कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

राजमार्ग कि 'मृत्युमार्ग’?

काठमाडौ — दैलेखमा पढाउने एक शिक्षक र त्यहीँको एक उपस्वास्थ्यचौकीमा काम गर्ने उनकी श्रीमती जुम्ला-कालिकोट सडकमा यात्रा गर्दा भन्दै थिए, 'हामी त फरक-फरक बसमा यात्रा गर्छौं ।

राजमार्ग कि 'मृत्युमार्ग’?
किनकि हाम्रा स-साना छोराछोरी सुर्खेत पढ्छन् । तिनलाई सम्झेर पनि हामी एकैठाउँमा पुग्नुपर्ने दुवैजना दुर्घटनामा परिएला कि भनेर अलग-अलग बसमा चढ्छौं ।' उनीहरू थप्दै थिए, 'कतिबेला कहाँ दुर्घटना हुने हो, थाहै हुँदैन । दुर्घटनामा परिहालियो भने पनि अलग-अलग बसमा जाँदा एकजना त बचिन्छ । बालबच्चाको बिचल्ली हुँदैन ।' यी जोडी बच्चासहित एकपटक सुर्खेतस्थित बड्डीचौरमा दुर्घटनामा परी बालबाल बँचेका थिए ।
कर्णालीमा सडक पनि पुग्यो, गाडी पनि गुड्यो, तर कर्णालीवासीको मनचाहिँ रमाएन । किनकि कर्णाली राजमार्गमा दिनहुँ हुने दुर्घटनाका कारण सात वर्ष अघिको खुसी कर्णालीवासीमा अहिले पटक्कै देखिँदैन । कुन बेला कर्णालीमा परिने हो भन्ने चिन्ता यात्रुमा छ । दशकौंपछि सडक पाएका कर्णालीवासीले सडक त पाए, तर सुरक्षित भएनन् ।
'कर्णालीमा बाटो आइपुग्दा हामीलाई यही जुनीमा स्वर्ग पुगेजस्तो लागेको थियो,' हिउँदे खेती लगाएर रोजगारीका लागि भारतको पिथौरागढ हिँडेका जुम्ला सिंजाका लक्ष्मण विक भन्दै थिए, 'अहिले राजमार्गमा यात्रा गर्दा कुन बेला ज्यान जान्छ भन्ने त्रास रहिरहन्छ ।' जुम्ला, कालिकोटबाट सुर्खेतका लागि चल्ने बसमा भित्रमात्र होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । साहै्र जोखिमपूर्ण यात्रा छ, कणर्ालीको । सार्वजनिक यातायातमा मात्र होइन, मालवाहक ट्रकसमेत खाली हुँदैन ।
सवारी साधन अलिकति पनि दायाँ-बायाँ भयो भने सिधै कर्णाली नदीमा पुग्छ । दृश्य निकै कहालिलाग्दो छ । 'ज्यान जोखिममै राखेर आवत-जावत गर्छौं,' कर्णालीबारे विकले यस्तो गीत सुनाए-तल हेर्‍यो कर्णाली नदी, माथि अमरेसो भीर बाँचेपछि फर्किआउँला, होइजाला भिट (भेट) जति पनि भेटिन्थे, सबैको एउटै स्वर सुनिन्थ्यो, 'हाम्रालागि यो राजमार्ग 'मृत्युमार्ग' भएको छ ।' जुनसुकै बसमा भित्र होस् वा बाहिर छतमा रोजगारीका लागि भारत जाने युवाको भीड देखिन्छ । भर्खर संविधानसभा-२ निर्वाचन सम्पन्न गरी विरानो मुलुक छिर्नलागेका युवाहरू कर्णाली राजमार्गको गुणस्तरका लागि कामना गर्दै थिए । चाँडो संविधान निर्माण गरेर नेताहरूले दुर्गम कणर्ालीको विकास गरिदिए हुन्थ्यो भन्ने आश र भरोसा पनि उत्तिकै थियो, तिनमा ।
'हाम्रा सुखका दिन कहिले आउला, सजिलो गरी बसमा कहिले आवत-जावत गर्न सकिएला, कर्णालीवासीका दुःखका दिन कहिले जालान् ?' लक्ष्मण फेरि टोलाउँदै थिए ।
