कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निराशा बढ्दै गए मनोचिकित्सक भेटौं

जोकसैलाई पनि जीवनप्रति निराशा, हतोत्साह या मर्ने चाहना बढ्दै गएको जस्तो लागेमा या त्यस्ता मनोभाव भएका व्यक्तिहरू सम्पर्कमा आएको देखिएमा मनोपरामर्शका लागि कदापि ढिलो गर्नु हुँदैन ।
अजय रिसाल

लगभग दुई हप्ताअघि देशको संघीय राजधानीमा, विधायिकी भवनअगाडि नै बीच सडकमा एउटा हृदयविदारक घटना भयो । त्यस घटनाको परकम्पले मुलुक अझै पनि त्रस्त छ । ‘एउटा होनहार युवाले खुला सडकमा आफैंलाई आगो लगाएर आफ्नो हत्या गर्ने प्रयास गर्नु, अझ सफलै पनि बन्नु’ आजको सभ्य कहलिएको समाजमा लाजमर्दो विषय नै हो ।

निराशा बढ्दै गए मनोचिकित्सक भेटौं

त्यस घटनाको केही महिनाअगाडि एक युवतीले आफ्नो पूर्वनिर्धारित वैवाहिक समारोह असफल हुन लागेको मानेर काठमाडौंकै मुख्य चोकमा त्यसरी नै आत्मदाह गरेको समाचार सबै मिडियामा छाएको थियो । संसद् भवनअगाडिको त्यो घटनापछि पनि पोखरा, वीरगन्ज, विराटनगरजस्ता सहरहरूमा आत्मदाह अनि यस्तै प्रकृतिका आत्महत्याका घटनाहरू भए ।

मनोचिकित्सकका नाताले मैले समाजमा बढ्दै गइरहेको आत्महानिका यस्ता डरलाग्दा तथ्यहरूलाई खालि समाचारकै तहमा राखेर हेर्न मिल्दैन । अझ ती युवकले आत्मदाह गर्नुअगाडि सामाजिक सञ्जालमा राखेका लामालामा ‘स्टाटस’ अनि तिनमा अन्तर्निहित गम्भीर मनोभावहरूलाई कसैले पनि बेवास्ता गर्न सक्दैन । आफूले पढे–लेखेका, देखे–जानेका अनि खोज–अनुसन्धान गरेका विषयहरूका आधारमा मात्रै जुनसुकै विषयको वस्तुनिष्ठ धारणा राख्ने अनि तिनलाई प्रवाहित गर्नुपर्ने हुन्छ, त्यही नै वैज्ञानिक चिन्तन प्रणाली हो । त्यसैले पनि मनोचिकित्साका क्षेत्रमा काम गरेको नाताले मैले उपर्युक्तजस्ता घटनाहरूको मिहिन अध्ययन गर्ने गरेको छु ।

हामीले अस्पतालमा उपलब्ध तथ्यांकहरूका आधारमा गरेका अध्ययनहरूले मात्र नभई, समुदायमा आधारित रहेर गरिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुसन्धानहरूले समेत आत्महानि भनौं या आत्महत्या (आत्मदाह यसैको अति चरम रूप हो) मा ९०–९५ प्रतिशत मनोसामाजिक समस्याहरू, अझ भनौं मानसिक रोगहरू नै सम्बन्धित हुने देखाएका छन् । आत्महत्याको प्रयास गरेका कारण अस्पतालमा ल्याइएका व्यक्ति अनि आफन्तहरू या आत्महत्या पूर्ण गरेर मृत्युवरण गरेका व्यक्तिहरूका परिवार–आफन्तजन, साथी–सहकर्मीहरू अनि अरू नजिकका व्यक्तिहरूमा त्यस्तो अध्ययन गरिएको हुन्छ । ती व्यक्तिहरूका जीवन भोगाइ, स्वास्थ्य सम्बन्धी टिपोट अनि अन्तरसम्बन्धमा आइपरेका आरोह–अवरोह आदिको पनि त्यस्ता अध्ययनहरूमा विश्लेषण गर्ने गरिएको हुन्छ । त्यसैले आत्महत्या मानसिक रोगहरूको जटिलतम अवस्था नै हो भन्ने हाम्रो मान्यता छ । अनि आत्महत्याबाट मनोरोगीहरूलाई जोगाउनु नै मनोचिकित्सा उपचार पद्धतिको प्रमुख उद्देश्य हो ।

