इन्टरनेटबाट हुने विज्ञापन करको दायरामा ल्याइने


काठमाडौँ — सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ । शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञापन क्षेत्रमा समानुपातिक प्रणाली लागू गरिने बताएका छन् ।


'इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन र अन्य कारोबारलाई नियमन र करको दायरामा ल्याइनेछ,' उनले भने ।
सरकारले पछिल्लो केही समययता सामाजिक सञ्जाललगायत इन्टरनेट प्लाटफर्मबाट हुने विज्ञापनलाई नियमन र करको दायरामा ल्याउने बताउँदै आएको छ । केही समयअघि अर्थ मन्त्रालयले यस विषयमा अध्ययनसमेत सुरु गरेको थियो ।
यस विषयमा पटक-पटक कुरा उठे पनि सरकारले के-कसरी अघि बढ्ने निर्क्योल गर्न सकेको छैन ।
प्रकाशित : जेष्ठ ५, २०८० १७:५१