कर्णाली राजमार्ग खुलेको करिब नौ वर्ष भयो भने सवारी साधन औपचारिक रूपमा सञ्चालनमा आएको पाँच वर्ष पुग्यो । सवारी साधन दुर्घटनाले मृतकको संख्या बढ्दो छ । राजमार्ग 'मृत्युमार्ग' बन्नलागेको भन्दै कर्णालीवासी चिन्तित छन् । यस राजमार्ग अन्तर्गतको २ सय ३६ किमि सुर्खेत-जुम्ला सडक खण्ड २०६३ चैत ३० मा उद्घाटन भएको थियो । सुर्खेतदेखि दैलेख खिड्कीज्युला १ सय २६ किलोमिटरसम्मको सडक विश्व बैंकको सहयोगमा सडक विभागले कालोपत्रेका लागि काम गरिरहेको भए पनि त्यसयता दैलेखमा पर्ने ९ किमि र कालिकोट खण्डमा पर्ने ७६ किमि सडकको गुणस्तर सुधार र मर्मत-सम्भार नहुँदा अत्यधिक दुर्घटना हुने गरेको छ । गतवर्ष सुर्खेत-जुम्ला सडक अन्तर्गत दुर्घटनामा परी ९१ जना यात्रुको ज्यान गएको थियो । सुर्खेत-जुम्ला सडकमा यो वर्ष १५ वटा ठूला दुर्घटना भई ५० जनाको मृत्यु र १ सय ५१ जना घाइते भएको क्षेत्रीय प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ । रेकर्ड अनुसार जुम्ला, कालिकोट र दैलेख खण्डमा ४ वटा बस, ९ वटा ट्रयाक्टर, जिप, मोटरसाइकल, टि्रपर दुर्घटनामा परेका छन् ।
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय नेपालगन्जका अनुसार ट्रयाक खुलेयता कणर्ाली राजमार्गमा साना तथा ठूला गरी १ सय ५७ दुर्घटना भएका छन् । वर्षमा मुस्किलले ९ महिनामात्र जुम्लासम्म ढुवानी तथा सवारीका साधन गुड्न सक्ने राजमार्गमा सडकको ट्रयाक खुलेयता ट्याक्ट्र, मिनी टाटा, ट्रक तथा यात्रुवाहक बसहरू बढी दुर्घटना भएका छन् ।
मध्यपश्चिम क्षेत्रीय कार्यालयका ट्राफिक प्रमुख टेकबहादुर गुरुङले साँघुरो सडक, चालकको लापरबाहीले बढी दुर्घटना भएको बताए । ठूला सवारी साधनका लागि पर्याप्त मोड नै छैन, सवारी साधनलाई मालवाहक गाडी बनाएर लग्छन्', उनले भने । दुर्घटना कम गर्न सडक चौडा नै उपयुक्त हुने उनले बताए । उनका अनुसार, चालकको लापरबाहीले पनि सडक दुर्घटना बढेको हो । 'एकअर्कालाई दोष दिनुभन्दा सडकको स्थिति नै कहालिलाग्दो छ', उनले भने ।
सडकमा सबैभन्दा बढी ट्रयाक्टर दुर्घटना भएका छन् । ट्रयाक्टर ४५, बस १२, जिप ११ र ट्रक १२ वटा तथा मोटरसाइकल चारवटा दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय नेपालगन्जको तथ्यांकमा छ । राजमार्गमा यातायात सञ्चालन भए यताका दुर्घटनामा करिब ९२ मालवाहक साधन पूर्णरूपमा क्षति भएका छन् भने १ सय ३० सवारी साधनमा सामान्य क्षति पुगेको छ ।
ती मध्ये सबैभन्दा बढी ८४ वटा दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन् । दैलेखमा २९ र जुम्लामा १९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा हालसम्म १ सय ९५ जनाको मृत्यु भएको छ भने २ सय ३३ जना घाइतेमध्ये ८७ जना अपांग भएका छन् । अधिकांश दुर्घटना दैलेखको साइगाउँदेखि कालिकोटको राँचुली छिडेनासम्मको ८८ किलोमिटर सडक खण्डमा भएको प्रहरीले जनाएको छ । यो सडक सेनाले निर्माण जिम्मा लिएको थियो । साँघुरो बाटो, मर्मत-सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी तथा चालकको लापरबाहीजस्ता कारणले धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
पछिल्लो दुर्घटना कालिकोटको पाखा १ सेरावाडा नजिक पर्ने विर्तामोडमा भएको छ । विर्तामोडको दुर्घटनामा चालकसहित २८ जनाको ज्यान गयो । छिटो र सजिलोका लागि गाडी चढ्दा दुर्घटनामा ३ जना आफन्त गुमाए । हाल कणर्ालीवासी यस मार्गलाई 'चिहान मार्ग' पनि भन्नथालेका छन् । यातायात व्यवसायीहरूले सडक सञ्चालनमा आए यताका दुर्घटनामा करिब दुई सय जनाको ज्यान गएको दाबी गरेका छन् ।
