२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

समस्याग्रस्त बाघ व्यवस्थापनमा संरक्षणकर्मी विभाजित

देशभर १६ बाघ खोरमा
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा विश्व बाघ दिवस मनाउँदै गर्दा समस्याग्रस्त बाघलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नयाँ बहस सुरू भएको छ । समस्याग्रस्त भनिएका बाघ राख्ने देशभरका खोरहरू भरिएपछि त्यस्ता बाघहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा विभिन्न खालका विचारहरू संरक्षणकर्मी र सरकारी निकायबाट आउन थालेको छ ।  

समस्याग्रस्त बाघ व्यवस्थापनमा संरक्षणकर्मी विभाजित

कसैले समस्याग्रस्त बाघलाई प्रदेशस्तरीय खोरहरू बनाएर राख्ने तथा कसैले विदेशबाट सिकारी बोलाएर मोटो रकम असुल गरेर सिकार गर्न दिनुपर्ने बताएका छन् ।

बाघविज्ञ चिरञ्जिवी पोखरेल भन्छन्,'बाघको संख्या बढाउने त छँदैछ । अबको चुनौती भनेको बाघ र मानिसबीच सह-अस्तित्वलाई कसरी कायम राख्ने भन्ने हो । यसका लागि समस्याग्रस्त बाघको पहिचान र व्यवस्थापन महत्त्वपूर्ण पाटो हो ।'

हाल मानिस र पशुलाई आक्रमण गरेको आशंकामा देशभर १६ वटा बाघ खोरमा छन् । जस्तै, ४ वटा बाघ राख्ने क्षमता भनिएको सदर चिडियाखानामा ६ वटा राखिएको छ । यस्तै, चितवनमा ५, पर्सामा २ र बर्दियामा ३ वटा गरेर १० वटा बाघ खोरमा छन् ।

देशभरका खोरहरू भरिएपछि अब आउन समस्याग्रस्त बाघहरूलाई कहाँ राख्ने भन्ने नयाँ चिन्ता थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुन भन्छन्, ‘कुनै समस्याग्रस्त बाघ आयो भने राख्ने ठाउँ नै छैन ।’

समस्याग्रस्त बाघ व्यवस्थापनका लागि खोर मात्रै भएर पुग्दैन । त्यसको पालनपोषणमा पनि धेरै नै धनराशि खर्च हुने गरेको छ । औसतमा एउटा बाघलाई खोरमा पाल्न वार्षिक खर्च १५ लाख हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । उनी भन्छन्, 'दैनिक एउटा बाघलाई ५ केजी मासु मात्रै खर्च हुन्छ । यस्ता बाघलाई पाल्न आवश्यक खर्च जुटाउन नै गाह्रो छ ।'

बाघको संख्या अझै बढ्दै जाने र सँगै समस्याग्रस्त बाघको संख्या बढ्ने भएपछि व्यवस्थापन अति नै जरुरी भएको वन वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले बताए । उनले भने, 'यसको व्यवस्थापन भनेको विदेशबाट धनाढ्य सिकारीहरू बोलाएर समस्याग्रस्त बाघलाई मार्न दिने हो । उनीहरुबाट उठेको रकम फेरि बाघ संरक्षणमा खर्च गर्न सकिन्छ ।' एक बाघ मारेबापत २५ मिलियन डलर (करिब २ अर्ब रुपैयाँसम्म) लिन सकिने उनले हालै दिएको एक अभिव्यक्तिले अहिले नेपालमा नयाँ बहस सुरु भएको छ । मन्त्री महतोले भने अनुसार एउटा बाघ मार्नका लागि २५ मिलियन डलर लिने हो भने ५ वटा बाघ मारेर प्राप्त हुने रकमले सिंगो नेपालको वन तथा वातावरण मन्त्रालयको यो आर्थिक वर्षको बजेट बराबरको रकम हुन जान्छ ।

करिब दुई दशकभन्दा बढी समय वन्यजन्तु संरक्षणमा बिताएका संरक्षणकर्मी नरेश सुवेदी समस्याग्रस्त वन्यजन्तु व्यवस्थापनका लागि प्रतिस्पर्धामार्फत् सिकार गराएर आम्दानी गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘ एक त हामीसँग त्यस्ता समस्याग्रस्त बाघ पाल्ने बजेट नै हुन्न । बरु कसैले करोडौं रकम दिएर त्यस्ता बाघ सिकार गर्छुभन्दा किन नदिने ? त्यो पैसा संरक्षणमा खर्च गरौं न ?’ उनले खोर राख्दा पनि समस्याग्रस्त बाघको दुःखद मरण हुने र पाल्न आवश्यक बजेट र जनशक्ति नहुने भएकाले विदेशी पर्यटक तान्न सिकार गराउन उपयुक्त हुने बताए ।

