कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अनि भाग्यमानले भने, ‘मोक्कोन म्राङ्जी !’

डा. सन्दुक रुइत नेतृत्वको टोलीले निःशुल्क आँखा शिविर चलाएर ३ दिनमा ३ सय ३५ वृद्धवृद्धाको आँखाको ज्योति फर्काए
स्वरूप आचार्य

काठमाडौँ — काभ्रेको महाभारत–२, गोकुलेका ८२ वर्षीय भाग्यमान साङ्तान, उनका भाइ ८१ वर्षीय गुमानसिंह साङ्तान र ८१ वर्षीया श्रीमती अन्तरीमाया साङ्तान तीनै जना मोतियाविन्दुका कारण ठ्याम्मै देख्दैनथे । उनिहरूका दुवै आँखाले देख्न छोडेको दुई वर्ष भइसकेको थियो । देख्न छोडेपछि उनीहरूको दैनिकी दिनभर पिँढीमा बस्ने, जसले जे दिन्छन्, त्यही खाने र छामछाम–छुमछुम गर्दै शौचालयसम्म जाने मात्रै थियो ।

अनि भाग्यमानले भने, ‘मोक्कोन म्राङ्जी !’

गुमानसिंहले कान पनि राम्रोसँग सुन्दैनन् । जीवनको निकै उत्तरार्द्धमा आइपुगेका उनीहरुका लागि फेरि संसार देख्न पाइएला भन्ने त कल्पना पनि थिएन । तर जब उनीहरु श्रीमती र छोराको साथ लागेर शल्यक्रिया गराउनका लागि बूढानीलकण्ठ नगरपालिका–११, कपनस्थित पुल्हारी गुम्बामा सञ्चालित आँखा शिविरसम्म आए, अकल्पनीय खुसी पाए ।

‘देख्यौ ?,’ शल्यक्रियापछि लगाइएको पट्टी खोल्दै डा. सन्दुक रुइतले आँखामा टर्च बालेर नियाल्दै गुमानसिंहलाई सोधे । गुमानसिंहले आफ्नै हात नौलो मान्दै ओल्टाइपल्टाई हेरे, अनि दंग परेर भने, ‘हिजोसम्म त ठ्याम्मै थियो, आज सबै देख्यो ।’ देख्न पाउनुको अपार खुसी उनको आँखा हुँदै मुस्कानसम्म फैलिएको देखिन्थ्यो । आफ्नो हाँसो रोक्न सकेनन् । अझै खुसी त तब भए, जब छेवैमा रहेकी श्रीमती अन्तरीमायाको पनि शल्यक्रियापछि आँखाको पट्टी खोलिँदै थियो । दुवै बूढाबढीले एकअर्कालाई हेरे, उनले अन्तरीको गाला मुसार्दै भने, ‘मैले सबै देख्यो । तिमीलाई पनि देख्यो ।’ छेवैमा रहेका दाइ भाग्यमानको पनि अघिल्लो दिन नै मोतियाविन्दुको शल्यक्रिया गराएका थिए । डा. रुइतले पट्टी खोलिदिएपछि सोधें, ‘देखिन्छ ?’ तामाङ भाषा मात्र बुझ्ने उनले दोभाषेको सहारामा उत्साहित हुँदै भने, ‘म्राङ्जी, मोक्कोन म्राङ्जी (देखें, सबै देखें ।)’

उनले भाइलाई पनि त्यही मेसो भने, ‘एदान् म्राङ्जी (तिमीलाई पनि देखेँ ।)’ तीनै जनाले एकअर्कालाई हेरेर दंग परे ।


सिन्धुलीको सुनकोशी गाउँपालिकाकी ९८ वर्षीया मिश्र नेपाली पनि उपचारपछि दुवै आँखाले एकैसाथ देख्ने भएपछि दंग थिइन् । विगत ३ वर्षदेखि दुवै आँखामा मोतियाविन्दु भएपछि देख्न छोडेकी उनी फेरि देख्न सक्ने भएपछि हर्षित देखिएकी थिइन् । उनी पनि भन्दै थिइन्, ‘मैले सबै देखें । म अब सबै देख्छु ।’ भित्र पसिसकेको थोते मुखमा मिठो हाँसोसहित थपिन्, ‘अब यत्तिकै मर्छु भन्ने लागेको थियो । मैले फेरि देखें ।’ नेपाली उपचार गराउन सिन्धुलीदेखि काठमाडौं ल्याउने आफ्नै नातिलाई हेरेर मुस्कुराइरहिन् । काभ्रेकै महाभारत–७ बाट आएकी ७६ वर्षीया माइलीमाया घलानले पनि दुवै आँखा देख्न छोडेको करिब १ वर्ष भएको थियो । शिविरमा शल्यक्रिया गरेपछि उनी पनि देख्न सक्ने भइन् । सबै देख्ने भएसँगै उनले नौलो मानिरहेकी थिइन् । के गर्ने र के भन्ने उनले भेउ पाइरहेकी थिइनन् ।