२०६६ चैत ५ गते अर्थात चार वर्ष अघिमात्र दैलेखको किटु भीरमा भयानक बस दुर्घटना भएको थियो । कालिकोटबाट सुर्खेत जाँदै गरेको काँक्रेविहार यातायातको ना. ३ ख ५८६८ नम्बरको यात्रुवाहक बस सडकबाट चट्टानमा ठोक्किएर कणर्ाली नदीमा खस्दा ४१ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये ३२ जनाको शव भेटिएको थियो भने १० जना बेपत्तै भए ।
मध्यपश्चिम यातायातका अध्यक्ष विष्णुबहादुर खड्काले साँघुरो सडक, धेरै घुम्तीले गर्दा बढी दुर्घटना हुने गरेको बताए । 'ट्रयाक खोल्न बाहेक अन्य काम नै भएको छैन, कच्ची सडक छन्, दुर्घटना भइहाल्छ', उनले भने । बसहरूको तुलनामा ट्रयाक्टर बढी दुर्घटना हुने गरेको उनले बताए । 'लाइसेन्स विनाका चालकले ट्रयाक्टर चलाउँछन्, दुर्घटना हुन्छ,' उनले थपे । दैनिक मध्यपश्चिम, काँक्रेविहार र भेरी यातायातका दसवटा बस सुर्खेत-जुम्लामा सञ्चालन हुने गरेको उनले बताए । 'हाम्रा नयाँ बस छन्, पहिलेको भन्दा अहिले कम दुर्घटना भएका छन्', उनले दाबी गरे ।
राजमार्ग भने पनि कहीं कतै ट्रयाक खोल्ने बाहेक काम भएको देखिँदैन । एकतर्फी सडकले सवारी साधन ५-८ किमि वर नै रोकेर साइड दिनुपर्ने बाध्यता छ । कालोपत्र गुणस्तरीय छैन । गुणस्तरीय कालोपत्रे नगरिँदा कणर्ाली राजमार्ग आसपासका वासिन्दा र यात्रु मर्कामा परेका छन् ।
कालोपत्रे गरेको स्थानमा पनि पुरै भत्केको अवस्था छ । राजमार्गमा अत्यधिक दुर्घटना बढ्न थालेपछि जुम्ला, अछाम र कालिकोट आउने सवारी साधन प्रहरीले पाल्तडा र तल्लो डुंगेश्वरभन्दा अघि बढ्न दिंदैन । त्यहीं बास बसाल्छ । दोस्रो दिन बिहान ६ बजेमात्र राजमार्ग खुल्छ ।
एकातिर पूरा खण्ड कालोपत्र नहुनु र गरिएको पनि महिना दिन नबित्दै उप्किएपछि धुलोले राजमार्ग छेउका वासिन्दालाई बसिनसक्नु छ । यात्रुलाई त्यतिकै सताउने गरेको छ । धुलोका कारण यात्रुले होटलमा धुलाम्मे हुँदै खाजा र खाना खानुपर्ने बाध्यता छ । दैलेख सात तलाका लालबहादुर थापाले धुलोले सताउनसम्म सताएको बताए । 'होटलमा खाइरहेका ग्राहकले नाकमुख छोपेको देखेर अप्ठ्यारो लाग्छ,' उनले भने, 'खाँदा-खाँदै भाग्नुपर्ने अवस्था छ ।' कपडा पुरै धुलोले ढाकिसक्छ ।' खानासँगै धुलोको स्वाद लिनुपर्ने यहाँको दुर्दशा हो । दैनिक दर्जनौं माल तथा यात्रुवाहक यातायात गुड्ने यस राजमार्गमा बाक्लो धुलोका कारण रुमाल र मास्क लगएर नाकमुख नछोपी धरै छैन ।
ठेकेदारको लापरबाही
ठेकेदारको लापरबाहीका कारण सडक कालोपत्रे र मर्मत-सम्भार नभएपछि कर्णालीका यात्रुहरू निकै समस्यामा परेका छन् । दैलेख टुडिबगरका तुलाराम बुढा भन्छन्, 'यात्रुका लागि काल छँदैछ, सडकछेउ बस्नेलाई सुख छैन, दुर्घटना त कति हुन्छन् भनिसाध्य छैन, राजमार्ग नाम दिएर सरकारले झन् काल निम्त्याएको छ ।' सरकारले यसको प्रभावकारी अनुगमन नहुँदा ठेकेदारले कालोपत्रे नगरी छाडेका छन् । राजमार्गमा सबैभन्दा बढी धुलोको असर अमरेसो भीरदेखि रामागाड खण्डमा छ । यस खण्डमा पर्ने सांगेतडा र पाल्तडासम्म ठेकेदारले कालोपत्रे नगरेको बुढाको आरोप छ ।