सुवेदी भन्छन्, 'सिकार गर्ने भन्ने यदि निर्णय भएमा ग्लोबल टेन्डर गरेर कसले बढी पैसा दिने कबुल गरेर डिपोजिट गर्छ, उसलाई सिकार गर्न अनुमति दिने । समस्याग्रस्त बाघको पहिचान भएपछि उसलाई जानकारी दिने र तत्काल उसको निजी विमानमार्फत नेपालमा अवतरण गरेपछि तोकिएको मितिभित्र उक्त बाघलाई मार्न भन्ने । ' यस्तो प्रस्ताव आकर्षक सुनिएपछि नेपालमा बाघको संख्यामा ठूलो असर पर्न सक्ने अन्य संरक्षणकर्मीहरू बताउँछन् । बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि निकै नै कमजोर धरतालमा उभिएको देखिन्छ र कुनै समयमा संख्या फेरि घट्न सक्ने देखिन्छ । समस्याग्रस्त बाघ व्यवस्थापन गर्नका लागि विभिन्न प्रदेशमा बाघको सेञ्चुरी बनाउने, होल्डिङ सेन्टरको स्थापना गरेर राख्न सकिने अर्का संरक्षणकर्मी शिवराज भट्ट बताउँछन् । बर्दिया निकुञ्जका पूर्व संरक्षण अधिकृत रहेका भट्टले शुक्रबार आयोजित एक कार्यक्रममा भने, 'त्यस्ता ठाउँलाई पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।'

समस्याग्रस्त व्यवस्थापनमा सरकारी खर्च अपर्याप्त रहेको भन्दै वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले ‘समस्याग्रस्त बाघको सिकार’ गर्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध भएको छ । यद्यपि केही संरक्षणकर्मीहरुले समस्याग्रस्त बाघको सिकार गर्नाले आम्दानी बढ्ने र त्यसले बाघ संरक्षणमा खर्च गर्न टेवा पुर्‍याउने बताएका छन् ।

चितवनस्थित थारु कल्चर म्युजियमका अध्यक्ष वीरेन्द्र महतो मन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध गर्छन् । थारुहरुको ऐतिहासिक भूमिबाट निकालेर बाघ संरक्षणका लागि भनेर ३०/४० हजार मासिनहरुलाई हटाएर अन्यत्र सार्ने अनि अहिले धेरै बाघ भयो भन्दै सिकार गराउन खोज्नु गलत भएको उनले बताए । उनले कान्तिपुरसित भने, ‘पहिला बाघलाई ठाउँ पुगेन भनेर थारुहरुको ऐतिहासिक भूमिबाट हटाएर निकुञ्जको बफर क्षेत्रभन्दा टाढा राखिएको छ । अहिले संख्या बढ्यो अनि पैसाका लागि बाघ सिकार गराउने भन्ने न्यायपूर्ण हुन्न । ’ उनले समस्याग्रस्त बाघको पहिचान गर्ने सवालामा पनि नेपालमा राम्रोसँग अध्ययन नभएकाले पैसा आउँछ भनेर बाघको सिकार गर्न दिने कार्य अत्यन्त गलत भएको बताए ।

उनले वनमन्त्री महतोको अभिव्यक्ति गलत भएको बताए । उनी भन्छन्,‘हामी घरमा पालेको कुकुरलाई त मार्न दिँदैनौं । हिजो थारुहरुको ऐतिहासिक भूमिबाट निकालेर बाघ संरक्षण भनेर हटाइयो अनि अहिले पैसा कमाउनका लागि यस्तो काम गर्न दिनु भनेको न्यायोचित हुँदै हैन ।’

यता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजयकुमार कार्की समस्याग्रस्त बाघ व्यवस्थापनका लागि आवश्यक पर्ने बजेट कम भएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘एउटा समस्याग्रस्त बाघ राख्ने खोर बनाउनका लागि मात्रै एक करोड रुपैयाँ खर्च हुन्छ ।’ समस्याग्रस्त बाघ सिकार सम्बन्धमा विभागको धारणा चाँडै आउने उनले प्रतिक्रिया दिए ।

संरक्षणकर्मी विभाजित

समस्याग्रस्त बाघको सिकार गराउने सवालमा नेपालमा संरक्षणकर्मीहरु विभाजित देखिएका छन् भने संरक्षणको क्षेत्रमा काम गर्दै आएको डब्लूडब्लूएफ नेपाल यस विषयमा प्रतिक्रिया नदिने भन्दै पन्छिएको छ । नेपालमा बाघ संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको डब्लूडब्लूएफ नेपालले यस विषयमा कुनै प्रतिक्रिया दिएन । डब्लूडब्लूएफका नेपाल प्रतिनिधि घनश्याम गुरुङसँग यस विषयमा सोध्‍न खोज्दा उनले समस्याग्रस्त बाघ सिकार गराउने सवालमा आफूले केही पनि भन्न नमिल्ने बताए । उनले कान्तिपुरसित भने, ‘मैले यस वा नो भन्न सक्ने अवस्था नै छैन । मैले यो विषयमा व्यक्तिगत रुपमा पनि कुनै प्रतिक्रिया दिन मिल्दैन ।’

