, आगजनी र लुटपाट हुन्छ; देशको राजधानीको एक भागमा युद्धग्रस्त क्षेत्रजस्तो भयावह अवस्था सृजना हुन्छ, तर जनयुद्ध दिवसको बिदामा आराम फर्माएका शासकहरूलाई कुनै त्रासको अनुभूति हुँदैन ।

‘प्रभुजी, भेडो बनाऊ !’

घना बस्तीबीच ‘सुरक्षाकर्मी’ प्रहरीकै गाडी पल्टाइन्छ र आगजनी गरिन्छ, एम्बुलेन्ससमेत फोडिन्छ, पसलहरू लुटिन्छन्, तर प्रशासकहरू विशिष्ट विदेशी पाहुनाका कारण आफूहरू संयमित भएको व्याख्या गर्दै अकर्मण्यता लुकाउँछन् । यातायात मजदुर आन्दोलनको नाममा भएको वितण्डाका क्रममा गोलीबारी चलिरहेको हिंसाग्रस्त सडकमा जस्तै आम नागरिक हात उठाएर हिँड्न अभिशप्त हुन्छन्, जनमतबाट जितेका नगरपिता र राष्ट्रमाताहरू उपद्रव र भीडतन्त्रको वस्तुगत समीक्षा गर्नुको साटो भोजभतेरमा मग्न हुन्छन् । सडकमा देखिएको उपद्रव र भीडतन्त्रभन्दा कम भयावह छैन— नेपाली राज्य र राज्य सञ्चालकहरूको मौनता, अकर्मण्यता र बेवास्ता ।

केही सांसदले ग्वंगःबुँ (गोंगबु) काण्डबारे संसद्मा बोल्दा शून्य समय त कटनी भयो होला, उत्पातको निदान (डायग्नोसिस) गरिएन भने अमूल्य शब्दहरू पनि शून्यमा हराउन सक्छन् । ‘घटनाको गम्भीर छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाहीका लागि’ प्रधानमन्त्रीले दिएको निर्देशनसमेत एकदुई व्यक्तिको गिरफ्तारीको कर्मकाण्डमै सीमित हुन सक्छ । जबकि उत्पातको पृष्ठभूमि, कारण, कारकतत्त्व र समाधानका उपायबारे गम्भीर अध्ययन, अनुसन्धान र मन्थन गरिएन भने आन्दोलनका नाममा भएको उपद्रव र भीडतन्त्र कुनै निहुँमा दोहोरिने खतरा छ ।

वार्ताबाटै समाधान हुने यातायात मजदुरका मागको सम्बोधनका लागि सार्वजनिक वितण्डा स्वीकार्य हुन सक्दैन । आन्दोलनको आवरणमा भएको उपद्रवबारे विभिन्न मजदुर संगठन, तिनका राजनीतिक मातृसंस्था तथा तिनका नेताहरूले गम्भीर आत्मसमीक्षा र आत्मालोचना गरेनन् भने उनीहरूले प्रत्यक्ष वा परोक्ष रूपमा वितण्डालाई प्रश्रय दिएको ठहरिनेछ । हुन त सरकारी भाष्यले यस्तो वितण्डालाई सामान्यतः शान्ति–सुरक्षाको अहम् सवाल मात्रै मानेको हुन सक्छ । यस्तो भाष्यले आगजनी र लुटपाटको घनत्व र गहिराइलाई नै हलुका पार्न सक्छ । यस्तो उपद्रव र भीडतन्त्रबारे समयमै निदान, उपचार र समाधानको बुद्धिमानीपूर्ण पहल गरिएन भने यो जंगलको आगोसरि चारैतिर फैलिन सक्छ ।