उनका अनुसार, केही महिनाअघि मान्माबाट जुम्ला जांँदै गरेको बस दुर्घटनामा पाँच आफन्तले ज्यान गुमाए । 'यसकारण यो राजमार्ग वरदान होइन कि अभिसाप भएको छ,' उनी भन्छन्, 'सरकार जुम्लासम्म गाडी पुर्‍याएर बहादुरी गरेको बखान गर्छ, यहाँ मान्छे दैनिकजसो अकाल मृत्युको मुखमा पुग्छन् ।' उनले अनुगमन र बजेटको अभावमा थप केही नभएको बताए ।
राजमार्ग विस्तार भएपछि त्यस वरपर बजार विस्तार भएका छन् । तिमिले खोला, टुनिबगर, असारागाड, साइँ, जाक्सी, राकम कर्णाली, खिड्कीज्युला, दहीखोला, सेप्टी, तल्लो डुंगेश्वर, सुवाछेडा, पाली, पादुका खोला, रामागाड, पाल्तडा, डाब बजार स्थापना भएका छन् । ती बजारमा होटल तथा खाजानास्ता पसल राखिएको छ । निर्माण सुरु भएको १८ वर्षपछि 'ट्रयाक' खुलेको बहुचर्चित कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक सञ्चालनमा आएयता अत्यधिक सडक दुर्घटना हुने गरेको छ ।
कणर्ाली राजमार्गको किट्टु भीर, अमरेसा भीर सवारी साधनका लागि निकै खतरा छ । दुर्घटनाग्रस्त भई धेरै सवारी साधन कर्णाली नदीमा डुबेका छन् भने यात्रुहरू अझै बेपत्ता छन् । पाँच वर्षदेखि बस चलाउंँदै आएका मनबहादुर बढाले धुलो-धुवाँले दिउसै बत्ती बाल्नुपर्ने अवस्था रहेको बताए । अत्यधिक मोड, साँघुरो सडक र चालकको लापरबाहीले गर्दा बढी दुर्घटना हुने गरेको उनले बताए ।
'न राज्यपक्ष जिम्मेवार न चालक आ-आफ्नो जिम्मेवारी बहन नगर्दा पनि दुर्घटना बढेका छन्, यसमा कसैको चासो छैन', उनले भने ।
साना खोलामा पुलहरू निर्माण हुनसकेका छैनन् । वषर्ात्मा खोलाको बाढी कम होला भनेर घन्टौं कुर्नुपर्ने बाध्यता छ । अधुरो पिच वर्षौं बितिसम्दा पूरा गरिएको छैन । सेनाले जिम्मा लिएको कडा चट्टान र भीरैभीर भएको कालिकोट खण्डको सडक पनि ६ वर्ष पहिले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।
ट्रयाक खुलेपछि वर्षमा ९ महिनामात्र मालवाहक ट्रयाक्टर, मिनी टाटा र मिनी ट्रक जुम्लासम्म सञ्चालन हुने गरेका छन् भने यात्रुवाहक बस पनि कालिकोटको पिलीसम्म पुगिसकेका छन् । कणर्ाली राजमार्गमा साँघुरो सडक, पुराना गाडी र चालकको लापरबाहीको कारण अधिकांश दुर्घटना हुने गरेका छन् । सेनाले निर्माण गरेको साइगाउँ-कालिकोटको राँचुली छिडेनासम्म भीरैभीर र कडा चट्टान थियो । अप्ठ्यारो बाटोमा सेनाले हतारमा पेटी ठेकेदारमार्फत काम गराएर तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनकालमा चाँडो पूरा गर्न बाटो साँघुरो बनाएको स्थानीयवासीको गुनासो छ । ज्ञानेन्द्रको एकमात्र उद्देश्य कर्णाली अञ्चलमा यातायात साधन पुर्‍याउनु थियो । सडकको अवस्था हेर्दा गुणस्तरभन्दा पनि लोकपि्रयता कमाउन ट्रयाक खोलिएका देखिन्छ । राजमार्गका लागि सबै ठाउँमा साढे ५ मिटर चौडा बाटो पनि निर्माण हुनसकेको छैन । तीन मिटरमात्र सडक चौडा छ ।
कति बजेट विनियोजन ?
