२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

संसदीय समिति गठन र विधेयक टुंगोमा पुर्‍याउनेबारे तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ — संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका नेताहरूबीच संसदीय समिति गठन र विभिन्न विधेयक टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रभावकारी रूपमा संसद् सञ्चालनलगायतका विषयमा छलफल गरेका थिए । 

संसदीय समिति गठन र विधेयक टुंगोमा पुर्‍याउनेबारे तीन दलका शीर्ष नेताबीच छलफल

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय सुनुवाइ समिति गठनलगायत विषयमा छलफल भएको थियो । आइतबार बिहान करिब १० बजेदेखि सुरु भएको बैठकमा संसदीय सुनुवाइ समिति गठन, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ संशोधनलगायत विषयमा छलफल भएको लेखकको भनाइ थियो ।

बालुवाटार बैठकमा संसद्को चालु अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायत विषयमा छलफल भएको उनले बताए ।

‘निकै सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो’ पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ । सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ । संसदीय सुनुवाइ समिति पनि गठन भइसकेको छैन । यिनै विषयमा छलफल भयो । संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ ।’

जेठ ४ गतेसम्म संसदीय सुनुवाई समिति गठन गरिसक्ने समझदारी भएको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिए । त्यसपहिले संयुक्त समिति सञ्चालन नियमावली संशोधन गरिसक्ने समझदारी भएको पनि उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादीका मुख्य सचेतक पाण्डे सहभागी थिए ।

प्रकाशित : वैशाख ३१, २०८० १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?