कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निजी विद्यालयहरू ढिलोचाँडो गुठीमा जानैपर्छ : शिक्षा सचिव अधिकारी

काठमाडौँ — सम्पूर्ण निजी विद्यालयहरू ढिलोचाँडो शैक्षिक गुठीमा रुपान्तरण हुनैपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका छन् ।

निजी विद्यालयहरू ढिलोचाँडो गुठीमा जानैपर्छ : शिक्षा सचिव अधिकारी

हाल संसदीय समितिमा छलफलका क्रममा रहेको ‘शिक्षा विधेयक २०८०’ मा गुठीकरणबारे स्वेच्छिक व्यवस्था रहे पनि भविष्यमा सबै निजी विद्यालय सामुदायिकमा रुपान्तरण हुने अपेक्षा राखिएको सचिव अधिकारीको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित दोस्रो ‘कान्तिपुर एजुकेसन सम्मिट २०८०’ को पहिलो सत्र उच्च ‘शिक्षा कानुन गर्भमा विद्यालय शिक्षा विधेयक विवादमा’ मा सचिव अधिकारीले नयाँ निजी विद्यालयहरू शैक्षिक गुठीका रूपमा स्थापना हुनुपर्ने र हाल सञ्चालनमा रहेकाहरू पनि क्रमश: त्यही मोडालिटिमा जाने अपेक्षा रहेको बताएका थिए ।

‘गुठीकरण र विद्यालय क्षेत्रको क्षेत्राधिकारमा मन्त्रालयको धारणा विधेयकमा जे छ, त्यही नै हो,’ उनले भने, ‘हाल विधेयक संसद्को समितिमा छलफलमा छ । अहिले सञ्चालित विद्यालयहरू स्वेच्छिक रूपमा गुठीमा रुपान्तरण हुनसक्ने व्यस्था छ । यद्यपी, ट्रस्टमा जान प्रोत्साहन गर्ने भन्ने नै हो । शिक्षा क्षेत्रमा निजीको पनि भूमिका छ र त्यसलाई अवमूल्यन हुन नदिने सरकारको धारणा हो तर यसलाई बढी नाफामूलक बन्न वा विद्यार्थीहरूको ढाड सेक्न नदिने भन्ने हो । ’

सचिव अधिकारीले सामुदायकलाई सबलिकरण गर्दै निजीसरह बनाउँदा भविष्यमा सामुदायिक विद्यालय नै अभिभावकको प्राथमिकतामा रहने बताए । उनका अनुसार विधेयकमा शिक्षकहरू स्थानीय तहअन्तर्गत नै रहने व्यवस्था रहेको पनि स्पष्ट पारे । विधेयकको दफा १४० मा संघ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट उल्लेख गरिएको उनले बताए ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयकमाथि नाम परिवर्तनसहितका एक सय ६५ वटा संशोधन प्रस्ताव परेका छन् । सचिव अधिकारीले यसमा सुधार गरे पनि पुन:लेखन आवश्यक नरहेको धारणा व्यक्त्त गरेका छन् ।

प्रकाशित : पुस १७, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?