ट्रयाक खोलेपछि आर्थिक वर्ष २०६४/६५ मा सेनाले कणर्ाली राजमार्गको जिम्मेवारी सकारलाई हस्तातरण गरेको थियो । विश्व बैंकको सहयोगमा सुर्खेत-जुम्ला सडक ओटासिल प्रविधिको कालोपत्रे काम गरिएको छ । कालिकोट-जुम्ला खण्डमा सेनाले गरेको खर्चबाहेक, विश्व बैंकले आर्थिक वर्ष ०६७/६८ मा सुर्खेतदेखि खिड्गीज्युलासम्म १७ करोड रुपैयाँ भने खिड्गीज्युलादेखि १२ करोड रुपैयाँ विनियोजन गरेको पाइन्छ ।
त्यसैगरी आव ०६८/६९ मा सुर्खेत-खिड्गीज्युलासम्म १३ करोड र खिडगीज्युलादेखि जुम्लासम्म ८२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । विभिन्न कारणले गर्दा विनियोजित रकम खर्च नभएको सडक विभागले जनाएको छ ।
आव ०६९/७० मा सुर्खेतदेखि खिड्गीज्युलासम्म १ करोड ८२ लाख र खिड्गीज्युलादेखि जुम्लासम्म २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । आव ०७०/७१ मा सुर्खेत-खिड्गीज्युलासम्मका लागि १८ करोड र खिड्गीज्युला-जुम्लासम्म ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । २०४८/४९ देखि २०६३/६४ सम्म १ अर्ब १५ करोड रुपैयाँ सडक निर्माणका लागि खर्च भइसकेको छ ।
विभागका अनुसार १ सय २६ किमि सडक -कालिकोट(जुम्ला) कालोपत्रेका लागि आठवटा निर्माण कम्पनीले जिम्मा लिएका छन् । यसरी दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी सरकारले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । विभिन्न कारणले कालोपत्र गर्न रोकिए पनि सुर्खेत-खिड्गीज्युला करिब १८ किमि सडक खण्ड यसपटक काम सम्पन्न गरिने विभागले जनाएको छ ।
तीन किमिमात्र चौडाइ सडकमा ओटासिल प्रविधिको कालोपत्रे त्यति गुणस्तरी मानिँदैन । साथै सवारी चापका कारणले गर्दा ओटासिल कालोपत्रे सडक चाँडै भत्कने गरेको छ । यस अघिको ओटासिल प्रविधिको कालोपत्रे पनि भत्किएको छ । सुर्खेत-जुम्ला -कर्णाली राजमार्ग) आयोजनाका प्रमुख शिरबहादुर घिमिरेले सडक साँघुरो हुँदैमा दुर्घटना नहुने दाबी गरे । 'चालक नै तालिमप्राप्त छैनन्, मोडमा हर्न बजाउँदैनन्, मुख्य कारण चालकको लापरबाही हो', साँघुरो छ भने त झन् होसियारीपूर्वक चलाउनुपर्ने उनको तर्क छ ।
दुर्घटना नियन्त्रण
कर्णाली राजमार्गमा दिनहुँ दुर्घटना हुनथालेपछि सडक विभागले दैलेख तल्लो डुंगेश्वरदेखि कालिकोटसम्मको करिब २६ किमि सडकमा स्टिलको बार राख्ने भएको छ । बढी जोखिमपूर्ण स्थान पहिचान गरी केही दिनभित्रै विभाग टेन्डर आह्वानका लागि तयारीमा रहेको एक कर्मचारीले बताए । यसरी ९० सेमि अग्लो स्टिल बार लगाए साना सवारी दुर्घटना नियन्त्रण गर्न सकिने विभागले जनाएको छ । दुर्घटनामा दर्जनौंको ज्यान गइसकेकाले राजमार्गमा यात्रा गर्न त्रस्त सर्वसाधारण सुरक्षित सडकको पर्खाइमा छन् ।
टिप्पणी
दुर्घटना बढ्नुका कारण
राजेन्द्र नेपाल