हूल र हुल्याहा

नेपालको इतिहासमा पटकपटक भीड उर्लिएको छ, उपद्रव वा विद्रोह वा हूल उठेको छ, चाहे त्यो संघर्ष, आन्दोलन र क्रान्तिको नारामा होस् या धर्म, संस्कृति, भाषा र जाति–समुदायको नाममा । सचेत, संगठित र सुनियोजित रूपमा सडकमा उत्रिँदा राजनीतिक भीडले सही दिशा र उचित परिणाम निकाल्ने गरेको छ । तर, धर्म, संस्कृति, भाषा र जाति–समुदायका नाममा उपद्रो मच्चाउने धेरैजसो बहुसंख्यकवादीको भीडले हिंसा, आगजनी, लुटपाट मच्चाएर ‘सामाजिक सद्भाव’ को धज्जी उडाएको छ; उत्पीडित जनका अधिकार, अस्तित्व र आत्मसम्मानलाई नराम्ररी कुल्चेको छ । ग्वंगःबुँ उत्पातले सम्झाइदिएको २०५७ पुस ११ को ‘हृतिक रोशन काण्ड’ र २०६१ भदौ १६ को ‘कालो बुधबार’ ले बहुसंख्यकवादी भीडको राजनीतिक चरित्रलाई उजागर गरेको छ । हृतिक रोशन काण्डमा ‘फेक न्युज’ (मिथ्या समाचार) का आधारमा भारत/भारतीय, मधेश/मधेशी र कालो रङ्गविरोधी श्वेत पहाडे राष्ट्रवादले सडकमा नांगो नाच देखाएको थियो । रङ्गभेदी नामले नै चिनाइएको ‘कालो बुधबार’ मा बहुसंख्यकवादी हुल्याहाहरूले कालो रङ्गका मधेशी, विशेषतः इस्लाम धर्मावलम्बी मुसलमान समुदायलाई धर्म र सम्प्रदायका आधारमा हिंसा र घृणाको सिकार बनाएका थिए ।

वैदेशिक रोजगारीमा गएका १२ नेपाली इराकमा मारिएपछि भदौ १६ गते काठमाडौंमा मुसलमान समुदायविरुद्ध भएको विध्वंस न पहिलो थियो, न त अन्तिम नै । राजनीतिशास्त्री डा. महेन्द्र लावतीले ‘नेसनालिजम एन्ड एथ्निक कन्फ्लिक्ट इन नेपाल’ मा उल्लेख गरे अनुसार, ‘हृतिक रोशन काण्ड’ र ‘कालो बुधबार’ प्रकरणअघि र २००७ सालपछि इस्लाम धर्म र मुसलमान समुदायलक्षित आठवटा हिंस्रक दंगा भएका थिए, विशेष गरी महोत्तरी, बारा, रौतहट, तुलसीपुर–दाङ र नेपालगन्जमा । त्यस्तै, राष्ट्रभाषाको मामिलामा हिन्दी भर्सेस नेपालीको विवादमा मधेशमा भिडन्त भएको छ । २०६२/६३ सालको जनआन्दोलनपछि मात्रै पनि कपिलवस्तु, घोराही–दाङ, बुटवल–रूपन्देही, नेपालगन्ज र टीकापुर–कैलालीमा मुसलमान र थारू समुदायविरुद्ध धार्मिक–जातीय दंगाको साम्प्रदायिक राजनीति गरिएको देखिन्छ ।

गोवधका नाममा आमहत्या र विध्वंस

फेक न्युजका आधारमा बहुसंख्यकवादी भीड जुट्ने र साम्प्रदायिक भिडन्त हुने खतरनाक प्रकरणको सबैभन्दा डरलाग्दो उदाहरण हो- २०२८ असोजमा भएको रौतहट–बाराको गाई काण्ड र हिंसात्मक वारदात । राजा महेन्द्रले देशलाई हिन्दु राष्ट्र र हिन्दुहरूकी माता मानिने गाईलाई राष्ट्रिय जनावर घोषणा गरेपछि सम्भवतः नेपालको इतिहासमा सबैभन्दा रक्ताम्य साम्प्रदायिक दंगा र हिंसा भड्किएको अध्येता मोलिका दस्तिदारको जिकिर छ । रौतहटको भुसाहामा गोवध गरिएको हल्लैहल्लाका भरमा पञ्चहरूको अगुवाइमा गाईपूजक हिन्दु भीडले दुवै जिल्लाका मुसलमान बस्तीहरूमा १२ दिनसम्म हमला गरेको थियो । आगजनी गरी बस्तीका बस्ती नै उजाड्ने र लुटपाट गर्ने क्रममा रौतहटमा २७ जना र बारामा २४ जना मारिएको एकसदस्यीय सरकारी छानबिन समितिको रिपोर्ट छ । यति ठूलो साम्प्रदायिक दंगा र धार्मिक हिंसाको घटना पनि महेन्द्रीय राष्ट्रवादको कार्पेट र सामाजिक सद्भावको सुकुलमुनि नै दबिएको छ ।

