के बाँदर निर्यात गरेर समस्या समाधान हुन्छ ?

बाँदरको निकासी गर्नु हुँदैन : संरक्षणविद्

काठमाडौँ — संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्न नहुने बताएका छन् ।

के बाँदर निर्यात गरेर समस्या समाधान हुन्छ ?

बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए । 'मानिलिउँ तपाईले १०० वटा बाँदर निकासी गर्नुभयो भने के बाँदरको आक्रमण कम हुन्छ ? यस्तो नचाहिने कुरा नगर्नुस् म कहिल्यै पनि कन्भिन्स् हुँदैन । मेरै पालामा बाँदर निकासीको कोसिस पनि भएको थियो । मैले नै रोकेको पनि हो । दिपक बोहोरा मन्त्री हुनुहुन्थ्यो त्यतिबेला । उहाँलाई मैले कन्भिन्स् गरेर रोकेको पनि हो । यदि बाँदरले साँच्चिकै दुःख दिन्छ भने बाँदरलाई मार्नुस् । समस्या छैन । सुकुटी बनाएर बेच्नुस् मलाई त्यसमा पनि समस्या छैन,' शर्माले भने ।

बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा उनको थियो । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे । यद्यपि बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उहाँले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने उनको भनाइ थियो । बँदेललाई बच्चामै निःशुल्क रूपमा व्यक्तिहरूलाई दिन सकिने पनि उनले बताए । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनु पनि आवश्यक नभएको बताए ।

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए । उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाई छ । समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ ।

रुख काट्ने निर्णयको व्यापक विरोध भएपछिबाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् ।

लेखक पुडासैनीले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकूल संशोधन गर्न आवश्यक रहेकोसमेत बताए ।

कसले किन्छ बाँदर ?

केही समयअघि श्रीलंकाले चीनलाई १ लाख वटा बाँदर बेच्न लागेको समाचार प्रकाशित भएका थिए । श्रीलंकाली कृषि मन्त्रालयले टोक मकाका प्रजातिका बाँदर चीनलाई बेच्ने प्रक्रिया अघि बढाएको हो । उक्त प्रजातिको बाँदर श्रीलंकाका धेरै ठाउँमा पाइए पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आईयूसीएन)ले खतराको सूचीमा राखेको छ ।

कोभिड-१९ लकडाउनका बेला चीनमा बाँदरको संख्यामा कमी आएको नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । चीनमा विभिन्न फार्महरूमा बाँदरको प्रजनन गराइन्छ । बाँदरको प्रजननबाट उत्पादनका लागि चीन विश्वकै पहिलो नम्बरमा आउँछ भने त्यसको करिब ७० प्रतिशत अमेरिका निर्यात गर्छ । मानिसको मिल्दोजुल्दो आनिबानीका कारण विभिन्न चिकित्सासम्बन्धी अध्ययनका लागि बाँदर उपयुक्त जनावार हो । ग्लोबल टाइम्सका अनुसार चिकित्सा प्रयोजनका लागि एउटा बाँदर करिब २ हजार डलरसम्मको मूल्यमा बिक्री हुने गर्छ ।

कोरोना भाइरसको संक्रमण सुरु भएयता विभिन्न खोप उत्पादन कम्पनीले कोभिडविरुद्धको खोप परीक्षण बाँदरमै गरेका छन् । त्यसकारण पनि चीनमा बाँदरको संख्यामा कमी आएको बताइन्छ । त्यस्तै अमेरिका, भियतनामलगायतका मुलुकले पनि बाँदर आयात गर्ने गरेका छन् ।

प्रकाशित : माघ १६, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?