कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सहकार्य र सहमतिको संस्कृति

अमिन पाण्डेय

काठमाडौ — नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति...

नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश र्फकनुभएको थियो । त्यतिबेला उहाँले राष्ट्र र राष्ट्रियता संकटमा परेकाले आफ्नो ज्यान हत्केलामा राखेर राष्ट्रियताका लागि स्वदेश र्फकने जोखिम मोल्नुभएको थियो ।
मैले यहाँ उठान गर्न खोजेको विषयवस्तु यो हो कि आज केही राजनीतिक दल राष्ट्रियताको सवालमा भाषण र प्रचारबाजी गर्नमात्र सिपालु छन् । के हो हाम्रो राष्ट्रियता र देशलाई कसरी पराधीन हुनबाट जोगाउन सकिन्छ भन्ने सवालमा यथार्थ रूपले लाग्नसकेका छैनन् । प्रत्येक पुस १६ गते हामी वी.पी.लाई सम्झन्छौं, अनि उहाँको तस्वीरमा माल्यार्पण गर्छौ । र वी.पी.ले यसो भन्नुभएको थियो, उसो भन्नुभएको थियो भनी ठूलठूला सभा, गोष्ठी गरेर समय खेर फाल्छौं । वी.पी. त्यस्ता राजनेता हुनुहुन्थ्यो, जसले अहोरात्र प्रजातन्त्रका लागि आफ्नो ज्यान नै जोखिममा पारेर देश र जनताका लागि संघर्ष गरिरहनुभयो । नेपाली कांग्रेसका कैयौं होनाहार सपुत जस्तै- गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला आदि नेताहरूको अमूल्य योगदानले यो पार्टीले जीवन्तता पाएको हो । वी.पी.लाई तत्कालीन पञ्चायती सरकारले कैयन मुद्दा लगाएको थियो । त्यसको कुनै परवाह नगरी त्यसबेलाको देश-काल-परिस्थितिलाई उहाँले राम्ररी अध्ययन गरेर राष्ट्रिय मेलमिलापको नीति अंगीकार गर्नुभयो ।
मुलुकमा बढिरहेको अस्थिरताका कारण दुई पटकसम्म संविधानसभाको निर्वाचन गर्नुपर्ने बाध्यता, शान्ति सुरक्षाको मजबुत स्थिति नहुनु, भ्रष्टाचार मौलाउँदै जानु, सुशासन कायम हुन नसक्नु यी यावत् गतिविधिले गर्दा मुलुक आक्रान्त छ । आज फेरि मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता अपरिहार्य सावित भइसेकेको छ । दलीय स्वार्थमा मात्र आज दलहरू लागिपर्ने हो भने मुलुकमा एक वर्षमा त के १० वर्षमा पनि संविधान बन्न सक्तैन । कतिन्जेल यो अस्थिरताको भार मुलुकले थेगेर बस्ने ? अबको समयमा पनि हामीले केही गर्न सकेनौं भने हाम्रो मातृभूमि एक असफल मुलुकको कोटीमा पर्न सक्छ । मुलुक हाँक्ने जिम्मेवारी पाएका दलहरूले अब आपसी खिचातानी र स्वार्थमा रुमल्लिरहने हो र मिलेर संक्रमण नटुंग्याउने हो भने वी.पी.लाई सम्झनुको अर्थ पनि रहँदैन ।
विशेषगरी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसलाई जुन खालको जनमत प्राप्त भएको छ, यसको उचित कदर गरी ६०/४० को आन्तरिक भागबन्डामा नरुमल्लिई राष्ट्रहितको मार्गमा आफूलाइ डोर्‍याउनु जरुरी छ । नत्रभने भविष्यमा फेरि जनतामाझ जाँदा त्यो जनमत गुम्न सक्छ । आजको आवश्यकता भनेको कांग्रेसको अगुवाइमा किटान गरेर १ वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु हो । यही नै कांग्रेसको दायित्व र जनमतको सम्मान हो । आपसी किचलो र खिचातानी गरेर राष्ट्रिय स्वार्थलाई भुल्ने हो भने कांग्रेसले आफ्ना संस्थापक नेता वी.पी. कोइराला र उनको मेलमिलाप नीति भुलेको मान्नुपर्ने हुन्छ ।
त्यसैले अब कांग्रेसले विलम्ब नगरी सकभर सबै-सबै दललाई समेटेर राष्ट्रिय सरकारको गठन गरी एक वर्षभित्रै संविधान लेख्ने अभिभारा पूरा गर्नुपर्छ । दलहरू बीचको सहमति र सहकार्यलाइ प्रधानता दिई सबल राष्ट्रनिर्माणमा एकजुट हुनुपर्ने आवश्यकता छ । लोकतन्त्रमा विश्वास गर्ने दलले जनताको अभिमतलाई भुल्ने र आफ्ना नेताको मेलमिलापको मार्गदर्शनलाई बेवास्ता गर्ने काम नगरोस् ।





प्रकाशित : पुस १६, २०७० १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?