२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
उपनिर्वाचन

बारा–२ मा कसिलो प्रतिस्पर्धा 

गत मंसिरको चुनावमा हारेका कतिपय उम्मेदवार चुनावी क्षेत्र र दल बदलेर चुनावी मैदानमा उत्रेका छन् 
लक्ष्मी साह

बारा — उपचुनाव नजिकिँदै जाँदा बारा-२ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको छ । वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् । 

बारा–२ मा कसिलो प्रतिस्पर्धा 

यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । उनीहरुको सक्रियताले चुनावी महोल रोचक बन्दै गएको छ । १ लाख ५ हजार मतदाता रहेको यस क्षेत्रमा ६४ दशमलव ४४ प्रतिशत मत खसेकोमा अधिकांश यादव, त्यसपछि मुस्लिम, वैश्य, थारु र अन्य जाति छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनावी मैदानमा उत्रिएपछि उनलाई रोक्ने रणनीतिमा अन्य दलका उम्मेदवार झन् सक्रिय बन्दा चुनावी माहोल झन् गरमागरम बनेको छ ।

गत मंसिरको चुनावमा सप्तरीबाट चुनाव हारेका यादव र काठमाडौंबाट चुनाव हारेका रमेश खरेल चुनावी क्षेत्र र दल बदलेर चुनावी मैदानमा उत्रेका छन् । गत मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा चयन भएसँगै यो निर्वाचन क्षेत्र खाली भएपछि सोही पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

मोरङ, सुनसरी, सप्तरी हुँदै यसपालि बारा आइपुगेका जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, माओवादी, नेकपा एसलगायतको समर्थनमा चुनावी मैदानमा छन् । गत मंसिरमा उनी सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट हार बेहोरेका थिए । त्यसो त ३४ जना उम्मेदवार प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धा भने जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमतका शिवचन्द्र कुसवाहा भइरेहेको देखिन्छ। २९ जना पुरूष र ५ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । ३६ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएका थिए ।

यही क्षेत्रका स्थानीयबासी कुसवाहा गत मंसिरको चुनावमा माओवादीबाट उम्मेदवार भएर एमालेको समर्थनमा रहेका जसपाका रामसहायबाट ३ सय ५४ मतले हार बेहोरेका थिए । कुसवाहाले १३ हजार ४ सय ६८ मत ल्याई प्रतिद्वन्द्वी थिए भने रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका थिए । यसपाली कुसवाहा माओवादी त्यागेर जनमतबाट चुनाव उठेका छन् । माओवादीबाट २०६४ मा त्यसै क्षेत्रबाट जितेका कुसवाहालाई २०७० को चुनावमा टिकट नदिएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा हारेका थिए । आफू क्षेत्रवासी स्थानीय भएको र अरु उम्मेदवार बाहिरका भएकाले उनले जित्ने दाबी गर्दै आएका छन् ।

२०४८ बाटै चुनाव लड्दै र पटकपटक सांसद र मन्त्री बनेका जिल्लाबासी एमाले उम्मेदवार पौडेल पनि तीव्र प्रतिस्पर्धामा रहेका छन् । उनले अरु उम्मेदवारलाई जनताले हराएर अस्वीकार गरिसकेका आफू यो क्षेत्रका लागि नयाँ उम्मेदवारसँगै जिल्लाबासी भएकाले जित्ने दाबी गर्दै मत माग्न व्यस्त छन् ।

पुर्ख्यौली घर यसै निर्वाचन क्षेत्रमा रहेका अर्का आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली गत चुनावमा स्वतन्त्रबाट ७ हजार ६ सय ९८ मत ल्याएका थिए । यसैगरी सुशासन पार्टीका अध्यक्ष पूर्वडिआइजी काठमाडौं-१ मा गत चुनावमा पाँचौं स्थानमा रही ३ हजार १ सय मतमा सीमित रही कांग्रेसका प्रकाशमान सिंहबाट हारेका थिए । उनी अहिले आफ्नो पार्टीबाट नभइ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् ।

उपेन्द्रले आफ्ना पार्टीका तत्कालीन निर्वाचित सांसद रामसहायको तिनै मत, जातीय बाहुल्यता, पार्टीका २ प्रदेशसभा सदस्य, बागी उठेका रामकिशोर यादवसहित क्षेत्रका ५ पालिकामध्ये २ गाउँपालिका र अधिकांश वडाहरु आफ्नो पोल्टामा रहेकाले उनी जित्ने दाबी गर्दै आएका छन् ।

यो क्षेत्रमा ५ पालिकामध्ये जसपा नेतृत्वको पालिका प्रमुख, उपप्रमुख २, कांग्रेस २ र एमाले १ पालिकाको प्रमुख र उपप्रमुखमा छन् । निर्वाचन क्षेत्रमा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन् । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् । देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् ।

प्रकाशित : वैशाख ४, २०८० १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?