कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मकै सुके, धानको बीउ उम्रिएन

घोगा हाल्ने बेला खडेरीले मकैका बोट सुक्दै, धेरै किसानले धानको बीउ राख्न पाएनन्, वर्षा नहुँदा रोपाइँ ढिला हुने अवस्था
आज पानी पर्ला, भोलि पर्ला भन्दाभन्दै बारीका मकै सुकेर गइसके, झन्झन् चर्को घाममात्रै लागेको छ– पार्वती विक, किसान, भिमाद–५, तनहुँ

पोखरा — मनसुन सुरु भइदिएको भए पहाडी क्षेत्रमा यतिबेला किसानलाई धान रोपाइँको चटारो हुन्थ्यो । बारीमा मकैभित्र कोदो रोप्न भ्याइनभ्याइ (माचो) उत्तिकै हुन्थ्यो । तर यतिबेला लामो समयदेखि पानी परेको छैन । खडेरी र तापक्रम वृद्धिका कारण विभिन्न जिल्लामा बर्खे बाली सुक्न थालेको छ । एकातिर घोगा लाग्ने बेलाको मकै सुक्न थालेको छ, अर्कातिर धानको ब्याडसमेत सुक्न थालेको छ । खेतीमा व्यस्त हुनुपर्ने बेलामा भइरहेको मौसमी प्रतिकूलताले किसान चिन्तित छन् ।

मकै सुके, धानको बीउ उम्रिएन

नवलपुरको मध्यबिन्दु–१ की ईश्वरीकुमारी महतो मकैको बोट खडेरीले सुक्न थालेपछि चिन्तित छिन् । एक बिघामा लगाएका मकै सुकेको हेरेर उनी गहभरि आँसु पार्छिन् । एकाबिहानै लाग्ने गरेको चर्को घामसँगै उनको मन पनि चर्किन्छ । खेती लगाउँदा ३५/४० हजार रुपैयाँ खर्च भइसकेको छ । मकै बेचेर खर्च टार्ने योजना थियो । खडेरी लागेपछि उनको निद्रा हराएको छ । ‘खडेरीले मकै सुक्यो । मकैभित्र लगाएको बोडी तथा फर्सी सुकिसकेका छन्,’ उनले भनिन्, ‘दुःख गरेर लगाएको खेती सुक्दा मन रोएको छ । सिँचाइको सुविधा नहुँदा यो अवस्था भोग्नुपर्‍यो ।’

स्थानीय सानु महतोको पीडा पनि उस्तै छ । उनको बारीका मकैमात्र होइन, करेसाबारीको तरकारी पनि सुक्न थालेको छ । नहरको सिँचाइ सुविधा छैन । छिमेकीको पम्पसेट चलाएर दुई पटक सिँचाइ गर्दा पनि दिनहुँको चर्को घामले मकै हरियो भएन । १५ दिनको बीचमा सिँचाइमा उनले २ हजारभन्दा बढी खर्च गरिसके । तर, खडेरीले सिँचाइ पनि प्रभावकारी नभएको उनको गुनासो छ । ‘पाँच कट्ठामा लगाएको मकै खडेरीले खायो । धानको बीउ पनि उम्रिएको छैन । अब आउने वर्ष भोकमरी लाग्ने भो हामीलाई,’ उनले भने, ‘यति लामो खडेरी र तातो मैले थाहा पाएको थिइनँ । अब पानी आएन भने धान पनि रोप्न पाइँदैन ।’

दुई साता लामो खडेरी र चर्को घामका कारण मकै, तरकारी र धानको बीउ सुक्न थालेको हो । मकैका घोगा लाग्न यो सिँचाइको अत्यावश्यक समय हो । आकाशे पानीको भर परेका किसान कृषि प्रणाली प्रभावित भएको चिन्तामा छन् । देवचुली, गैंडाकोट, कावासोती, मध्यबिन्दुलगायतमा मकै सुक्न थालेको हो । एक/दुई दिनभित्रमा मौसममा सुधार नआएमा थप क्षति हुने कृषि ज्ञान केन्द्र कावासोतीका प्रमुख गोपाल लामिछानेले बताए । नवलपुर जिल्लामा यो वर्ष अधिकतम तापक्रम ४३ डिग्री सेल्सियससम्म मापन भएको छ । जिल्लामा ४ हजार ५ सय ५० हेक्टरमा मकै खेती हुँदै आएको छ ।