कर्णाली राजमार्गमा बेलाबखत सडक दुर्घटनाका कारण हुने धनजनको क्षति कहालिलाग्दो रूपमा रहेको छ । २०६९ भदौ २५ गते राति ११ बजे कालिकोटको पाखा गाविसको विर्तामोड भन्ने स्थानमा भएको ना. ४ ख ६८७७ न.को बस दुर्घटना सम्बन्धमा पूर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको संयोजकको हैसियतले घटनास्थल अध्ययन गर्न जाँदा कर्णाली राजमार्गमा हुने सडक दुर्घटनाका कारणबारे जानकारी प्राप्त हुने अवसर मिलेको थियो । उक्त दुर्घटनामा २८ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो । कणर्ाली राजमार्गमा हुने सडक दुर्घटनाको पछाडि बहुपक्षीय कारण छन् । छानबिन समितिले गहिरो अध्ययन गरी नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त दुर्घटनाको रोकथाम गर्ने तत्कालीन तथा दीर्घकालीन उपायहरू सुझाइएको थियो ।
साँघुरो पहाडी कच्ची सडक, कठिन भौगोलिक अवस्था, यातायात सवारी साधनहरूको अपर्याप्तताको कारण एउटै सवारी साधनमा धेरै यात्रुले यात्रा गर्नुपर्ने अवस्था, दुइटा चालक राख्नुपर्ने व्यवस्थालाई अनिवार्य बनाउन नसकिनु, सडकलाई फराकिलो बनाई स्तरोन्नति गरी कालोपत्रे गर्ने कार्य चुनौतीपूर्ण हुनु, चालकले मादकपदार्थ खाए-नखाएको सम्बन्धमा ब्रेथलाइजरको प्रयोगबाट प्रभावकारी रूपमा चेकजाँच हुन नसक्नु, ट्राफिक प्रहरीको न्युनता, यात्रुवाहक गाडीलाई मालवाहक गाडीका रूपमा समेत प्रयोग गरिनु सडक दुर्घटनाका कारण हुन् ।
रुट परमिट दिँदा सडक कार्यालयसँग समन्वय गरी प्राविधिक दृष्टिबाट सडक ठीक दुरुस्त भए-नभएको सम्बन्धमा सोधखोज नगरिनु, सडकको अवस्था नहेरी रात्रिसेवा सञ्चालन गर्न छुट दिनु, बिग्िरएको ठाउँमा सडकको मर्मत समयमै हुन नसक्नु, सडक अनुशासन पालनको कमी, राजमार्ग गस्ती प्रहरीलाई क्रियाशील बनाउन नसकिनु, राजमार्गमा धर्मकाँटा राख्ने व्यवस्थालाई अनिवार्य गर्न नसकिनु, ट्राफिक नियमबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसकिनु तथा क्याबिनको सिटको टिकट काट्ने व्यवस्था कायमै रहनु जस्ता कारणहरू विद्यमान रहेका छन् ।
सडक दुर्घटना हुनबाट रोक्नका लागि सम्बन्धित सबै पक्षले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भए तापनि यस्ता दुर्घटना हुन नदिनेतर्फ आवश्यक सतर्कता अपनाई सबैलाई समन्वयात्मक रूपमा परिचालन गर्नमा सम्बन्धित निकायको अहम् भूमिका रहेको हुन्छ । जनताको जीउधनको उचित संरक्षण र सम्बर्द्धन गर्नु लोककल्याणकारी राज्यको प्राथमिक दायित्व भएको हुँदा दुर्घटना न्युनीकरण गर्न हाल भइरहेका प्रयत्नहरूलाई प्रभावकारी बनाउन जरुरी छ ।
सरकारको एक्लो प्रयासबाट मात्र यस्ता दुर्घटनामा कमी आउन नसक्ने हुँदा यसका लागि सवारीधनी, चालक, यात्रु, यातायात व्यवसायी सम्बद्ध संघ-संस्थाहरू, स्थानीय प्रहरी प्रशासन, यातायात कार्यालयहरू, नागरिक समाज, आमसञ्चारका माध्यम एवं आम जनसाधारण सबैले आ-आफ्नो ठाउँबाट इमानदारीपूर्वक कर्तव्य पालना गर्नु आवश्यक छ ।