कपनस्थित पुल्हारी गुम्बामा आनन्द संघको सहयोगमा वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत नेतृत्वको टोलीले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा वैशाख १७ देखि १९ गतेसम्म तीन दिन चलाएको निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा काठमाडौं र आसपासका जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुली, गोरखा, नुवाकोट र धादिङका गरी ३ सय ३५ जनाको शल्यक्रिया भएको थियो । उनीहरूको पुल्हारी गुम्बामा नै खानेबस्ने प्रबन्ध मिलाइएको थियो । यस प्रकारको शिविर पुल्हारी गुम्बामा सञ्चालन भएको यो ३४ औं पटक हो ।


शल्यक्रिया गरेर नेपालमै उत्पादित इन्ट्राओकुलर लेन्स हालेका बिरामीहरूको फलोअप गर्न पनि पुनः उक्त स्थानमा शिविर सञ्चालन हुने छन् । तीन दिनको शिविरमा डा. रुइतका साथमा तिलगंगा आँखा प्रतिष्ठानकी डा. कृपा जोशीसहित दुई जना विदेशी प्रशिक्षार्थी चिकित्सहरू पनि शल्यक्रियामा सामेल थिए । पहिलो दिन उक्त टोलीले १ सय १२ वटा आँखाको शल्यक्रिया गरेको थियो भने दोस्रो दिन १ सय २२ र तेस्रो दिन १ सय १ जनाको मोतियाविन्दु र एक जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

डा. रुइत नेपालका साथै विश्वका विभिन्न स्थानमा लाखौंको दृष्टिदोष हटाउने यस प्रकारको सस्तो र परिणाममुखी शल्यक्रिया विश्वस्तरको भएको बताउँछन् । उनका अनुसार विदेशका सुविधा सम्पन्न सेन्टरहरूमा गरिने मोतियाविन्दुको शल्यक्रियाको तुलनामा नेपालमा हुने शल्यक्रियाको परिणाम पनि उत्कृष्ट देखिएको छ । ‘हामीले शल्यक्रिया गरेर मान्छेलाई दृष्टि मात्रै दिएका छैनौं । उत्कृष्ट शल्यक्रिया पनि गरेका छौं । यो गर्वको विषय हो,’ उनले भने, ‘नेपालको आँखा उपचारका मोडल विश्वका अन्य अल्पविकसित देशहरूमा पनि नक्कल गरिँदै छ ।’


डा. रुइतका अनुसार अहिले पनि देशका कुनाकाप्चामा धेरै व्यक्तिहरू मोतियाविन्दुका कारण दृष्टिविहीन छन् उनीहरूको दृष्टिदोष हटाउनका लागि सरकारी स्तरमा नै यस प्रकारका शिविरहरू सञ्चालन गर्न सके अझै धेरै जना लाभान्वित हुन सक्छन् । ‘नेपालमा आँखाको उपचार मेरो कारणले मात्रै सफल भएको हो भन्ने म मान्दिनँ । यो समूहगत प्रयास थियो । अर्को जेनेरेसन पनि सक्षम भइसकेको छ,’ उनले भने, ‘यसलाई परिणामुखी बनाउँदै अझै बृहत् बनाउनुपर्छ भन्ने लाग्छ । उपचारपछि ठीक हुने रोग लिएर कोही दृष्टिविहीन भएर बस्नु हुँदैन ।’


आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्न निकै जटिल हुन्छ । आँखा नानीमा शल्यक्रिया गर्नका लागि माइक्रोस्कोपको प्रयोग गरिन्छ । यो शल्यक्रियाका लागि चिकित्सकले विभिन्न औजारहरू एकै साथ चलाउनका लागि कुर्चीमा बसेर आफ्नो दुईटै हात र दुईटै गोडाको प्रयोग गर्नुपर्छ । यो अत्यन्तै सूक्ष्म प्रकारको शल्यक्रिया हुने भएकाले एकाग्रता र हातगोडाको समन्वय निकै महत्त्वपूर्ण हुन्छ । केही महिनामा ७० लाग्न लागेका डा. रुइत आफूले अहिले पनि ८ घण्टा कुर्सीमा बसेर शल्यक्रिया गर्न सक्नुको श्रेय आफ्नो सम्पूर्ण सहयोगीलाई दिन्छन् । ‘मेरो लागि त यो नै साधना हो । मैले तीसौं वर्षदेखि गरेको साधना नै यही त हो,’ उनले भने, ‘अहिलेसम्म पनि मैले यो गर्न सकिरहेको छु । किनभने यसमा मेरो परिवारको मात्रै नभएर सम्पूर्ण टोलीकै साथ र सहयोग छ । म एक्लैले गर्न त सम्भव नै हुँदैन नि ।’





प्रकाशित : वैशाख २२, २०८१ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?