कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७
नक्कली भुटानी शरणार्थी प्रकरण

सांसद रायमाझीलाई किन कारबाही गर्न चाहँदैन एमाले ?

बबिता शर्मा

काठमाडौँ — पार्टी सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभामा सदस्य रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले तत्कालका लागि 'पर्ख र हेर'को रणनीति अंगीकार गर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय पदाधिकारी नै जोडिए पनि एमालेले तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति देखाएको छैन ।

सांसद रायमाझीलाई किन कारबाही गर्न चाहँदैन एमाले ?

आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिइ उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।

‘जुन अनुसन्धानको प्रक्रियामा कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधि र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।

एक पदाधिकारीका अनुसार यो एमालेको पर्ख र हेरको रणनीति हो । ‘आरोप लाग्दाबित्तिकै पक्राउ पुर्जी जारी हुने र निर्वाचित सांसद निलम्बन हुने अवस्था देखियो । केही दिन पर्खदा उहाँ निलम्बन नहुने अवस्था पनि हुन सक्छ । अरु पार्टीका नेताहरुबारे सरकारको रवैया के हुन्छ त्यो पनि हेर्नुपर्छ,’ ती पदाधिकारीले भने, ‘पार्टीलाई धेरै क्षति हुने अवस्था आउदा आन्तरिक कारबाहीदेखि अरु उपाय त हुन्छन् नै । संसद्‍मा एक अंक पनि नघटोस् भन्ने चाहना त हुने नै भयो ।’

भविष्यको सम्भावित सत्ता समीकरणमा एक–एक सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले रायमाझी निलम्बनमा नपरून् भन्ने एमाले शीर्ष नेताको चाहना छ । पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी काठमाडौं आउँदै गर्दा बुटवलबाट फरार भएका छन् ।

ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रायमाझीको घरमा प्रहरीले मंगलबार छापा मारेको छ । सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारे पनि आरोपित रायमाझी भने भेटिएका छैनन । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

फरार हुनुपूर्व रायमाझीले पार्टीका को–को नेतासँग संवाद गरेका थिए भन्ने एमालेले केही बताएको छैन । यसबाहेक रायमाझीको पछिल्लो अवस्थाबारे पनि एमालेले केही स्पष्ट पारेको छैन । कांग्रेस र एमालेका नेताहरू जोडिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको निष्पक्षतामाथि पनि प्रश्न उठ्न थालेका छन् । पार्टीले सांसद रायमाझी आफैंले अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरे पनि दोस्रो तहका नेताहरू भने उनलाई कारबाही नै गर्नुपर्ने पक्षमा देखिएका छन् ।

यो प्रकरण सतहमा आएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचका भेटघाट अप्रत्याशित रूपमा बाक्लिएका छन् । तीन नेताबीच पनि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको थियो । यद्यपि भेटमा संसद्‍मा विचाराधीन विधेयक र संसदीय समितिका सभापतिहरूको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए ।

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गए भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

केही दिन अगाडि मात्रै हत्या अभियोग लागेका एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । कोइरीलाई वैशाख १९ मा निलम्बन गर्ने निर्णय संघीय संसद् सचिवालयले गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान गर्नुपर्ने भन्ने प्रहरी कार्यालयले पठाएको पत्रको आधारमा सभामुखले निलम्बन गरेका थिए । उनी महोत्तरी १ बाट निर्वाचित भएका थिए । हाल प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २६, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?