कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद् महासचिव छन्, सहयोग गर्छु भन्नेलाई गिरफ्तार गरियो'

'जवाफ चाहियो, कैलाश सिरोहियाको नागरिकताको छानबिन धनुषामा हुँदैछ; गृहमन्त्री रवि लामिछानेको पासपोर्टको मुद्दा किन अघि बढिरहेको छैन ?'

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा नागरिकता र राहदानी भएका व्यक्तिले चलाएको गृह मन्त्रालयले नागरिकताका सम्बन्धमा उठेका प्रश्नमा सहयोग गर्छु भन्दा पनि कार्यालयबाटै गिरफ्तार गरिएको बताएका छन् । 

'दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद् महासचिव छन्, सहयोग गर्छु भन्नेलाई गिरफ्तार गरियो'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर दुईवटा नागरिकता भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा रहेको शर्माको भनाइ थियो । त्यस्तै, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले दुईवटा नागरिकता लिँदा पनि संसद् सचिवालयले चलाइरहेको शर्माको भनाइ थियो ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेकोमा संसदीय छानबिन समिति माग्दै सडक आन्दोलनका क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार आयोजित कार्यक्रममा महामन्त्री शर्माले सरकारले कस्तो व्यवहार गरिरहेको छ ? भनेर प्रश्न गरेका हुन् ।

'अहिले यो देशको गृह मन्त्रालय चलाएर बसेको व्यक्ति गृहमन्त्रीको दुईवटा नागरिकताको विषय अहिले पनि अदालतमा विचाराधीन छ । कान्तिपुर दैनिकका प्रकाशक, कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई कार्यकक्षबाट गिरफ्तार गरियो । यो खालको व्यवहार ?,' महामन्त्री शर्माले भने, 'कसैले दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउन पाउने, कसैले दुईवटा नागरिकता भएर संसद्को सचिवालय चलाउन पाउने अनि कसैले नागरिकताको सवालमा सहयोग गर्छु भन्दाभन्दै पनि कार्यकक्षबाट गिरफ्तार गरेर लिएर जाने ?'

कांग्रेसले सरकारबाट राजनीतिक प्रतिशोध साँध्ने, कांग्रेसले श्रमजीवी र मिडिया हाउसको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिएको शर्माको भनाइ थियो ।

नागरिकतामाथि छानबिन भन्दै गर्दा उपप्रधान तथा गृहमन्त्रीको नागरिकता र पासपोर्टको मुद्दा किन छानबिन भएन भनेर शर्माले सोधेका छन् । 'छानबिन गर्ने भन्दाखेरि गृहमन्त्रीको दुईवटा पासपोर्टको विषय सार्वजनिक भएको छ । महान्यायाधीवक्ता कार्यालयले भन्यो कि उहाँमाथि मुद्दा चलाउनु पर्दैन,' शर्माले प्रश्न गरे, 'महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? कहिले लेखेर दिन्छ पासपोर्टमा मुद्दा चल्दैन, कहिले भन्छ सहकारीमा दोषी हुनुहुन्न ! ममाथिको छानबिनमा म सघाउँछु भन्दा पनि कैलाश सिरोहिया जेलमा ? रवि लामिछाने गृह मन्त्रालयमा बस्ने उस्तै मुद्दामा कैलाश सिरोहिया कारागारमा बस्ने ?'

सिरोहियालाई नागरिकता मुद्दा लगाएर अनुसन्धान भइरहेको अवस्थामा गृहमन्त्री लामिछानेको पासपोर्टको मुद्दा किन अघि बढिरहेको छैन ? भनेर पनि शर्माले सोधेका छन् । 'जवाफ चाहियो, कैलाश सिरोहियाको नागरिकताको छानबिन धनुषामा हुँदैछ; गृहमन्त्री रवि लामिछानेको पासपोर्टको मुद्दा किन अघि बढिरहेको छैन ?,' उनले भने ।

कांग्रेस महामन्त्री शर्माले रास्वपालाई पनि राजनीतिमा कस्तो प्रवृत्ति ल्याउन खोजेको हो ? भनेर प्रश्न गरेका थिए ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर छानबिन हुनुपर्ने महामन्त्री शर्माले स्पष्ट पारे । सहकारी ठगीमा छानबिन गर्नका लागि बन्ने संसदीय समितिको कार्यादेशमा लामिछानेको नाम स्पष्टसँग लेख्नैपर्ने उनको भनाइ थियो । साथै, देशभरका समस्याग्रस्त सहकारीको विषयमा छानबिन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?