२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

झस्किए नेपाल, फेरियो बोली

प्रधानमन्त्री हुने लोभमा कमजोर रणनीति लिएको भन्दै दलभित्रै आलोचना
यो गठबन्धन कति दिन टिकिरहने हो भनेर सार्वजनिक प्रश्न गर्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका नेपालले सोमबार संसदीय दलको बैठकमा भने– ‘वर्तमान सत्ता समीकरणलाई नै निरन्तर दिने हो’
गंगा बीसी

काठमाडौँ — सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बोली एकाएक फेरिएको छ । जसपा विभाजनपछिको घटनाक्रमलाई लिएर सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले दबाब दिएपछि अध्यक्ष नेपालले वर्तमान सत्ता समीकरणलाई नै निरन्तरता दिने निष्कर्ष सार्वजनिक गरेका छन् ।

झस्किए नेपाल, फेरियो बोली

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका नेता नेपाल पछिल्लो समय निरन्तर संवादमा मात्र थिएनन्, आलोपालो तीनै जना प्रधानमन्त्री हुने गरी वैकल्पिक गठबन्धनमा बनाउने समझदारी भएको कांग्रेसका नेताहरूले बताएका छन् । तर, समझदारी कार्यान्वयन हुनुअघि नै जसपा विभाजन भएको मात्र छैन, अध्यक्ष यादव दलभित्रै अल्पमतमा परेपछि नयाँ गठबन्धनको योजना तत्कालका लागि भंग भएको छ ।

प्रधानमन्त्री हुने मनस्थितिमा रहेका नेपाल झसंग भएका छन् भने उनले कमजोर रणनीति लिएको भन्दै दलभित्रै आलोचना पनि भएको छ । ‘सरकारमा आफ्ना मन्त्री पठाए पनि गठबन्धनप्रति उहाँले विश्वास जगाउन सक्नुभएन, बरु प्रधानमन्त्री बन्ने रहरमा यो गठबन्धन भत्काउन लाग्नुभयो । त्यसैले एमालेले सुदूरपश्चिममा एकीकृतलाई विश्वासको मत दिन अस्वीकार गरेको छ । तर अब सबैतिर भताभुंग, लथालिंग भएको छ, उहाँको रणनीति असफल भएकाले पार्टीभित्रै आलोचना भइरहेको छ,’ संसदीय दलको बैठकमा सहभागी एक सांसदले भने ।

तत्काल नयाँ समीकरणको सम्भावना जसपा फुटसँगै क्षीण भएपछि बदलिएको परिस्थितिमा राजनीतिक निर्णय लिन नेपालले सोमबार संसदीय दलको बैठक बोलाएका थिए । बैठकमा सबैजसो सांसदले दलको पछिल्लो रणनीतिले क्षति मात्र भएको भन्दै आलोचना गरेका थिए । बैठकमा सहभागी सांसद शेरबहादुर कुँवरले भने, ‘सांसदहरूले राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आफ्ना मत राख्नुभयो, समग्रमा वर्तमान समीकरणलाई निरन्तरता दिनुपर्छ भन्ने एउटै धारणा आयो, खासमा सबै सदस्यले वर्तमान समीकरण नबदल्न अध्यक्षलाई सुझाव दिए ।’

जवाफमा नेपालले पनि गठबन्धनका कतिपय कामकारबाहीप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीकरण बनाउने पक्षमा आफू पनि नरहेको प्रस्टीकरण दिए । ‘गठबन्धनका कतिपय विषयमा असन्तुष्टि छ, तर यही गठबन्धनलाई कायम राखेर अघि जाने हो,’ नेपालको भनाइ थियो । तर, तीन साताअघि गृहजिल्ला रौतहटको एक कार्यक्रममा नेपालले ‘आफ्नो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए । सत्ता गठबन्धन नै भत्कन सक्ने चेतावनीका साथ उनले भनेका थिए, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ । नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेपालले वैशाख १० मा प्रधानमन्त्री दाहालसमेत उपस्थित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ को कार्यक्रममा ओलीप्रति लक्षित गर्दै धाकधम्की र गालीगलौज भइरहेकाले गठबन्धनमा असहज भइरहेको पनि बताएका थिए । ‘राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे हुने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ,’ नेपालले भनेका थिए ।

गठबन्धनमा आफूलाई किन असहज लागिरहेको छ भन्ने पनि नेपालले खुलाएका थिए । ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौं । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं, समाजमा जन्मिएका होइनौं, राजनीतिमा लागेका होइनौं, कसैको दास बन्ने हाम्रो नियति होइन,’ उनले भनेका थिए ।

नेपालले ओलीप्रति लक्षित गर्दै वैशाख १७ मा राजधानीको एक कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने चिन्ताले कतिपय मान्छे पिरोलिएको टिप्पणी गरेका थिए । ‘म प्रधानमन्त्री बन्छु कि भनेर कतिपय मान्छेलाई पोल्न थालेको छ,’ उनको भनाइ थियो, ‘ती मान्छेलाई पोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेलाई धिक्कार छ ।’

एसका उपाध्यक्ष बेदुराम भुसाल भने वर्तमान समीकरणका विषयमा पार्टीभित्र कुनै विवाद नभएको बताउँछन् । पूर्वसहमति कार्यान्वयन नगर्ने ओली र दाहालको कार्यशैलीप्रति भने नेपाल असन्तुष्ट रहेको भुसालको भनाइ छ । ‘सहमति गरेर पनि राष्ट्रिय सभा उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत एक सांसद नदिनु, सुदूरपश्चिम सरकारको नेतृत्व दिन आनाकानी र दिएर पनि विश्वासको मत दिन ढिलाइ गर्नु असन्तुष्टिका मुख्य कारण हुन्,’ उनले भने, ‘आलोपालो प्रधानमन्त्री गर्ने कुरा यही समीकरणभित्रै छ । कार्यान्वयन हुन्छ, हुँदैन, बेग्लै कुरा हो ।’

एमाले र माओवादीसहितको नयाँ समीकरण बनेबित्तिकै ओली र दाहालले नेपाल निवासमै गएर गरेको प्रतिबद्धतालाई सरकारले विश्वासको मत पाएपछि भुल्दै गएको भुसालको आरोप छ । यसरी समीकरणमा रहेका दलहरूबीच मनमुटाव बढ्दै गए अर्कै परिणाम आउन सक्ने उनले भनाइ छ । ‘एकले अर्काको अस्तित्व अस्वीकार गर्ने हो भने के परिणाम आउँछ, अहिले भन्न सकिँदैन,’ उनले भने ।

पार्टी उपमहासचिव प्रकाश ज्वालाले पनि सत्ता समीकरणमा समस्या भएको उल्लेख गर्दै छलफलबाट समाधान गरी अघि बढ्ने पार्टीको निष्कर्ष भएको बताए । ‘समीकरणमा समस्या छन्, ती समस्या छलफलबाट समाधान गर्ने निष्कर्ष हो,’ उनले भने ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्ति जारी गर्दै समीकरणमा कुनै समस्या नभएको बताएका छन् । बैठकले सत्ता समीकरणप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै आपसी छलफलबाट समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ । ‘यसबीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्ला गलत रहेको र त्यस्ता भ्रममा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख २५, २०८१ ०५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?