नेपालमा हल्ला वा नक्कली सूचना वा मिथ्या खबरका आधारमा बन्ने बहुसंख्यकवादी भीडले गर्ने हमलाको निसाना मूलतः क्षेत्रीय हिसाबले मधेशी, धार्मिक र सामुदायिक हिसाबले मुसलमान र इसाई (क्रिस्चियन) हुने गरेको लावती र दस्तिदारका अध्ययनबाट देखिन्छ । यसरी नियोजित रूपमा हमला गर्ने वा मौका छोपेर दंगा भड्काउनेहरूले खुलेआम घटनाको जिम्मा लिँदा पनि कानुनी कारबाही नहुने र त्यसबारे गहन अध्ययन–अनुसन्धान नगरिने भएकाले अपराधीहरूले उन्मुक्ति पाउने र भीडतन्त्रको अपराध ओझेलमा पर्ने गरेको छ ।

यहाँ भीड, दंगा र हिंसासँग मिथ्या खबर वा हल्लाको अन्तरसम्बन्धबारे गहिरो अध्ययन नगरिएका कारण बहुसंख्यकवादी भीडको प्रत्यक्ष वा परोक्ष राजनीति, त्यसको जगमा रहेको आर्थिक–सांस्कृतिक कारण तथा ती सबैले बनाउने मनस्थितिबारे धेरै कुरा अज्ञात नै छ । यहाँ सयौं वर्षदेखि नै परिवार, समाज र राज्यजस्ता संस्थाबाट संस्थापन पक्षका ब्राह्मणीय शास्त्र, शिक्षा र सञ्चारमाध्यम खासमा अन्धता, विश्वास, आस्था, अनुकरण, आज्ञापालनको विस्तारका लागि उपयोग हुँदै आएकाले आममान्छे भीडमा रमाउने गर्छन्; भीडतन्त्रमै आफ्नो सुरक्षा खोज्ने गर्छन् । जबकि धर्म–देवता, शास्त्र–शास्त्री, शिक्षा–शिक्षकमाथि सन्देह, प्रश्न र विमर्श गर्न सिकाउने आलोचनात्मक श्रामणीय धारमाथि दमन र भ्रष्टीकरणको फलस्वरूप भीड निर्माण सहज हुँदै आएको छ । राजनीतिक रूपमा नेपालीहरू रैती र दुनियाँबाट प्रजा, जनता, नागरिक हुने क्रम जारी छ । जबकि राजनीतिक–सांस्कृतिक संघर्ष तीव्र, सघन र व्यापक नहुँदा हामीहरू धेरैजसो भीड बन्ने गरेका छौं; भेडिया–धसानमा रमाउने गरेका छौं, आँखा चिम्लेर कसैको पिछलग्गु बन्ने गरेका छौं । एक जना नायक, एक हल्ला, एक प्रचार, एक टिकटकको पछि–पछि लाग्ने हाम्रा पुरातन सिद्धान्त र रूढिग्रस्त व्यवहारले लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्दै छन्— ‘प्रभुजी, भेडो बनाऊ !’

‘ट्रस्ट, ओबे, फाइट !’

जब–जब समाज र राज्यप्रति मानिसहरूमा निराशा, कुण्ठा, क्षोभ, अविश्वास र असन्तोषसँगै आक्रोश फैलिन थाल्छ, तब–तब नायक वा महापुरुष वा जीवित भगवान्हरूको जन्म हुँदो रहेछ । यस्तै एक महापुरुष इटालीमा समाजवाद र राष्ट्रवादको मिश्रित सिद्धान्त बोक्ने बेनितो मुसोलिनीका नाममा जन्मेका थिए, जसले लोकरिझ्याइँ र दमनका आधारमा दुई दशकसम्म निर्मम शासन गरेका थिए । विभिन्न पत्रिका र भाषणद्वारा आगो ओकल्ने र युवा भक्तहरूद्वारा विरोधीहरूलाई हमला गर्ने चतुर्‍याइँ देखाएर ‘इल दुचे’ (एक मात्र नेता) बनेका मुसोलिनीको मुख्य नारा थियो— ‘ट्रस्ट, ओबे, फाइट !’ (विश्वास गर, आज्ञा पालन गर अनि संघर्ष गर) । यही नारासँगै उनको फासिस्ट पार्टीले देश, राज्य र समाजमाथि कठोरतापूर्वक शासन मात्रै गरेको थिएन; जनगणको मनमस्तिष्कलाई समेत भेडो बनाउने गरी अनुशासित (रेजिमेन्टेसन) गरेको थियो । र, शासित–अनुशासित हुन अस्वीकार गर्ने मार्क्सवादी चिन्तक अन्तोनियो ग्राम्सीजस्ताको आलोचनात्मक मगजलाई जेलमै सडाउन खोजेका थिए ।