संरक्षणविद् एवं वाइल्डलाइफ बायोलोजिस्ट बाबुराम लामिछाने समस्याग्रस्त बाघलाई मार्ने भन्दा पनि बाघ उद्धार केन्द्र बनाउन सुझाव दिन्छन् । उनी भन्छन्,‘समयमा नै समस्याग्रस्त बाघलाई पहिचान गरेर त्यसलाई बाघ उद्धार केन्द्रमा लैजान सकिन्छ । अहिलेको अवस्थामा समातेर खोरमा खुवाएर राख्ने गरिन्छ । तर यस्ता बाघको व्यवस्थापन फरक तरिकाले व्यवस्थापन गर्न सकिन्छ । ’ उनले समस्याग्रस्त बाघको पहिचान र तीनको पहिचान आवश्यक रहेको औंल्याउदै सचेतना अभिवृद्धि गर्न जोड दिएका छन् ।

‘पछिल्लो समयमा जनचेतनासँगै बाघका कारण हुने घटनाहरुमा कमी आएका छन् । सबैभन्दा मुख्य कुरा समस्याग्रस्त बाघको पहिचान गरेर नियन्त्रण गर्ने महत्त्वपूर्ण हुन्छ । नियन्त्रण गरेर कसरी राख्ने भन्ने कुरामा सरकारले पोलिसी बनाउनुपर्ने हुन्छ । त्यस्ता बाघलाई टाइगर सेन्टर बनाएर राख्न सकिन्छ,’ उनी भन्छन्, ‘समयमा नै समस्याग्रस्त हुन सक्ने बाघलाई पहिचान गरेर तिनलाई नियन्त्रण गरे क्षति कम गर्न सकिन्छ । ’

घाँसे मैदानमा विद्यावारिधि गरेका संरक्षणकर्मी श्याम थापा समस्याग्रस्त बाघको व्यवस्थापन जरुरी रहेको बताउँदै अध्ययन र पहिचान गरेर त्यस्ता बाघलाई सिकार गराउन सकिने प्रतिक्रिया दिए ।

बाघविज्ञ चिरञ्जिवी पोखरेल समस्याग्रस्त बाघलाई व्यवस्थापनमा सिकार गराउनुको सट्टा एउटा क्षेत्रमा राखेर टाइगर सेञ्चुरी बनाउनुपर्ने बताए । उनले भने, ‘समस्याग्रस्त वन्यजन्तुलाई मारेर समस्या समाधान हुन्ने मानसिकता राख्दा त्यो कल्चरको रुपमा विकासित हुन सक्ने खतरा हुन्छ । बरु यस्ता बाघलाई एउटा ठूलो क्षेत्रमा राखेर पर्यटक तान्न सकिन्छ । ’

सम्भव छ त सिकार ?

अमेरिकी अनुसन्धानकर्ता एवं सहप्राध्यापक नील कार्टर नेतृत्वको टोलीले हालै प्रकाशित गरेको एक अध्ययनमा बाघको सामाजिक सञ्जालको चित्रण गरेको छ । यस्तो सामाजिक सञ्जालको संख्याको स्थिरताको लागि महत्त्वपूर्ण हुन्छ र विभिन्न उमेर लिंगका बाघहरुले यसको स्थायित्तवमा भूमिका खेल्ने गर्दछन् । भाले बाघले एउटा निश्चित विचरण क्षेत्र राखेर बसेको हुन्छ । जहाँ ४/५ वटा बघिनीसँग बस्छ । यदि त्यो बाघ मर्‍यो भने अर्को भाले बाघले उसको ठाउँ लिन्छ तर पुरानो भालेको डमरुलाई मारेर आफ्नो सन्तान उत्पादन गर्छ । बाघको सामाजिक सञ्जालको गहिरो अध्ययन नगरी हचुवाको भरमा सिकार गर्दा यसले पुरानै सामाजिक सञ्जाल खल्बल्याउन सक्छ । जस्तो कि, जसमा एउटा भाले बाघ विचरणका लागि लामो दूरी हिँड्छ । यसले विभिन्न समूहमा बाँडिएको संख्यालाई पुलको रुपमा काम गर्ने गर्छ ।