सडक दुर्घटना कम गर्ने तत्कालीन र दीर्घकालीन कारण पहिचान गरी छानबिन समितिले सुझाएका सुझावहरूलाई क्रमशः अझ बढी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनु जरुरी छ । तत्कालका लागि सडक र सवारी साधनको अवस्थालाई हेरेर मात्र रुट परमिट दिने, जोखिमपूर्ण सडकमा रात्रिसेवा सञ्चालनमा रोक लगाउने, ओभरलोड नगर्ने, पर्याप्त संख्यामा सवारी साधन चल्ने वातावरण निर्माण गर्ने, सवारी चेकजाँचलाई कडाइ गर्ने, प्रहरी प्रशासनले चनाखो भई कार्य गर्ने, यातायात व्यवसायीले जिम्मेवारीपूर्वक आपmनो भूमिकालाई प्रभावकारी बनाउने, क्याबिनको सिटमा टिकट नकाट्ने र महिला-पुरुष कसैलाई पनि त्यस्तो सिटमा नराख्ने, अतिरिक्त चालकको व्यवस्था गर्ने, सडकको मर्मत सुधारमा समयमा नै पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ ।
टाइमकार्डको व्यवस्थालाई अनिवार्य गरी नियमित अनुगमन गर्ने, पुराना तथा कमजोर सवारी साधन सञ्चालनमा रोक लगाउने जस्ता कार्यहरू गरिनुपर्छ । दीर्घकालीन रूपमा गरिनुपर्ने कार्यमा ट्राफिक नियमबारे विद्यालय स्तरमा नै पाठ्यपुस्तकमा व्यवस्था गरिनुपर्ने, ट्राफिक जनचेतनामूलक कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने, सडकको भारबहन क्षमताअनुसार बाटो इजाजतपत्र दिने, राजमार्गमा अनिवार्य रूपमा धर्मकाँटा राख्ने, मादकपदर्थ सेवन गरी सवारी चलाउनेलाई अनुमतिपत्र खारेज एवं निलम्बन गर्ने र पुनः लाइसेन्स नदिने कानुनी व्यवस्था गर्ने तथा राजमार्गमा रहेका अनावश्यक घुम्तीहरूलाई हटाउन सकिने सम्भावना हेरी सडकको सुधार गर्ने जस्ता कार्यहरू गरिनुपर्छ ।
दुर्घटनाको पछाडि प्रायः चालकलाई कारण देखाई सहज रूपमा उम्किन खोज्ने र अन्य कारणबारे गहिरो विश्लेषण हुन नसक्दा समय-समयमा हुने यस्ता दुर्घटनामा कमी आउन नसकेको देखिन्छ । हाल भइरहेको यातायातसम्बन्धी कानुनी, संस्थागत एवं संगठनात्मक संरचनाभित्र रहेका सम्बन्धित निकाय, अधिकारी, प्रहरी प्रशासन, यातायात व्यवसायी समितिहरू एवं अन्य आम सरोकारवालाहरू बीचको समन्वयात्मक एवं समझदारीपूर्ण भूमिकालाई प्रभावकारी बनाउनमात्र सकियो भने पनि यस्ता दुर्घटना न्युनीकरण गर्न सकिन्छ । तत्कालीन समयमा कालिकोटको उक्त दुर्घटना हुनुमा सडकको दुरावस्था जान्दा-जान्दै वर्षाको मौसममा त्यसमा पनि रातको समयमा सवारी साधन चल्न दिनु स्थानीय स्तरका सबै सरोकारवालाको गम्भीर लापरबाही देखिन्छ । आफ्नो कुनै निजी स्वार्थ नराखी सुरक्षा पहिलो प्राथमिकता भन्ने अवधारणालाई शिरोधार्य गरी सबै पक्षबाट तदनुरुप कार्य हुनसकेमा मात्र यस्ता प्रकारका कहालिलाग्दो सडक दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।
लेखक कालिकोट बस दुर्घटना छानबिन समिति- २०६९ का संयोजक हुन् ।





प्रकाशित : पुस ६, २०७० १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?