चिन्तक प्रदीप गिरि फासीवाद–नाजीवाद भोगेका जर्मन नाटककार एवं कवि बर्तोल्त ब्रेख्तको नाटक ‘ग्यालिलियो’ को संवाद उद्धृत गर्दै भन्ने गर्थे, ‘जुन समाजलाई नायक चाहिन्छ, त्यो समाज नै अभागा समाज हो ।’ ब्रेख्त र गिरिले भनेर के गर्ने, नेपाली समाजले पनि नायकका रूपमा महापुरुष वा भगवान्को खोजी गरिसकेको छ । अभागी समाजलाई भगवान् चाहिने र भगवान्‌लाई पनि अभागी समाजका भीड वा भक्त चाहिने‚ भीडतन्त्र चलाउन वा भक्तजन फैलाउन भ्रामक खबरको खुराक आवश्यक हुने‚ भ्रामक सूचना र मिथ्या खबर भगवान्को सबैभन्दा उपयोगी शस्त्र–अस्त्र हुने र हामी बाँचिरहेको विश्वमा फैलिएका भगवान्हरूले गर्ने लोकरिझ्याइँ (पपुलिजम) को राजनीतिका सबैभन्दा प्रभावकारी औजार हुन्- सूचनाको हेराफेरी, अन्धविश्वासको प्रचार र आज्ञापालकहरूको फैलावट । जति हदसम्म युट्युबे वा टिकटके हुन सकिन्छ, जति हदसम्म सूचनाको हेराफेरी गर्न सकिन्छ, जति हदसम्म लोकलाई (मनो)रञ्जन दिन र एक मात्र विश्वस्त नेताको भ्रम दिन सकिन्छ, त्यति हदसम्म महान् राजा वा मायावी तानाशाह बन्ने न हो । मिडिया अनुसन्धाता डा. हर्षमान महर्जनले भनेझैं, ‘मूलतः यस्ता नयाँ स्वरूपका मिडियाले राजनीतिमा पपुलिजमलाई प्रभुत्वशाली बनाउने हो ।’ पहिले शास्त्र र शिक्षाले गर्ने काम अहिले नयाँ सञ्चार अनेक माध्यमले गर्दै छन्; अन्धता, आसक्ति, अतार्किकता, अवस्तुवाद र अनालोचनात्मकताको भावभूमि फैलाउँदै मायावी नेताहरूको प्रभुत्व र वर्चस्व विस्तार गर्दै छन् । यही अन्धताको भावभूमिमा युवा जुझारुपनाको भावना र कुनै पनि खालको राष्ट्रवादको झोल मिसाइयो भने भीडतन्त्र तयार हुन्छ । यहाँ पनि तयार हुँदै छ, नेपाली फासीवादका रूपमा ।