उसो सिकारीलाई बोलाएर बाघ मार्न लगाउँदैमा त्यो समस्याग्रस्त बाघ नै हो भन्ने पहिचान गर्न गाह्रो हुन्छ । हाल समस्याग्रस्त बाघ स्थानीयले भनेको आधारमा नियन्त्रण गर्ने गरिएको छ । तर बाघमा हुने पाटाले मात्रै फरक बाघ हो भन्ने छुट्याउँछ । यस्तै, उनीहरुको अनुवांशिक अध्ययन गरेर मात्रै पहिचान गर्न सजिलो हुन्छ । नेपालजस्तो अनुसन्धान कम भएको क्षेत्रमा यो कार्य गर्न असम्भव हुने देखिन्छ । फेरि समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर एउटा साँघुरो ठाउँमा राखेर सिकारीलाई आऊ मारभन्दा सिकारीलाई चासो नहुन सक्छ । प्रायः अन्कन्टर जंगलमा मात्रै सिकारीहरू सिकार गर्ने हुँदा एउटा ठाउँमा राखिएको बाघलाई मार्न उनीहरूको चासो नहुन सक्छ ।

सरकारले सिकार सम्बन्धमा त्यस्तो कुनै किसिमको पनि संस्थागत संरचना नभएकाले यसको नियमनको पाटो पनि महत्त्वपूर्ण रहेको छ । नेपाल जस्तो कमजोर व्यवस्थापन हुने मुलुकमा सिकारको नाममा दुरुपयोग र सरकारी कर्मचारीलाई पैसा कमाउने धन्दाको रुपमा हुन सक्ने केही विज्ञहरुले बताएका छन् ।

नेपालको जस्तो कमजोर प्रशासनिक संयन्त्र भएको मुलुकमा सिकारीले कतिवटा बाघ कता मर्‍यो पनि हेर्न सक्ने क्षमता छैन । जस्तो कित ढुंगागिट्टी उत्खनन्‌को नियमन नभएको अवस्थामा सिकार गराउन छाडिदिँदा त्यसले विकराल अवस्था ल्याउने अर्को थरीको चिन्ता छ ।

बाघको संख्या सधैं बढ्नेभन्दा पनि एउटा समयमा आएर औसत हुन्छ वा संरक्षणका तयारी नपुग्दा संख्या जुनसुकै बेला घट्न सक्ने हुन्छ । प्राकृतिक अवस्थामा मर्नु र सिकार गराएर मार्नुमा धेरै फरक हुने विज्ञहरूको राय छ ।

के भन्छन् वनमन्त्री ?

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले समस्याग्रस्त बाघको सिकार गराउने विषय आफ्नो व्यक्तिगत धारणा भएको बताए । उनले विभिन्न मुलुकहरुमा समस्याग्रस्त बाघको सिकार गराएर आम्दानी गर्ने गरेको बताउँदै नेपालमा पनि त्यस्ता कार्यक्रम ल्याउन सकिन्छ कि भन्ने आफ्नो धारणा भएको बताए । कान्तिपुरसँगको फोन कुराकानीमा उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा पनि समस्याग्रस्त बाघको सिकार गर्न दिएर पैसा कमाएको देखिन्छ । हाम्रोमा यस्ता बाघको व्यवस्थापन गर्न पनि चुनौती छ । त्यस्ता बाघलाई राखेर व्यवस्थापन गर्दा खर्च धेरै हुँदा समस्या पनि छ । ’

समस्याग्रस्त बाघको सूची र पहिचान गरेर टेन्डर निकालेर सिकार गराउन सकिने उनको धारणा छ । भन्छन्, ‘बुढो भएर मर्न लागेका, समस्याग्रस्त बाघको सूची र पहिचान गरेर टेन्डर निकालेर सिकार गराउन सकिन्छ भन्ने मेरो धारणा हो । त्यसबाट आम्दानी पनि हुन्छ संरक्षणका लागि बजेट पनि जुट्छ ।’

यस्तै, उनले समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर अन्य मुलुकहरुलाई उपहार दिन सकिने पनि बताए । ‘आउने दिनमा बाघ बढेसँगै त्यसको संरक्षण पनि हुनुपरो । हामीसँग बजेट र पूर्वाधार पनि कम छन् । सबै विषयलाई समेटर पनि लैजानुपर्ने हुन्छ,’ उनले भने, ‘अब सातवटै प्रदेशमा ओपन जु बनाएर त्यस्ता बाघलाई पनि हस्तान्तरण गर्न सकिन्छ । त्यसले पर्यटन पनि आउन सक्छन् । यो मेरो व्यक्तिगत विचार हो । धेरै कमेन्ट्सहरु आएका रहेछन् ।’

प्रकाशित : श्रावण १३, २०८० १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?