जिल्लामा वर्षे धान रोपाइँ ढिला हुने देखिएको छ । लामो खडेरीका कारण धानको बीउ पनि राख्न नपाएकाले रोपाइँ पछि सर्ने आकलन भइरहेको हो । जेठ सकिनै लाग्दा पनि बीउ राख्न नपाउँदा किसानमा छटपटी छ । असारको पहिलो वा दोस्रो साता रोपाइँ गर्न अहिले बीउ नछर्ने हो भने रोपाइँ नै ढिलो हुने भन्दै किसान चिन्तित भएका हुन् । ‘जेठ महिनाको मध्य समयमा वर्षा हुनुपर्ने हो । केही वर्षअघिसम्म यो समय आकाशे पानीको भरमा धानको बीउ छर्ने गरिन्थ्यो । तर, अहिले यस्तो खडेरी पर्‍यो ।’ कावासोती–१७ का नारायण पौडेलले सिँचाइ सुविधा हुनेले राखेको बीउ पनि चर्को गर्मीले नउम्रने हो कि भन्ने पिरलो रहेको बताए । ‘सिँचाइ सुविधा नहुनेले अब कहिले बीउ राखेर रोपाइँ गर्ने भन्ने टुंगो छैन,’ उनले भने । चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । पूर्वी नवलपरासीमा १८ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

तनहुँमा पनि मकैका बोट बारीमै सुकेर खरजस्तै भएको बन्दीपुर गाउँपालिका–१ का कृषक वासु पन्थले बताए । उनले भने, ‘करिब १० दिन अगाडि पानी पर्दा मकै राम्रो हुने भयो भनेर खुसी थियौं । तर खडेरीले निराश बनाएको छ ।’ यो वर्ष बन्दीपुरमा मकै उत्पादन नहुने देखिएको कृषक कृष्णप्रसाद सापकोटा बताउँछन् । ‘मकैका पात छुँदा झुरुमझुरुम झरेका छन्, यस्तो बोटमा कसरी फल लाग्छ ?’ उनले भने, ‘सिँचाइको कमीका कारण मकै जोगाउन सकिएन । सधैं बारीमा पानी बोकेर हाल्न पनि सम्भव छैन ।’ करिब ७ रोपनीमा मकै खेती गरेका उनी बीउ खेर गएको भन्दै चिन्ता व्यक्त गर्छन् ।

३० रोपनीमा मकै खेती गरेकी भिमाद–५ की पार्वती विक पनि खडेरीका कारण उत्पादनमा कमी आउने बताउँछिन् । ‘यसपालि मकै होला जस्तो छैन । बाख्रा, गाईभैंसीलाई कसरी पाल्ने हो चिन्ता पर्न थालेको छ,’ उनले भनिन्, ‘आज पानी पर्ला, भोलि पर्ला भन्दाभन्दै बारीका मकै सुकेर गइसके । झन्झन् चर्को घाममात्रै लागेको छ ।’ खडेरीका कारण यस वर्ष जिल्लामा मकै कम उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी बताउँछन् । ‘खडेरीका कारण जिल्लाका प्रायः सबै भागको मकै खेतीमा ठूलो असर गरेको छ,’ उनले भने, ‘एक/दुई दिनमा पानी पर्‍यो भने केही भागका मकैले भने राहत पाउनेछन् ।’ जिल्लामा २२ हजार हेक्टरमा मकै लगाइन्छ ।

म्याग्दीमा पनि मकै र धानको बीउ उम्रन नपाउँदै सुक्न थालेको छ । सिँचाइ सुविधा नभएका रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, छापा, भीरमुनी, पुलाचौर, घतानलगायत जिल्लाका पश्चिमी भेगका सुक्खा क्षेत्रमा लगाइएको मकै बाली सुकेर सेता भएका छन् । ‘चर्को घाम, गर्मी र पानी पर्न नसक्दा खेतबारीमा लगाएको मकै हरियो देखिनुपर्ने बारी सेतो देखिन्छ । अलि चिस्यान भएको ठाउँमा दिउँसो ओइल्याएको मकै राति ब्युँतिन्छ, छेउकुना र सुक्खा क्षेत्रका मकैको पात मिच्दा धूलो आउने भएका छन्,’ मंगला–२ खुम्लियाकी मनसुवा किसानले भनिन्, ‘मकैमात्र होइन कोदोको बीउ र बदाम पनि सुक्न थालेको छ । यो वर्ष मौसमले खेती गरी खान देलाजस्तो छैन ।’

