कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनोरञ्जन क्षेत्रमा निकृष्ट बालश्रम, यौन हिंसा र दुर्व्यवहारको जोखिम

काठमाडौँ — काठमाडौं उपत्यकामा यातायात र मनोरञ्जन क्षेत्रमा निकृष्ट प्रकारको बालश्रमको प्रयोग भइरहेको पाइएको छ । उनीहरू कानुनविपरीत श्रममा मात्रै छैनन्, कार्यस्थलमै यौन हिंसा र दुर्व्यवहार समेत खेपिरहेका छन् । सन् २०२० र २०२१ मा क्लारिसा नेपालले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वयस्क मनोरञ्जनका लागि निकृष्ट प्रकारका बालश्रम प्रयोगमा रहेको र उनीहरूमाथि कार्यस्थलमा यौन हिंसा, शोषण र दुर्व्यवहार भइरहेको देखाएको छ ।

श्रममा रहेका बालबालिका र किशोर किशोरीहरूले आफूहरूमाथि यौनजन्य हिंसा, शोषण र दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । अध्ययनकोक्रममा उपत्यकामा मानिसहरूको बढी आवात्जावत् हुने क्षेत्रहरू कलंकी, गोंगबु, ठमेल, सुन्धारा, कोटेश्वर, पेप्सीकोला र बालकुमारी क्षेत्रका खाजाघर, गेष्ट हाउस, मसाज सेण्टर, दोहोरी र डान्सबारमा काम गर्ने बालबालिका, गाडीमा सहचालककोरुपमा काम गर्ने बालकहरु र घरेलु मजदुर तथा सडकमा मागेर हिडिरहेका बालबालिकाहरूसँग कुराकानी गरिएको थियो ।

उनीहरू श्रममा आउनुका कारण, उनीहरूको विगत, दैनिकी र समस्याहरूका बारेमा समेत उनीहरूसँग सोधिएको थियो । त्यसक्रममा अधिकांशले आफूहरूमाथि यौन हिंसा, शोषण र दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । यस्तो श्रममा रहेका बालबालिका र किशोरकिशोरीहरू उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष छ ।

यस्तो श्रममा सामेल बालबालिकामध्ये अधिकांश गरिबी, बेरोजगारी र अशिक्षाका कारण श्रम गर्न बाध्य रहेको अध्ययनले देखाएको छ । उनीहरुले गरिबीसँगै आफ्ना अभिभावकको बेवास्ता, घरझगडा, परिवारमा हिंसा र कुटपिट, अभिभावकको मृत्यु, स्वास्थ्योपचारको समस्या र बसाइसराइँ लगायत कारणले यस्तो श्रममा आउन बाध्य रहेको बताएका छन् ।

क्लारिसा नेपालकी अनुसन्धानकर्ता रञ्जना शर्माले काठमाडौंको वयस्क मनोरञ्जन क्षेत्रमा निकृष्ट प्रकारको बालश्रम रहेको र उनीहरू कार्यस्थलमा यौन शोषण र दुर्व्यवहारबाट पीडित रहेको पाइएको बताइन् ।

‘परिवारको कमजोर आर्थिक अवस्था, अशिक्षा जस्ता कारणबाट बालबालिकाहरू काठमाडौं आउने, यहाँ आएपछि काम खोज्दै जाँदा मनोरञ्जन क्षेत्रमा पुग्ने र त्यहाँ हिंसा सहेर जोखिमयुक्त श्रम गर्न बाध्य रहेको अवस्था रहेको देखिएको छ,’ उनले भनिन्, ‘परिवारको आर्थिक अवस्थाबाहेक पारिवारिक विछोड र मदिरा सेवन, आमाबाबुको काखको अभाव जस्ता कारणबाट बालबालिका सडकमा पुगेको देखिएको छ ।’

अध्ययनले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकलाई गलत नजरले हेर्ने गरेको तथ्य समेत उजागर गरेको छ ।

‘मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोर किशोरीहरुले आफुले गर्ने काम समेत खुलाएर हिड्न नसकेको पाइयो । उनीहरुमध्ये धेरै लुकाएर बाध्यतामा रहेर त्यस्तो श्रममा आउन बाध्य छन्,’ अनुसन्धानकर्ता शर्माले भनिन् ।

उनीहरुमाथि ग्राहकहरुले मात्रै होइन, रोजगारदाता स्वयम्ले समेत दुर्व्यवहार र शोषण गर्ने गरेका छन् । उनीहरु काम खोजिदिने मध्यस्थकर्ता, साथी, नातेदार र छिमेकीबाट समेत यस्तो श्रममा पुग्ने गरेको देखिएको छ । तथ्यांकअनुसार नेपालमा ९८ लाख ६९ हजार बालबालिका छन् । तीमध्ये ३ प्रतिशत बालबालिका बाबुआमा दुवैको साथबाट अलग रहेका छन् ।

प्रकाशित : वैशाख २, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?