नेपाली फासीवादको झझल्को

भीडतन्त्र वा फासीवादका आर्थिक–राजनीतिक पृष्ठभूमि, कारण र कारकतत्त्वबारे अनेक जोड–कोणबाट अध्ययन भएको छ । त्यसो त टोपबहादुर सिंहको अध्यक्षतामा सातसदस्यीय जाँचबुझ आयोगको प्रतिवेदनले नेपालमा पनि भदौ १६ को काण्डमा विध्वंस एवं तोडफोडमा संलग्न व्यक्तिहरूका केही राजनीतिक र आर्थिक पृष्ठभूमि बताउँछ । प्रतिवेदन अनुसार, पक्राउ परेकाहरूमा राजनीतिक हिसाबले सात जना कांग्रेस, पाँच जना एमाले र एक जना नेपाल शिवसेना समर्थक थिए । र, पेसाका हिसाबले होटल–रेस्टुरेन्टमा काम गर्ने, प्लम्बर, पेन्टर, सिकर्मी, डकर्मी, टुरिस्ट गाइड, विद्यार्थी, सिलाइ–बुनाइ गर्ने, चालक र बेरोजगार युवाचाहिँ लुटपाट र विध्वंसमा सहभागी थिए । हृतिक रोशन काण्डभन्दा अघिपछिका अनेक साम्प्रदायिक दंगा र हिंसामा संलग्न व्यक्तिहरूको अर्थ–राजनीतिक आधार मात्रै होइन, सांस्कृतिक पृष्ठभूमिबारे अध्ययन–अनुसन्धान गरियो भने पनि नेपाली भीडतन्त्रका धेरै आयाम उजागर हुनेछन् ।

२०७६ सालमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहनको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने प्रहरी हिरासतमा रहँदा ११ दिन र रिहाइपछि दुई दिनसम्म चितवनका सडकमा भएको विरोध प्रदर्शनमा संलग्न भीडको मनोविज्ञानबारे डा. युवराज लुइँटेलले समाजशास्त्रीय व्याख्या गर्न खोजेका छन् । उनका अनुसार, ‘रविलाई फसाइँदै छ’ भन्ने कुराको कुनै विश्वसनीय आधार नभईकनै, लहैलहैको भरमा, फेसबुके प्रोपगान्डाकै भरमा जति धेरै मानिस चितवनका सडकमा झरेका थिए, त्यो आश्चर्यजनक रह्यो । शंकालाई उछालेर आवेग उत्पन्न गर्न, राज्यसंयन्त्रलाई शत्रुका रूपमा चित्रण गरी प्रतिरोधी भावनालाई जीवन्त राख्न र प्रोपगान्डाहरूलाई फ्याँकेर उत्तेजना कायम राखी भीडको आकार घट्न नदिन ज्ञानेन्द्र शाही, रमेश प्रसाई, पुण्य गौतमजस्ता ‘हल्लाकार’ को प्रभावकारी उपस्थितिले काम गर्‍यो । राज्यसंयन्त्र र प्रशासनप्रतिको गहिरो अविश्वास तथा राज्यसंयन्त्रले वस्तुगत आधारभन्दा पनि अमुक शक्तिकेन्द्रको दबाब र प्रभावमा काम गर्न सक्छ भन्ने भयको मानसिकतालाई भीड जुटाउन राम्ररी भजाइएको थियो ।

भीडतन्त्र वा फासीवादको सामाजिक–आर्थिक व्याख्या नगरीकन ‘द मास साइकोलोजी अफ फासिजम’ मा मनोचिकित्सक डा. विल्हेम राइसले भने यसलाई त्यस्ता आम मानिसको विवेकरहित वा अतार्किक (इरासनल) आचरण र चरित्रको अभिव्यक्ति माने, जसको जैविक आवश्यकता र दैहिक जरुरत र प्रवृत्तिलाई सयौं वर्षदेखि दबाइएको छ । भीडतन्त्रले राजनीतिक आकार लिइसकेको नेपाली समाजमा यसलाई दलाल पुँजीवाद र लोकतन्त्रको डेलिभरीमा असफलताको राजनीतिक परिघटना मात्रै मान्नु अपूर्ण व्याख्या हुन सक्छ । एकसे एक हल्लाकार र हुल्याहाहरू नै सांसद, राजनीतिक संस्था र संसदीय दलका नाइके भइसकेको अवस्थामा नयाँनयाँ भगवान्हरू र उनीहरूका भक्तहरूको समाजशास्त्रीय र राजनीतिक विश्लेषणसँगै मनोव्याख्या पनि गर्नु जरुरी भइसकेको छ- भीडतन्त्रबाट उदाएका भगवान्हरूको मनोदशा कस्तो छ ? के उनीहरूको अगुवाइमा नेपालमा पनि मायावी तानाशाहको उदय सम्झव छ ?

प्रकाशित : फाल्गुन ९, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?