भर्खर उम्रेका धानका बीउ ब्याडमै सुक्न थालेका छन् । खासगरी धूले बीउ सुक्खा र गर्मीले बढी प्रभावित भएका छन् । त्यस्तै, कोदोको ब्याडमा बीउ नउम्रने र उम्रेका पनि सुकेको कृषकले बताएका छन् । सिँचाइ सुविधा नभएका र बलौटे माटो भएको क्षेत्रमा मकै, सिमीलगायत बाली सुक्न थालेका छन् । ‘खडेरी र चर्को गर्मीले खेतीबाली नष्ट भएको रिपोर्ट आएको छैन तर यो वर्ष अधिक तापक्रम बढेकाले माटो छिटो सुक्खा भइरहेको छ । सदरमुकामका हाम्रा नर्सरीमा अन्य बेलाभन्दा दोब्बर बढी पानी हाल्दा पनि नपुग्ने भइरहेको छ,’ कृषि ज्ञान केन्द्र बेनीका प्रमुख किरण सिग्देलले भने, ‘जिल्लाको उत्तरी भेगमा प्रायः पानी परिरहेको छ । सदरमुकाम वरपरका क्षेत्र र पश्चिम भेगमा कम पानी परेको छ ।’ म्याग्दीका माथिल्लो क्षेत्रमा मध्यजेठबाट धान रोपाइँ सुरु हुन्थ्यो । पानी नभएकाले यस पटक रोपाइँ थालिएको छैन ।

पर्वतमा असार सुरु हुनै लाग्दा कतिपय खेतमा रोपाइँको रौनक हुनुपर्नेमा मकै तथा धानको बीउ सुक्न थालेको छ । अधिकांश स्थानमा पानी अभावकै कारण धानको बीउ राख्नसमेत नपाएको किसानले बताएका छन् । शुक्रबार र शनिबार सदरमुकाम कुश्माको तापक्रम ३५ डिग्री मापन गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् । उनका अनुसार दुई सातायता धेरैका खेतबारीमा मकै सुक्न थालेका छन् । पानी अभावमा धान र कोदोको बीउ पनि सुक्न थालेको छ ।

मकै धेरै फल्ने कटुवाचौपारी, मुडिकुवा, चुवा, देवीस्थान, कुर्घा, खानीगाउँ, बर्राचौर, लस्ती, बेउलीबासलगायत फाँटमा बोट सुक्न थालेका छन् । कतिपय किसानले खेतमा सुक्न थालेका मकै गाईबस्तुलाई खुवाउन थालेका छन् । केहीले भने अझै पनि वर्षाको आस गरिरहेका छन् । ‘चार हलको बारीमा लगाएको मकै सुक्यो,’ फलेवास–४ का थानेश्वर भुसालले भने, ‘अझै एक साता पानी नपर्ने हो भने आस छैन ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोनका रूपमा विकास भएको फलेवास–६ खानीगाउँको झकलक फाँटमा पनि बोट सुकेर कामै नलाग्ने अवस्थामा पुगेको किसान ढाकाराम सुवेदीले बताए । बर्सेनि लाखौं मूल्य बराबरको उन्नत मकैको बीउ बिक्री गर्दै आएको खानीगाउँमा यस पटक प्रतिकूल मौसमकै निराशा छ । घरकै लागि बीउ जोगाउन मुस्किल हुने चिन्ता बढेको उनले बताए ।

लमजुङको क्ब्होलासोंथार–४ का उमबहादुर गुरुङले जेठ दोस्रो साता धानको बीउ राखेका थिए, खडेरीले उम्रिएन । उनले हाइब्रिड धान लगेर पुनः बीउ राख्ने तयारी गरेका छन् । उनीमात्रै होइन दोर्दी–४ का सागरबाबु श्रेष्ठले जेठ १७ मा धानको बीउ राखेकामा नउम्रिएको बताए । ‘माटो तातिएको छ । त्यहीमाथि पानी नै नभएपछि कसरी उम्रिनु ?,’ उनले भने, ‘अब धाराको पानी लगेर माटो भिजाउनुपर्ला । पानी तात्तिएर बीउ उम्रिन्छ कि उम्रिँदैन थाहा छैन ।’ क्ब्होलासोंथार–४ भुजुङका राकेश गुरुङले घिम्चे खेतमा रोपाइँ थालिए पनि बीउ सुकेर पहेंलो सुइरोजस्तो देखिएको बताए । ‘खोलाको पानी खेतसम्म आइपुग्दा पूरै तातिएको छ । रोपेको धान बच्छ या बच्दैन, थाहा छैन,’ उनले भने । कतिपय स्थानमा धानको बीउ उम्रिएकै छैन । घोगा हालेका मकै पनि सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले खडेरीले धानको बीउ सुकेको बताए । ‘धानको बीउ सुकेको देख्छु । किसानले धारा र खोलाबाट चिसो पानी ल्याएर खन्याउने गरेका छन् । साह्रै बिजोग छ,’ उनले भने, ‘वर्षा तत्काल आइदिएमा समस्या समाधान हुन्थ्यो ।’

नवीन पौडेल (नवलपुर), सम्झना रसाइली (तनहुँ), घनश्याम खड्का (म्याग्दी), अगन्धर तिवारी (पर्वत) र आश गुरुङ (लमजुङ)

प्रकाशित : जेष्ठ २८, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?