करिब दुई हप्ताअघि आत्मदाह गरेका ती युवाको सामाजिक सञ्जालमा छाएको अन्तिम ‘स्टाटस’ को समानुभूतिपूर्वक अध्ययन गर्दा उनका विविध पाटा उजागर भएको पाउँछु म । चौबीस वर्षको उमेरमा बाबु गुमाएपछि जन्मस्थान छोडेर श्रीमती एवं कलिली छोरीका साथ काठमाडौं आई व्यवसाय गर्न थालेका ती युवाको बाह्र वर्ष (२०६७–७९) को व्यावसायिक जीवनको आरोह–अवरोहको सपाट वर्णन छ, त्यो लामो मनोवादात्मक स्टाटसमा ।

सुरुआती केही वर्ष विभिन्न कारणले गर्दा ट्राभल टुरिजम व्यवसायमा त्यति सफलता पाउन नसकेपछि आम नेपाली युवाहरूझैं विदेश गएका उनले कतार बसाइको चारवर्षे अवधिमा भने राम्रै कमाइ गरेका रहेछन् । उक्त कमाइले पुराना ऋणहरू चुक्ता गरीवरी केही बचतसमेत गर्न सकेका रहेछन् । उक्त बचतको सदुपयोग गर्दै कृषिउपजको भण्डारण केन्द्र स्थापना गरेका उनले त्यसपछि भने अनेक हन्डर–ठक्कर खान पुगेको देखिन्छ । सरकारी निकाय, स्थानीय एवं बहुराष्ट्रिय व्यावसायिक कम्पनीहरू, कर कार्यालय आदिका व्यवहार, अनि उधारो नउठ्ने, ठगी र धोकाधडीमा फस्ने आदि कारणबाट हतोत्साही भएका उनले आफ्ना व्यवसायको स्वरूप धेरै पटक परिवर्तन गरेका रहेछन् । व्यावसायिक जीवनमा असफलता मात्र हात लागेका उनलाई आफ्ना नातेदारहरूबाट पनि यथेष्ट सहयोग नभएको कुरासमेत झल्कन्छ स्टाटसमा । पुनः विदेश जाने प्रयास पनि असफल भएको देखिन्छ । यी सब कारणले गर्दा आफ्नो स्वत्व गिरेको, आफूलाई बेसहारा र बेकामेजस्तो बनाएको विषय पनि उल्लेख गरेका छन् उनले ।

‘सयौं पटक’ आत्महत्याको प्रयास गरेको तथ्य पनि उजागर भएको छ त्यो स्टाटसमा । आफैंले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरेको तर श्रीमती अनि छोराछोरीको मायाका कारण नसकेको स्वीकार गरेका छन् उनले । यसलाई हामी ‘सुसाइड काउन्टर’ भन्छौं, जसका कारण आत्महत्याको प्रयास केही मात्रामा भए पनि निस्तेज हुन्छ । केही महिनाअघि सुसाइड नोट लेखेर भारतको ब्रह्मपुत्र नदीमा हाम फालेको तर कसैले बचाएको कुरा पनि लेखेका छन् उनले ।

यी सब तथ्यबाट उनी कस्तो मनस्थितिमा थिए भन्ने स्पष्ट हुन्छ । अतः यो हृदयविदारक घटनामा पनि मनोसामाजिक कारक नै प्रमुख देखिन्छ । उनले बेलैमा मनोचिकित्साको सहारा पाएका भए यो घटना हुने थिएन कि भन्ने कुराले मेरो मनलाई नराम्ररी नै घोचिरहेको छ, अझै पनि । यसको मतलब, उनले अभिव्यक्त गरेका आर्थिक, सामाजिक, राजनीतिक, पारिवारिकजस्ता तमाम विषय गौण हुन् भन्ने किमार्थ होइन । उनका पीडाहरू सत्य हुन्, तिनको निराकरणका लागि उनले उठाएका मागहरू पनि साह्रै महत्त्वपूर्ण छन् । तर यस्ता पीडा बोकेका युवाहरू, व्यवसायीहरू देशैभरि छन्; संसारभरि नै छरिएका पनि होलान् । ती सबैले त आत्महत्या (अझ आत्मदाह नै) गरिहाल्दैनन् ! आत्महत्याका लागि प्रेरणा दिने अथवा त्यसतर्फ अभिप्रेरित गर्ने व्यक्तिको मनस्थितिले नै हो, मनोसामाजिक कारकतत्त्वले नै हो । तनाव व्यवस्थापनमा सहायता गर्न, निराशामा कमी ल्याउन, सहनशीलता एवं आत्मबलमा वृद्धि गर्न जैविक, मनोवैज्ञानिक अनि सामाजिक पक्षहरूको बराबर भूमिका हुने गर्छ । जैविक, अझै भनौं आनुवंशिक कारक तत्त्वहरूले मानसिक रूपमा प्रभावित व्यक्ति अथवा मनोवैज्ञानिक रूपमै कमजोर बन्दै हुर्केको व्यक्तिको जीवनचक्रमा तनाव व्यवस्थापनमा जति असहजता हुन्छ, त्यत्ति नै जैविक या मनोवैज्ञानिक हिसाबले सबल व्यक्तिमा हुँदैन । तनाव व्यवस्थापनमा असफल व्यक्ति आत्महत्याका लागि उद्यत रहने सम्भावना ज्यादा हुन्छ । त्यसकारण मनोसामाजिक समस्याहरूको निराकरणतर्फ सचेत पाइला चाल्न सकिएमा आत्महत्या न्यूनीकरण गर्न अवश्य सकिन्छ ।

