२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

बस्ती जलमग्न, घर हिलाम्मे

सडक किनारमा आश्रय लिइरहेका कैलाली भजनीका विस्थापितहरू खानेकुरा, त्रिपाल, लत्ताकपडा, खानेपानी, शौचालयको समस्या झेल्दै
अर्जुन शाह, भवानी भट्ट

धनगढी‚ कञ्चनपुर — कैलालीको भजनीका ९ सयभन्दा बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् । भजनीका बस्ती जलमग्न बनेका छन् भने उनीहरूका घरहरू हिलाम्मे बनेका छन् ।

बस्ती जलमग्न, घर हिलाम्मे

सडक किनारको सुक्खास्थलमा आश्रय लिइरहेका विस्थापित परिवारले खानेकुरा, शौचालय, त्रिपाल, लत्ताकपडा, खानेपानीलगायतको समस्या झेलिरहेका छन् । तीन दिनदेखि निदाउन नपाएको लामखुट्टेको टोकाइ सहनुपरेको बताएका छन् ।

मंगलबार राति विस्थापित भएका उनीहरूलाई बुधबार सुरक्षा निकायले उद्धारमा सहयोग गरे पनि बिहीबार कसैले वास्ता नगरेको गुनासो गरेका छन् । ‘घरमा भएका लत्ताकपडा र खाद्यान्न आफैंले ल्याउने प्रयास गर्‍यौं,’ भजनी–३ का सञ्जीव चौधरीले भने, ‘पहिलो दिन सबै जना आएर हेरेर गए । आज त कोही पनि फर्केनन् । हामी आफैं–आफैं मिलेर घरबाट सामान झिकेर ओसारिरहेका छौं ।’ सडक छेउमा बस्न बाध्य परिवारले घर गएर सामान ओसार्न डुंगा प्रयोग गर्नु परिरहेको छ ।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले बढी प्रभावित वडा ३ का कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, वडा ८ का बहादुरपुर, जनकपुर, मिजाहा, सोनाफाँटाका डुबान प्रभावित अधिकांश परिवार हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेको बताए । उनका अनुसार वडा ३ मा काँढा र वडा ८ मा पथरैया नदीको बाढीले डुबान गरेको हो । वडा ८ मा डुबान भने केही घट्ने क्रममा छ । भजनीमा कन्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढी बस्ती पस्ने गरेको छ । नगर प्रमुख चौधरीले विस्थापित परिवारलाई विभिन्न संस्थाको सहयोगमा खानेपानीका बोतल, चाउचाउ र भुजा उपलब्ध गराएको बताए । त्यसबाहेक उनीहरूलाई कुनै पनि निकायले राहत तथा सहयोग उपलब्ध गराएका छैनन् । ‘९ सय परिवारलाई नगरपालिकाबाट तत्काल कुनै राहत उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने, ‘हामीलाई सहयोगको आवश्यकता छ ।’

मंगलबार राति दोदा नदीको बाढी बस्ती पसेपछि कञ्चनपुरको पुनर्वास नगरपलिका–५ सिमरी र रातोतालका ३५ परिवार अझै घर फर्किन सकेका छैनन् । घरभित्रको पानी घटेपछि हिलो भरिएर बस्नै नसकिने अवस्था भएका कारण विस्थापित फर्किन नसकेका हुन् । उनीहरू सबै आफन्त र छिमेकीको घरमा बसोबास गरिरहेको पुनर्वास–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले बताए । ‘पानी घटे पनि घरभित्र बस्न सकिने अवस्था छैन,’ अध्यक्ष रोकायाले भने, ‘घरभित्र हिलो भरिएको छ, अन्न–कपडा सबै भिजेका छन् ।’ उनका अनुसार मौसम अझै राम्ररी खुलिनसकेका कारण घरभित्र र बाहिर हिलोले हिँडडुल गर्नै नसकिने अवस्था छ । सिमरीमा अधिकांश राना समुदायको बसोबास छ । काठ र माटोले बनेका घरहरूमा बाढी पसेपछि भत्किने जोखिम हुन्छ । बर्सेनि बाढी पस्ने भएका कारण पनि यो बस्ती निकै जोखिममा छ । पछिल्लो समय बस्ती छेउमै अग्लो हुने गरी हुलाकी सडक निर्माण गरिए पनि बाढीको उचित निकास हुन नसक्दा सामान्य बाढी पस्दासमेत डुबान हुने अवस्था छ । दोस्रो दिनसम्म पनि पानी नघट्दा बुधबार स्थानीयले निकासका लागि हुलाकी सडक भत्काएपछि मात्रै बस्तीको पानी घटेको हो ।

लगातारको वर्षापछि जिल्लाका अधिकांश नदीनालामा बाढी आएको थियो । चुरे फेदीमा धेरै नदीनालाले खेतीयोग्य जमिनसमेत कटान गरेको स्थानीयले जानकारी दिएका छन् । यसैबीच बुधबार दिनभरि महाकालीमा बाढी आएपछि चारपांग्रे सवारीसाधनका लागि बन्द गरिएको शारदा ब्यारेजको पुल बिहीबार खुलेको छ । बुधबार महाकालीमा पानीको बहाव १ लाख ३६ हजार क्युसेक पुगेको थियो । दिनभरि बहाव नघटेपछि चारपांग्रे सवारीसाधन सञ्चालन हुन पाएनन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बिहीबार भने पुलमा चारपांग्रे सवारीसाधन आवागमन खुला गरिएको छ । पानीको बहाव घटेर ९० हजार क्युसेक पुगेको छ । झन्डै सय वर्ष पुरानो शारदा ब्यारेजको पुल जीर्ण भएका कारण १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे साधन आवागमनमा रोक लगाइने गरिएको छ ।

कैलालीको खुटिया नदीमा बगेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार बाढीले बगाएर ल्याएका दाउरा निकाल्न नदीमा गएका भट्टराई बेपत्ता भएका थिए । बिहीबार उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

भीमदत्त राजमार्ग अझै खुलेन

सोमबार राति गएको पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन धनगढी–डडेलधुरा भीमदत्त राजमार्ग बिहीबार तेस्रो दिन पनि सञ्चालन हुन सकेको छैन । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीले बिहीबार दिनभर पाँच वटा डोजरले मर्मतमा प्रयोग भइरहेको बताए । मंगलबार गोदावरी नगरपालिका–४ बुढीतोला–खानीडाँडा खण्डमा करिब दुई सय मिटर सडक भासिएको र माथिबाट पहिरो खसेको थियो । बिहीबार राति ठूलो पानी नपरे शुक्रबारसम्म यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको एसपी गिरीले बताए । राजमार्ग अवरुद्ध हुँदा तराईबाट सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुट्ने कुनै पनि सवारी तथा ढुवानीका साधन ठप्प छन् । पहाडी जिल्लाबाट आएका यात्रुले सास्ती बेहोर्नुपरेको छ । तीनपांग्रे साधनले बुढीतोलासम्म यात्रु ओसारिरहेका छन् ।

प्रकाशित : श्रावण २६, २०८० ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?