कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : लामिछाने

'विगतमा छानबिन समितिको राम्रो उदाहरण छैन । यसपटक त्यस्तो नहोस् । समाजले राम्रोसँग बुझेको छ । तर शंकाको सुविधा दिनुपर्ने हुन्छ'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायबाट छानबिन निष्पक्ष हुनेमा शंका रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै विगतमा आयोगहरुले गरेको छानबिन कारबाही नभएको भन्दै लामिछानेले सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताए ।

बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : लामिछाने

'विगतमा छानबिन समितिको राम्रो उदाहरण छैन । यसपटक त्यस्तो नहोस् । समाजले राम्रोसँग बुझेको छ । तर शंकाको सुविधा दिनुपर्ने हुन्छ । धितोपत्र बोर्डको विषयमा भएको अनुसन्धान बाहेक कारबाही भएको थाहा छैन,' लामिछानेले भने, 'यो अनुसन्धान नवयुवराजहरुमा आयो भने रोकिने त होइन ? ललितानिवास जग्गा प्रकरण जस्तो, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा जस्तो अड्किने त होइन ?' लामिछानेले भनेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका नेताका छोराहरूलाई सोधपुछ नगरिएको विषयतर्फ लक्षित गर्दै सांसद लामिछानेले यस्तो कटाक्ष गरेका थिए ।

यस क्रममा उनले सुशासन कायम गर्नुपर्ने निकायलाई निकम्मा बनाइएको भन्दै गुनासो पनि गरे । 'सुशासनको कुरा गर्दा हामीले राज्यका निकायहरुलाई कसरी निकम्मा बनाएका छौं । गौंडागौंडमा आफ्नो मानिस भर्ना गरेका छौं,' लामिछानेले भने ।

यस्तै सांसद लामिछानेले बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरुकै छोराछोरीले दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 'बुबा पुस्ताले लडेर ल्याएको व्यवस्थामा नवयुवराजहरुले के गरिरहेका छन् हामीले देखेका छौं । फेरि नवयुवराजहरुमा अनुसन्धान पुग्दा प्रभावित नहोस् । बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानमा छोराछोरीहरुले गरेको यो नाच सर्वत्र देखिएको छ । निन्दनीय छ,' उनले भने ।

बैठकमा उनले लामो समयसम्म किन संसद्‍ बन्द भएको र कसले बन्द गरेको भन्दै प्रश्न गरेका थिए ।

'यतिका दिनसम्म संसद्‍ किन बन्द भयो कसले गर्‍यो ? नेपाली जनताको आवाज राख्ने कैयौं विधेयकहरुको छलफल गर्ने संसद्‍मा नेपाली जनताको आवाज किन बन्द भयो ?' उनले भने ।

प्रकाशित : भाद्र ६, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?