अहिलेको परिवेशमा आत्महानिको व्यवहारले साँच्चै संक्रामक रूप नै लिन लागेको त होइन भन्ने चिन्ता पनि लागिरहेको छ मलाई । अध्ययनहरूले आत्महत्याले संक्रामक रूप लिन सक्ने देखाएका पनि छन् । माथि नै भनियो, पोखरा, वीरगन्ज, विराटनगर लगायतमा पनि व्यवसायी, युवा आदिले यस्तो कदम चालेका समाचारहरू आए । यसतर्फ आँखा चिम्लिरहने हो भने ‘व्यवसायमा घाटा, व्यापारमा मन्दी, निराशा आदिको निकास आत्महत्या नै हो’ भन्ने किसिमको आम बुझाइ बन्न बेर लाग्दैन र समाजमा भयावह स्थिति आउन सक्छ ।

यसबाट जोगिनका लागि उपर्युक्त स्टाटसमा उठाइएका आर्थिक, राजनीतिक, सामाजिक, कानुनी, व्यावसायिक सबै प्रकारका मागहरू सम्बोधन गर्नका लागि सम्बन्धित पक्षले यथाशीघ्र ध्यान दिनुपर्छ । युवा वर्ग, अझ आफ्नो अध्ययन–व्यवसाय–पेसामा लागिपर्ने व्यक्तिहरूमा तनावको अवस्था आउन नदिनका लागि यी सबै पक्षमा सकारात्मक कदम चाल्न अत्यावश्यक छ ।

आत्महत्याको संक्रामकता न्यूनीकरणका लागि मिडियाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । मिडियाले आत्महत्याका बारेमा तथ्यपरक एवं संक्षिप्त सूचना मात्र प्रवाहित गर्ने गर्नुपर्छ । आत्महत्या गर्ने व्यक्तिको निजी जीवनका तथ्यहरूलाई कारक तत्त्वका रूपमा उभ्याएर यसलाई सामान्यीकरण कदापि गराउनु हुँदैन । आत्महत्याका लागि अपनाइएका तरिकाहरूको विस्तृत व्याख्या गर्नतर्फ कहिल्यै लाग्नु हुँदैन । आत्महत्याको महिमामण्डन कदापि गर्नु हुँदैन । आत्महत्याका समाचारहरूलाई दोहोर्‍याइरहने गर्नु हुँदैन । आत्महत्याको समाचारसँगसँगै यसबाट बच्ने उपाय एवं मनोसहारामा सहयोग गर्ने उपयोगी हटलाइन या स्रोतहरूका बारेमा पनि उल्लेख गर्नुपर्छ । यो दिशानिर्देशको पूर्ण परिपालना गरेर गरिने मिडियाधर्मले मात्र आत्महत्याको गाम्भीर्यको सही चित्रण गरेको मान्न सकिन्छ ।

पुनश्चः, आत्महत्या नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो त मनोचिकित्सा नै हो । त्यसैले, जोकसैलाई पनि जीवनप्रति निराशा, हतोत्साह या मर्ने चाहना बढ्दै गएको जस्तो लागेमा या त्यस्ता मनोभाव भएका व्यक्तिहरू सम्पर्कमा आएको देखिएमा मनोपरामर्शका लागि कदापि ढिलो गर्नु हुँदैन । आत्महानिको विचारलाई सही मनोपरामर्शले परास्त गर्न सक्छ, आत्महत्याको रोकथाम अवश्य हुन्छ ।

रिसाल मनोचिकित्सक हुन् ।

प्रकाशित : माघ २३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?